• १३ साउन २०८१, आइतबार

पानीको धारा झरेपछि गाउँमा खुसियाली

blog

सोलार प्रविधिबाट सिगास–३ को लगन–ठूलीसैनीमा पु¥याइएको लिफ्ट खानेपानी । तस्बिर : गोकर्ण दयाल

बैतडी, जेठ १६ गते । बैतडीको सिगास गाउँपालिका–३ मा  विवाह गरेर छोरी दिन प्रायः अभिभावक हच्किन्थे । यसको एउटै कारण थियो, खानेपानीको समस्या । करिब दुई सय घरधुरी बासिन्दाले पानीका लागि दुई घण्टा पैदल हिँडेर डडेल्धुराको नवदुर्गा गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो । 

अहिले परिस्थिति फेरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लिफ्ट खानेपानी पु-याइदिएपछि गाउँमा खुसियाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले तीन करोड ८० लाख रुपियाँको लिफ्ट खानेपानी योजना बनाइदिएको छ । स्थानीय उपभोक्ता सुन्दरसिंह धामीले भन्नुभयो, “खानेपानीको समस्या थाहा पाएकाले गाउँमा छोरीसमेत दिन मान्दैनथे । अब बुहारी भित्र्याउन सहज भएको छ ।” 

बैतडीको सुर्नया गाउँपालिका–६, धुलीधारवासीको पनि समस्या उस्तै थियो । दैनिक एक घण्टा ओरालो झरेर खानेपानी बोक्नुपर्ने बाध्यता थियो । अब त्यो समस्यासमेत समाधान भएको छ । सुर्नयाका स्थानीय नवराज अवस्थीले भन्नुभयो, “बस्तीमा खानेपानी पुग्दा सूर्य पश्चिमबाट उदाएको जस्तो अनुभूति भएको छ ।” उहाँले भन्नुभयो, “प्रदेश सरकारले एक करोड ४० लाख रुपियाँ बजेट दिएपछि बुबा बाजेको पालादेखिको पानीको दुःख तेस्रो पुस्तामा आइपुग्दा बल्ल हटेको छ ।” 

समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको बैतडीको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको अग्लो डाँडामा डिप बोरिङबाट पानी निकालिएपछि ५० हजार नर्सरीमा सिँचाइ पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकार कृषि मन्त्रालयकोे ३२ लाख ५० हजार रुपियाँमा डिप बोरिङबाट ५० एमएम  पाइपबाट प्रतिसेकेन्ड दुई लिटर पानी बग्न थालेको छ । 

बाह्रै महिना सुक्खा रहने बैतडीको सतबाँझ सुक्खा फलफूल विकास केन्द्र स्थापानाको ५९ वर्षपछि सुक्खा डाँडोमा सिँचाइ पुगेको कार्यालय प्रमुख डम्बर भाटले बताउनुभयो । दशरथचन्द नगरपालिका–१, गुरुखोलामाथि सतबाँझमा २०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छ हजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको थियो ।

कुनै बेला  लटरम्म स्याउ फल्ने बैतडीको सतबाँझमा पछिल्लो समय स्याउ फल्न छोडेपछि त्यहाँ हिँउदे फलफूलको नर्सरी उत्पादन भइरहेको छ । नर्सरीमा ओखर, कागजी बदाम, जैतुन, कागती, नास्पातीलगायतको फलफूलको नर्सरी रहेको प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।

सुक्खा डाँडोमा कलकल पानी बग्न थालेपछि नर्सरीमा हुर्किरहेका ५० हजार बोटबिरुवाले पानी पाउने केन्द्रले जानकारी दिएको छ । नर्सरी हुर्काउन पानी किन्नु पर्ने र आकाशे पानीको भर पर्नु अवस्थाको अन्त्य भएपछि फलफूल विकास केन्द्रका कर्मचारी खुसी भएको कृषि प्राविधिक खड्काले बताउनुभयो ।  

बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिकाको काँडा बजारमा सुदूरपश्चिम प्रदेश सरकारकै छ करोड ५० लाखको लागतमा सुर्नया नदीबाट लिफ्ट खानेपानी योजना निर्माण सुरु भएको छ । 

मेलौली बजारमा प्रदेश सरकारको पहलमा सुर्नया नदीबाट लिफ्ट खानेपानी योजना निर्माण हुन थालेपछि स्थानीयवासीमा खुसियाली छाएको स्थानीय विजय नायकले बताउनुभयो । नजिक रहेका खोला र कुवाको पानी सुकेपछि बैतडीको मेलौली बजार काकाकुल बनेको विषयमा प्रदेश सरकारले चासो देखाएर लिफ्ट खानेपानी योजना बनेको नायकले बताउनुभयो । 

बैतडी र दार्चुला गरेर यो वर्ष सुदूरपश्चिम प्रदेश सरकारको करिब १२ करोड बजेटबाट सातवटा लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीले बताउनुभयो । 

कार्यालय प्रमुख बोगटीका अनुसार बैतडीको सिगास गाउँपालिका लगन–ठूलीसैनी, सुर्नयाको धुलीधार, मेलैली नगरपालिकाको मेलौली बजार, दार्चुलाको शैल्यशिखर, पनेबाँझ र रातापानी गरेर करिब एक हजारभन्दा बढी घरधुरीलाई लिफ्ट प्रविधिबाट पानी उपलब्ध भएको छ ।  

सुदूरपश्चिम प्रदेश मातहतको बैतडी र दार्चुला जिल्लाको खानेपानी हेर्दै आइरहेको डिभिजन खानेपानी कार्यालयका अनुसार पानीका कारण बुहारी नपाउने गाउँमा पानी पुगेपछि भएको परिवर्तन हेर्न  मन्त्रालयबाट सचिव स्तरको टोली आउने तयारी भइरहेको छ । 

बिजुली बत्ती नपुगेको ठाउँमा समेत सौर्य ऊर्जाबाट लिफ्ट खानेपानी योजना निर्माण गरेर पहाडी भूभागको जनजीवनलाई पानी उपलब्ध गराएको खानेपानी कार्यालयको भनाइ छ । जलवायु परिवर्तन र जथाभावी डोजरले सडक खन्दा बैतडी र दार्चुलाका अधिकांश स्थानीय तहमा भएका खानोपानी मुहान पुरिएपछि लिफ्ट खानेपानी योजनाको माग बढ्न थालेको खानेपानी कार्यालयले जानकारी दिएको छ । 

स्थानीय तहले विकास निर्माण गर्दा पानीका स्रोत नसुक्ने गरेर सडक विस्तार गर्नुपर्ने खानेपानी कार्यालयले सुझाव दिँदै आइरहेको छ । पहाडका सुक्खा डाँडाको पानीको स्रोत बचाउन स्थानीय तहको सरकारले रिचार्ज पोखरी निर्माण गरेर दिगो विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।  

Author

गोकर्ण दयाल