• १९ चैत २०८१, मङ्गलबार

हेमोफिलियाको औषधी निःशुल्क उपलब्ध गराउने सम्झौता

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन सम्झौता ।

काठमाडौँ, फागुन ५ गते । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच सम्झौता भएको छ । औषधी व्यवस्था विभागमा महासङ्घ र स्वास्थ्य मन्त्रालयबिच यससम्बन्धी सम्झौता भएको हो ।

यसअघि रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवालामार्फत सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।

अब महासङ्घबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधी अब स्वास्थ्य मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट उपलब्ध गराउनेछ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले राज्यकोषमा भार नपर्ने गरी विश्व हिमोफिलिया महासङ्घबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरेको उल्लेख गर्नभएको थियो ।

नेपालमा हाल करिब नौ सय यो रोगका बिरामी पहिचान भएका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ ।

सङ्घीय अस्पतालहरु सिभिल, वीर तथा कान्तिसँगै देशैभरका प्रादेशिक गरी १२ अस्पतालमार्फत औषधी उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । यसका लागि ती अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने मन्त्रालयको तयारी छ ।