• २ असोज २०८२, बिहिबार

यातायात व्यवस्था कार्यालयको सेवा सुचारु

blog

क्षति भएको यातायात व्यवस्था कार्यालय सरसफाइ गर्दै कर्मचारी । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी 

धनगढी, असोज २ गते । युवा पुस्ता (जेनजी) आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको कैलालीको यातायात व्यवस्था कार्यालयले आजबाट केही सेवा सुचारु गरेको छ । 

आगजनीपछि हप्ता दिनसम्म सेवा दिन नसकेको सो कार्यालयले सरसफाइ र मर्मतपछि केही सेवा पुनः सुरु गरेको हो । सवारीसाधन नवीकरण, दर्ता, कर सङ्कलन तथा रुट परमिट, जाँचपासको काम सुरु भएको अधिकृत श्याम जोशीले जानकारी दिनुभयो । 

सवारीचालक अनुमतिपत्रको काम सुचारु गर्न भने अझै केही दिन लाग्ने जनाइएको छ । चालक अनुमतिपत्र सम्बन्धीको कुनै पनि काम सुचारु हुन नसकेको जोशीले बताउनुभयो । आगजनीबाट यातायात व्यवस्था कार्यालयमा करिब डेढ करोडको क्षति भएको जनाइएको छ । 

त्यस्तै, नापी कार्यालयको सेवा पनि आंशिक रुपमा सुचारु भएको छ । सो कार्यालयमा आगजनीका साथै कम्प्युटर लगायतका सामग्री तोडफोड गरिएको थियो । मालपोत कार्यालयको सेवा सुचारु भएपछि नापीले पूर्ण रुपमा सेवा दिने मालपोत अधिकृत जनकराज भट्टले बताउनुुभयोे । 

यसैबिच, मालपोत कार्यालयको सेवा सुचारु गर्न भने अझै एक हप्तासम्म समय लाग्न सक्ने जनाइएको छ । आगजनी र तोडफोड भएको कार्यालयमा मर्मतको काम चलिरहेको मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले जानकारी दिनुभयो ।