• ११ असार २०८२, बुधबार

प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन अभियान

blog

छलफलमा सहभागीहरु ।

ज्ञानु पंगेनी 

मध्यबिन्दु, असार ११ गते । प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन नवलपुरको देवचुली नगरपालिका र यहाँ रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहर देशका ७५३ वटै स्थानीय तहमा पुग्ने भएको छ ।

यस अभियानमा देवुचली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने आफैँ प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउन खट्ने बताउनुभएको छ । ‘‘सबैका लागि प्राकृतिक चिकित्सा’’ भन्ने अभियान नै सुरु गरी देशका ७५३ वटै स्थानीय तहमा पुग्ने योजना छ । अभियानको सुरुआत गण्डकी प्रदेशबाट गरिँदैछ । 

प्रदेशको ११ जिल्लाका ८५ स्थानीय तहमा पुगेर प्राकृतिक चिकित्सा पद्धतिको महत्वबारे पालिकामा रहेका जनप्रतिनिधिलाई नै बुझाउने र यस पद्धति अवलम्बन गर्न प्रेरित गर्ने योजना रहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभएको छ । 

सबै ठाउँमा पुग्न चिकित्सालयसँग स्रोत साधनको अभाव रहेको हुँदा यस अभियानमा देवचुली नगरपालिकाले साथ सहयोग गर्ने व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । पालिकासँगको सहकार्यमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको टोली समय अनुकूल मिलाएर सबै पालिकामा पुग्ने र प्राकृतिक चिकित्सा पद्धतिको महत्व बुझाउने काम गर्ने उहाँको भनाइ छ । यस अभियान गण्डकी प्रदेशबाट सुरु गरिने उहाँले बताउनुभयो । 

चितवन पाल्पा, काठमाडौँका ठुला अस्पतालमा उपचार गराएर समेत निको नभएको रोगको निदान प्राकृतिक चिकित्सा पद्धतिबाट सफल भएपछि यस पद्धतिको महत्व बुझाउन आफैँ नै खटिन लागेको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । 

चिकित्सालयमा पत्रकारसँग आफ्नो अनुभव सुनाउँदै नगर  प्रमुख न्यौपानेले भन्नुभयो, ‘चिकित्सालय भएकै वडासँग जोडिएको मेरो घर तर, म त बत्तीमुनिको अँध्यारो भनेझैँ  भएको रहेछु । प्राकृतिक चिकित्सालयको उपचार पद्धतिलाई मैलै नै विश्वास नगरी देशका ठुला अस्पताल धाएँ, बिएन्डबि हस्पिटलमा देखाउँदा गाेडाको हड्डी खिइएको र गेडी फेर्नुपर्छ भन्यो ।’ 

औषधी खानुभन्दा एक पटक चिकित्सालयको उपचार लिन्छु भन्ने सोचले यहाँ आएको उहाँले बताउनुभयो । प्राकृतिक उपचार पद्धतिबाट रोगको उपचार गर्दा खर्च धेरै नलाग्ने उहाँको भनाइ छ । अन्य कुनै साइडइफेक्ट पनि नहुने हुँदा यसको महत्व आम जनमानसमा बुझाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

प्राकृतिक चिकित्सा उपचार पद्धतिको प्रचार–प्रसारका लागि समय अनुकूल मिलाएर आफू सबै पालिकामा पुगेर आफ्नो अनुभव सुनाउने र त्यहाँका जनप्रतिनिधिलाई यस पद्धतिप्रति प्रेरित गर्ने काममा आफू लाग्ने न्यौपानेले जानकारी दिनुभयो ।