घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), वैशाख ३१ गते । कैलालीको भजनी नगरपालिकामा रहेको कर्मेश्वर माध्यमिक विद्यालयमा शुल्क लिने विषयमा विवाद बढेपछि हाललाई शुल्क लिन बन्द गरिएको छ । विसं २०२४ मा भजनी नगरपालिका–५, कुटीमा स्थापना भएको विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुन्छ ।
जम्मा ३१ जना शिक्षक तथा कर्मचारी कार्यरत विद्यालयको वैशाख १८ गते अभिभाव भेलाबाट शुल्क लिने र नलिने विषयमा मिश्रित भनाइ आएपछि विद्यालय सञ्चालनका लागि स्वेच्छिक सहयोग शुल्क लिने निर्णय भएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्य सञ्जय सक्सेनाले सो निर्णयमा नोटअफ डिसेन्ट लेखेर निर्णयप्रति आपत्ति जनाउनुभएको थियो ।
बैठक सकेर जाने बेलामा प्रधानाध्यापक लीलाराम विश्वकर्माको हातबाट माइन्युट खोस्न कठालो समातेपछि सदस्य सक्सेनाविरुद्ध प्रअ विश्वकर्माले अभद्र व्यवहारको जाहेरी दिएपछि उहाँलाई प्रहरी प्रशासनले पक्राउ गरेको थियो । पक्राउपछि अभिभावक विद्यार्थीले चर्को आलोचना गर्दै शुल्क लिन नपाउने भन्दै आन्दोलित भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुम्भ कडायतले २१ गते पक्राउ परेका सदस्य सक्सेनालाई आठ दिनपछि मङ्गलबार तारेखमा छोडेको बताउनुभयो ।
निमाविसम्म दरबन्दी रहेको र प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ पढाइ हुने सो विद्यालयले शिक्षक तथा कर्मचारीको पारिश्रमिक समस्या समाधानका लागि सहयोग लिने निर्णय गरेको भए पनि विवाद बढेपछि लिन बन्द गरिएको अध्यक्ष कडायतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयको जग्गाबाट प्राप्त आम्दानी, नगरपालिकाले दिने सहयोगले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन पुग्दैन । शुल्क भनेर तोकेर लिनेभन्दा पनि सक्नेले सहयोग शुल्क दिने भन्ने भनाइ हो । तीन महिना निजी स्रोतका शिक्षकलाई तलब खुवाउन सकिएको छैन । अङ्ग्रेजी र विज्ञान पढाउने सर छोडेर जानुभएको छ ।”
सबैतिरबाट दबाब र विवाद सिर्जना भएपछि शुल्क नलिने निर्णयमा विद्यालय पुगेको छ । अध्यक्ष कडायतले समस्या बल्झाउने भन्दा पनि सुल्झाउने पक्षमा आफू लागेको बताउनुभयो ।
सोही विद्यालयको विवादको विषयलाई लिएर कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य जगतप्रसाद जोशीले प्रतिनिधि सभा सदस्यमा बोलेपछि सो विषयले झनै चर्चा पाएको छ भने शुल्क लिने विषयमा धेरैले विरोधसमेत जनाएका छन् ।