पोखरा समाचारदाता
पोखरा, असार ११ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्यतथ्य नबुझी मिथ्या र भ्रामक समाचार नलेख्न पत्रकारलाई आग्रह गर्नुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पोखरामा मङ्गलबार आयोजना गरेको ‘प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक’ विषयक अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले पत्रकारिताका क्षेत्रमा प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता भएको उल्लेख गर्नुभयो । स्वतन्त्रतालाई छाडातन्त्रका रूपमा लिन नहुने भन्दै मुख्यमन्त्री पाण्डेले पत्रकारिता नागरिकलाई सुसूचित गराउनका लागि समेत भएकाले सञ्चारको आचारसंहितामा रही तथ्यपरक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पत्रकारिता सबैका लागि भएकाले त्यसको मर्यादा र आचारसंहितामा रही पत्रकारले सञ्चारका सामग्री पस्कनु पर्छ । कुनै पनि पत्रकारले मनको तृष्णा पोख्न र विरोधीलाई खुइल्याउने प्रतिशोधको भावनाले समाचार सम्प्रेषण गर्दा पत्रकारितामाथि नै प्रश्न उठ्छ ।” मुख्यमन्त्री पाण्डेले सूचनाको हक लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड भएको बताउँदै नागरिकलाई राज्यको कामकाजबारे सही जानकारी दिनु सरकारको दायित्व रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारिताले सूचना दिनुका साथै समाजमा उत्तरदायित्व, पारदर्शिता, सुशासन स्थापना गर्न महìवपूर्ण भूमिका खेल्ने बताउनुभयो । जिम्मेवार र मर्यादित पत्रकारिताले पत्रकारको पेसागत मर्यादालाई अझ मजबुत बनाउने भन्दै उहाँले मिथ्या समाचारले संविधान र व्यवस्था विरोधी जमातलाई थप टेवा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचनाको हक र पत्रकारिता पत्रकारका लागि नभई आमनागरिकका लागि भएको बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । त्यस्तै अग्रज पत्रकार प्रेस स्वतन्त्र सेनानी नारायण कार्कीले सूचनाको हकको प्रयोगले सुशासन र पारदर्शिता हुने भएकाले यसलाई सही औजारका रूपमा लिनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले प्रदेशमा गठन भएको प्रेस रजिस्ट्रार कार्यालयले पत्रकारिताको व्यावसायिक प्रवर्धनका साथै नियमनमा पनि लाग्ने बताउनुभयो ।
नागरिक समाजका अगुवा आनन्दराज मुल्मीले खुला सरकारको अवधारणालाई सूचनाको हकले सघाउ पुग्ने बताउनुभयो । उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष शालिकराम भट्टराईले सूचनाको हक नदिने र दिएको सूचनालाई सही प्रयोग नगर्ने दुवै कार्य दण्डनीय अपराध भएकाले सही रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमिद बागचनले कार्यक्रमको अध्यक्षता गर्नुहुँदै नागरिकले सूचना प्राप्त गर्ने नैसर्गिक अधिकारलाई संस्थाले वकालत गर्दै अगाडि बढाएको बताउनुभयो ।