• ३ असोज २०८२, शुक्रबार

तेह्र वर्षसम्म पनि बनेन पुल

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), असोज ३ गते । बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्ने गाउँघरतिर एउटा लोकप्रिय उक्ति छ तर गुल्मीमा बाह्र होइन, तेह्र वर्ष नाघ्दासमेत एउटा पुल बन्न सकेको छैन । तीन वर्षमा बन्नुपर्ने पुल तेह्र वर्षमा पनि अझै बन्न नसक्दा यहाँका बासिन्दा निकै पीडित भइरहेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को पुल क्याम्प र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डी भन्ज्याङ जोड्ने गरी कालीगण्डकी नदीमा तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्ष बित्दासमेत अझै बन्न सकेको छैन ।

२०६९ साल असार २५ गते सडक डिभिजन कार्यालय पाल्पा र स्वच्छन्द निर्माण सेवा प्रालि काठमाडौँबिच २० करोड ५३ लाख ८६ हजार ५५३ रुपियाँको लागतमा २०७२ साल असार २४ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त पुल छ मिटर चौडाइ र १५० मिटर लम्बाइको रहने र स्टिल ट्रसको निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले उक्त स्थानमा बन्ने पुलको फाउन्डेसनमा ठुलो चट्टान भएकाले निर्माणमा समय लागेको बताउनुभयो । पछि डिजाइनलाई परिवर्तन गरेर निर्माण थाल्दा अहिले उक्त पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ भने ४६.७० प्रतिशत वित्तीय प्रगति भएको छ । विभिन्न समयमा पाँच पटकसम्म म्याद थप गरिएको र पछिल्लो समय थपिएको म्याद २०८३ जेठ २५ गते 

सम्म सम्पन्न्न गर्नुपर्ने छ । निर्माण व्यवसायीका इन्जिनियर अजय लामिछानेले २०७२ सालमै डिजाइन परिवर्तन गर्नका लागि कार्यालयलाई आग्रह गर्दा पनि कार्यालयले ढिला गरिदिएका कारण समस्या भएको बताउनुभयो । उहाँले २०७२ सालमा आग्रह गरेको भए पनि २०८० सालमा डिजाइन परिवर्तन भएर आएको बताउनुभयो । उहाँले अहिले ट्रस निर्माणको काम भइरहेकाले तोकिएको समय अवधिमै काम सम्पन्न गरी हस्तान्तरण गर्ने बताउनुभयो ।