• ८ जेठ २०८१, मङ्गलबार

लिबाङको हाँडीखोलामा मोटरेवल पुल बन्ने

blog

हाँडीखोलामा मोटरेवल पुल निर्माण गर्न सर्वे गरिँदै । तस्बिर सौजन्य : घनेन्द्र थापा ।

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १५ गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ३ लिबाङस्थित हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएको छ । जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै मिक्वाखोला गाउँपालिका केन्द्र साँबा थलङ जोड्ने सडकअन्तर्गत पर्ने हाँडीखोलामा मोटरेवल पुल निर्माण गरिने भएको हो ।

हाँडीखोलामा मोटरेवल पुल निर्माण हुने भएसँगै सो पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारका लागि आइतबारदेखि सर्वे गर्न सुरु गरिएको छ । सडक डिभिजन कार्यालय इलाममार्फत अमित कन्सलटेन्टले मोटरेवल पुलको डीपीआर तयारका लागि सर्वेको कार्य थालेको हो ।

मिक्वाखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भक्तबहादुर कार्कीको पहलमा हाँडीखोला मोटरेवल पुलको डीपीआरको कार्य थालिएको हो । कन्सलटेन्टका इन्जिनियर सुवास देव नेतृत्वको टोलीले सर्वेको कार्य सुरु गरेको छ भने उक्त पुलको लम्बाई २० देखि २५ मिटरसम्मको हुने बताइएको छ । सडक निर्माण भए पनि पुल नहुँदा सदरमुकाम र गाउँपालिका केन्द्र सीधा यातायात सञ्चालनमा आउन नसकेको अवस्थालाई मोटरेवल पुल निर्माणको प्रक्रियालाई अघि बढाएको पालिका अध्यक्ष कार्कीको भनाइ छ ।

सदरमुकाम फुङ्लिङको माछापोखरी, हिरेवा दोभान हुँदै खोक्लिङ–फुङफङ्गे झराना–पापुङ सडकअन्तर्गत तमोर नदीमा भने मोटरेवल पुल गतवर्ष नै निर्माण सम्पन्न भएको छ । अब हाँडीखोलामा मात्र मोटरेवल पुल निर्माण भएमा यातायात सुविधाका लागि सहज हुने गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष डण्डु लामा शेर्पाले बताउनुभयो ।

उपाध्यक्ष शेर्पाका अनुसार हाँडीखोलामा पुल निर्माण भएपछि मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङ्गे झरना, तोक्पेगोला सोदुपोखरीसहित यस क्षेत्रमा रहेको पर्यटकीय गन्तव्यको भ्रमणमा जाने पर्यटकलई समेत सुविधा पुग्ने छ । सडकको ट्रयाक निर्माण भएको भए पनि हाँडीखोलामा पुल नहुँदा गाउँपालिका केन्द्र साँबा थलङ र फुङफुङ्गे झरनासहित पर्यटकीय गन्तब्यको भ्रमण जाने पर्यटक साथै अन्य यात्रुले मेरिङ्देन गाउँपालिकाको दोभान, सान्थाक्रा, थुकिमा हुँदै आउजाउ गर्ने गरिएको छ ।