• ३ असोज २०८२, शुक्रबार

जेनजी आन्दोलनको प्रभाव

पर्यटकीय मौसममा होटेल सुनसान

blog

सन्तोष सुवेदी

कास्की, असोज ३ गते । पर्यटन व्यवसायीका लागि यो मौसम पर्यटकीय गतिविधिले उभार पाउने मौसम हो । मनसुन सकिएको र चाडबाड सुरु भएसँगै आन्तरिक र बाह्य पर्यटक घुम्न निस्कन्छन् । अघिल्ला वर्षमा यो अवधिमा पोखराका होटेल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिन थाल्थे तर यो पटक भने  पोखरा सुनसान जस्तै बनेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनले गर्दा पाहुनाको आगमन खस्किएको हो । 

होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय मौसमका बेला यस्तो अवस्था बेहोर्न पर्दा निकै पीडाबोध भइरहेको बताउनुभयो । उहाँले ९८ प्रतिशत होटेल भरिभराउ  हुने यो बेलामा १० प्रतिशतमा खुम्चिनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको आन्दोलन देखेर यहाँ आइसकेका पर्यटक पनि घर फिर्ता भए । भारतीय पर्यटक केही मात्रामा छन् । नयाँ पर्यटक आएका छैनन् ।” मौसम खुल्ने समय भएकाले यो बेला अन्नपूर्ण पदयात्राका लागि उत्कृष्ट समय भए पनि पोखरा सहर सुनसान रहेको उहाँको भनाइ छ ।  उहाँले भन्नुभयो, “जेनजीको आन्दोलनपछि २५ प्रतिशत बुकिङ क्यान्सिल भएको छ । अब के आशा गर्ने यहाँका होटेल व्यवसायीले ?  

पोखरा क्षेत्रमा एकै रातमा ४० हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने गरी पर्यटकीयस्तरका एक हजार दुई सयभन्दा बढी होटेल रहेको सङ्घले जनाएको छ । पोखरामा न्यूनतम एक हजारदेखि एक लाखसम्मका स्विट रुम उपलब्ध रहेको सुवेदीले बताउनुभयो । 

सुवेदीका अनुसार पोखरामा ४२५ वटा होटेल सङ्घमा दर्ता भएका छन् । पोखरा र आसपासमा गरी एक हजार दुई सय होटेल छन् । पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले जेनजी आन्दोलनको प्रभाव पर्यटन क्षेत्रमा परेको हुँदा अझै केही महिना पर्यटन आगमन खस्किने अनुमान गर्नुभयो । आन्दोलनको प्रभावपछि पाहुनाहरू स्वदेश फर्किनका लागि हतारिएर पर्यटन बोर्डकै संयोजनमा पोखराबाट दुई दिनको अवधिमा झन्डै पाँच सय जना विदेशी पाहुनालाई गाडी चढाएर काठमाडौँ पठाएको लामिछानेले जानकारी दिनुभयो ।

पर्यटक भित्रिने मुख्य मौसममा नेपालमा आन्दोलन हुँदा त्यसले अबका केही महिना पर्यटन क्षेत्रमा चुनौती भने थपिदिएको लामिछानेले बताउनुभयो । पर्यटकले गरेको बुकिङ एकाएक रद्द हुँदा पर्यटन क्षेत्र चिन्तित बनेको उहाँले बताउनुभयो । बोर्डका अनुसार पर्यटक आगमन सेप्टेम्बर ९ देखि १४ को अवधिमा जम्मा आठ हजार १८७ जना विदेशी पर्यटक भित्रिएका थिए । आन्दोलनपछि विदेशी पाहुनाको आगमन एकाएक खस्केर दैनिक औसत एक हजार ३६५ जनामा ओर्लेको छ ।