• १० माघ २०८१, बिहिबार

खानेपानीका लागि ३७ अर्ब ३५ करोड

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, जेठ १६ गते । सरकारले खानेपानी क्षेत्रका लागि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ । त्यस्तै, आगामी वर्ष चक्रपथ बाहिरसमेत मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि वितरण गरिने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ९२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटमा खानेपानी आयोजनाको विकास र विस्तारलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत याङ्ग्री र लार्के खोलाको पानी काठमाडौँ ल्याउने पनि योजना प्रस्तुत गर्नुभयो । 

बजेटमा मकवानपुर र काठमाडौँको सिमानामा रहेको सिस्नेरी तथा दक्षिणी ललितपुरमा रहेको ठोस्ने खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्नेबारे अध्ययन गर्ने उल्लेख छ । सरकारले काठमाडौँ उपत्यकामा बढ्दै गएको खानेपानीको मागलाई पूरा गर्न वरपरका जलस्रोत तथा उपत्यकाभित्र खानेपानीका वैकल्पिक स्रोतलाई समेत उपयोग गर्ने घोषणा गरेको छ ।

पानीका स्रोतहरुको संरक्षण गरी सहज उपलब्धताका लागि पानी सङ्कलन गर्ने पोखरी निर्माण तथा त्यस्ता जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्ने लक्ष्य सरकारले दिएको छ । अर्थमन्त्रीले एक हजार घरधुरीका लागि खानेपानी आयोजना तथा पाँच करोडसम्मका सिँचाइ आयोजना स्थानीय तथा प्रदेश मार्फत सञ्चालन गर्ने घोषणा गर्नुभयो । 

सरकारले बजेटमार्फत मेलम्ची खानेपानी आयोजना निर्माणका लागि स्थापना भएको मेलम्ची खानेपानी विकास समिति तथा ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति खारेज गर्ने घोषणा पनि गरेको छ । त्यसको जिम्मेवारी खानेपानी तथा ढल निकास विभागलाई तोकिएको छ ।