काठमाडौँ, असोज २ गते । ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएका ठुला दलका पार्टी कार्यालयमा सरसफाइ कार्यक्रम जारी छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सर्वप्रथम इन्जिनियरको टोलीले पार्टी कार्यालयको भवन अनुगमन गर्नेछ ।
तत्पश्चात् कार्यालय सरसफाइ एवम् व्यवस्थापनको कार्य थप तीव्ररुपमा अघि बढ्ने उहाँको भनाइ छ ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा विभिन्न राजनीतिक दलका कार्यालय, नेताहरुको निजी निवास लगायत देशका प्रमुख प्रशासकीय स्थल जलाइएका थिए ।
नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले असोज ३ गते संविधान दिवसको तयारीमा आफूहरु लागेको बताउनुभयो । यससँगै वर्तमान अन्तरिम सरकारले फागुन २१ गते तोकेको निर्वाचनका लागि तयारी अगाडि बढेको उहाँको भनाइ छ ।
एमालको च्यासलस्थित केन्द्रीय कार्यालयमा भदौ ३० गते हालसम्मकै ठुलो पार्टी झण्डा राखिएको थियो ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भ्रष्टाचारविरुद्ध नाराबाजी हुने, बन्द गरिएका सामाजिक प्लेटफर्म खुलाउने लगायतका विषयमा समर्थन रहेपनि ‘जेनजी’ प्रदर्शनका नाममा गणतन्त्रका प्रतिकमाथि प्रहार भएको बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताले पेरिसडाँडास्थित पार्टी कार्यालय अनुगमन गर्नुभएको छ ।