हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ३१ गते । लोमन्थाङ गाउँपालिका मा बुधबारदेखि सुरु भएको १५औँ शताब्दीको ऐतिहासिक तथा सांस्कृतिक ‘तिजी’ पर्व अवलोकन गर्न ३ सयभन्दा बढी विदेशी पर्यटक पुगेका छन् ।
लोमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिका का बासिन्दा विष्ट, लोवा र गुरुङ समुदायले लोमन्थाङ दरबार अगाडि मनाउने तिजी पर्व अवलोकनका लागि मङ्गलबार एकैदिन ३०७ जना विदेशी पर्यटक प्रवेश गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमन्थाङ का प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार तिजी पर्व विदेशी पर्यटकका लागि निकै आकर्षणको केन्द्र बनेको छ । प्राचीन कला र संस्कृतिको झल्को दिने भएकाले यस समयमा ठुलो संख्यामा पर्यटक आउने गरेका छन् । तिजी अवलोकन गर्ने पर्यटकहरू तीन दिनको पर्वपछि उपल्लो मुस्ताङका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्दै करिब एक सातासम्म बस्ने गरेका छन् ।
तिजी पर्वको मुख्य आकर्षण ढोल–नगरा बजाएर प्रस्तुत गरिने लामाहरूको नृत्य, पद्मसम्भव गुरु रिम्पोछेको तस्बिर अंकित ठुलो थाङ्का प्रदर्शनी तथा धार्मिक विधिअनुसार गरिने पूजाआजा हो ।
आशा र शान्तिको कामना गर्दै सुरु हुने यस पर्वको पहिलो दिन भूमिदेवी–देवताको पूजा गरिन्छ । दोस्रो दिन समाजमा दुःख दिने राक्षसको अन्त्यको प्रतीकात्मक नृत्य, लामा तथा भिक्षुहरूले धार्मिक पूजा गर्दै देवी–देवताका मुकुट पहिरिएर नृत्य प्रस्तुत गर्छन् । तेस्रो दिन राक्षसलाई धपाइएको अभिनयसहित विविध धार्मिक गतिविधि गरिन्छ ।
तिजी पर्वलाई बौद्ध धर्मका लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडेर हेर्ने गरिन्छ । पर्वको अवसरमा प्राकृतिक प्रकोप, रोगव्याधि, अनिकाल र महामारी नहोस् भन्ने कामनासहित लामाहरूले प्रार्थना गर्ने परम्परा रहेको छ ।
र्ध–निषेधित क्षेत्र उपल्लो मुस्ताङमा पहिले दुई वा बढी विदेशी पर्यटक समूहमा मात्र भ्रमण गर्नुपर्ने व्यवस्था थियो । अध्यागमन विभागले उक्त प्रावधान हटाएपछि अहिले एकल पदयात्रीसमेत देखिन थालेका छन् ।
त्यस्तै, १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर र त्यसपछि प्रतिदिन ५० अमेरिकी डलर शुल्क लाग्ने व्यवस्था स्थानीय तह तथा सरोकारवाला निकायको पहलपछि परिमार्जन गरिएको बताइएको छ ।
उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकहरू कोरला नाकाभन्दा पनि लोमन्थाङ दरबार, गुम्बा, गुफा, पुरानो माटोका बस्ती, मौलिक जीवनशैली र संस्कृतिमा बढी आकर्षित हुने गरेका छन् ।