काठमाडौँ, साउन १७ गते। सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले साहित्य, स्वास्थ्य, समाजसेवालगायत विभिन्न क्षेत्रमा योगदान दिनुभएका व्यक्तित्वलाई सम्मान, पुरस्कार प्रदान गरेको छ। केन्द्रद्वारा राजधानीमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी स्वास्थ्य सम्मान डा. भगवान कोइराला, सिद्धिश्वरमान शताब्दी साहित्य सम्मानबाट राम विनयलाई सम्मान गर्नुभएको हो। उहाँले प्रगतिशील साहित्यकार सिद्धिश्वरमानले नेपाली साहित्य क्षेत्र र सामाजिक क्षेत्रको रुपान्तरणका लागि विशेष योगदान दिनुभएको चर्चा गर्नुभयो।
त्यसैगरी रेवती राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ, स्व विनय कसजु, लक्ष्मी माली, स्नेह माली, डा. ह्रदयमान बज्राचार्य, प्रविण जोशी, सङ्गीतकार राजु सिंह, प्रा. उपेन्द्रबहादुर कार्की, हिरण्यकुमारी पाठकलाई सम्मान गरिएको हो।
साहित्यिक संस्था साहित्यिक पत्रकार सङ्घ, भीम सङ्गीत साहित्य कला प्रतिष्ठानलाई सम्मान गरिएको थियो। सो अवसरमा भानुचन्द्र बज्राचार्य, बेल्जीयमका नागरिक रोजरलाई जनही २० हजार रुपियाँसहित पुरस्कृत गरिएको थियो।
साहित्यकार लालबहादुर भूजेल, उद्यमी निष्ठा कायस्थलाई जनही ११,१११ रुपियाँसहित पुरस्कृत गरियो। कार्यक्रममा निकिता प्रधान, सविता महर्जनलगायतलाई सम्मानपत्र प्रदान गरियो।
सो अवसरमा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्वारा प्रकाशित अक्षलोक साहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ।