कपिलवस्तु समाचारदाता
कपिलवस्तु, फागुन ६ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले ल्याएको अध्यादेश पारित हुने बताउनुभएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८, बोडगाउँमा मालपोत र नापी सेवा कार्यालय स्थापना गर्दै उहाँले सरकारले विधेयक पास गरेर सुकुमवासी र भूमिहीनको समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले दशकौँदेखि रहेका भूमिसम्बन्धी समस्या सधैँका लागि अन्त्य हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “गौचरन, वन, मिनाहा डिही, बाल बिटौरी जग्गामा लामो समयदेखि बस्ती बसेको छ । त्यहाँ घर र अन्य संरचना बनेका छन् । घर फाल्न सक्ने अवस्था छैन, त्यस्ता स्थानमा राजस्व लिएर जग्गा दिने छौँ ।” दलित र भूमिहीन सुकुमवासीलाई सरकारले निःशुल्क जग्गा उपलब्ध गराउने तयारी गरेको उहाँले स्पष्ट पार्नुभयो ।
समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कार्यालय सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई जग्गासम्बन्धी काम सहज हुने, अनावश्यक झन्झट कम हुने बताउनुभयो । जनतासँग प्रत्यक्ष सरोकार रहेका कार्यालय जनतालाई सहज हुने गरी स्थापना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बर्सौंदेखि पाएको सास्ती अन्त्य हुने वाणगङ्गा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कपिलवस्तु सूचना केन्द्रको भवनमा मालपोत तथा नापी कार्यालय स्थापना गरिएको छ ।