• २ असार २०८१, आइतबार

हराइरहेको विमानको खोज उद्धार जारी छ : मन्त्री आले

blog

काठमाडौं, जेठ १५ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराउनुभएको छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उहाँले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराउनुभयो।

यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताउनुभयो। 

अहिले मौसम प्रतिकूल रहेकाले भोलि बिहान ६ बजेअगाडि नै खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने जानकारी दिनुभयो। 

नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरु अहिले सम्भावित स्थानमा स्थलमार्गमार्फत खोज तथा उद्धारमा खटिएको पनि मन्त्री आलेले जानकारी गराउनुभयो।