काठमाडौँ, जेठ १ गते । लामो समयको विवाद, सामाजिक बहस र कानुनी लडाइँपछि प्रदर्शनमा आएको चलचित्र ‘लालीबजार’ ले नेपाली समाजको एउटा यस्तो पाटोलाई उजागर गर्छ, जसलाई अक्सर समाजले हेर्न र बुझ्न चाहँदैन । निर्देशक यम थापाले बादी समुदायका महिलालाई लिएर बुनिएको भ्रम र सत्यतालाई पर्दामा कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । चलचित्र प्रदर्शनपूर्व यसले बादी समुदायको मानमर्दन गर्छ कि भन्ने चिन्ता र विरोध सुनिएको थियो तर चलचित्र हेरिसकेपछि त्यो विवादको कुनै तुक देखिँदैन । निर्देशक थापाले बादी महिलाको कथालाई अपमानजनक ढङ्गले होइन, अत्यन्तै संवेदनशील र सन्देशमूलक रूपमा पस्कनुभएको छ । चलचित्रले बादी समुदायलाई चोट पु¥याउनुको साटो उनीहरूको रहनसहन, बाध्यता र समाजको दोहोरो चरित्रलाई नजिकबाट नियाल्न सघाउँछ ।
चलचित्रको केन्द्रविन्दुमा हुनुहुन्छ मधुवाला (स्वस्तिमा खड्का), जसको काँधमा बिरामी आमा र बेरोजगार भाइको जिम्मेवारी छ । अभाव र गरिबीको चक्रमा फसेकी मधुले परिवारको जीवन धान्नकै लागि आफ्नो शरीर बेच्ने कठिन निर्णय लिनुहुन्छ । जुन उहाँको रहर होइन, एउटा क्रुर सामाजिक र आर्थिक बाध्यता थियो । हुलाकीको काम गर्ने ब्राह्मण युवक नारायण पन्थी (विशाल देवकोटा) को प्रवेशपछि कथाले नयाँ मोड लिन्छ । चिठीका शब्दमार्फत सुरु भएको उनीहरूको प्रेम विवाहमा परिणत हुन्छ तर रुढीवादी समाज र जातीय अहङ्कारका कारण नारायणले मधुलाई खुलेआम स्वीकार गर्न सक्नुहुन्न । अन्ततः मधु गर्भवती अवस्थामा पुनः आफ्नै पुरानो बस्ती ‘लालीबजार’ फर्किन बाध्य बन्नुहुन्छ ।
चलचित्रको पहिलो भाग प्रेम र सामाजिक बन्धनको वरिपरि घुमे पनि दोस्रो भागले गम्भीर मुद्दाहरू उठाउँछ । हुर्किंदै गरेकी छोरी महारानीलाई शिक्षित बनाउन खोज्दा मधुले राज्य र समाजको कठोर पर्खालको सामना गर्नु पर्छ । बुवाको पहिचानविहीन सन्तानलाई नागरिकता नदिने कानुनी र सामाजिक विभेदलाई चलचित्रले सशक्त रूपमा उठाएको छ । समाजले तिरस्कार गरे पनि तत्कालीन समयमा सुरु भएको माओवादी आन्दोलनले मधुकी छोरीलाई शिक्षा पाउने ढोका खोलिदिन्छ, जसले राजनीतिक परिवर्तन र सामाजिक न्यायको सम्बन्धलाई झल्काउँछ । छोरीको भविष्यका लागि मधुले यौनकर्मीको पेसा त्यागेर गिट्टी कुट्ने श्रम स्वीकार गर्नुले एउटी आमाको त्याग र आत्मसम्मानको पराकाष्ठा पनि देखाउँछ ।
अभिनयका हिसाबले मधुवालाको भूमिकामा स्वस्तिमा खड्काले आफूलाई अब्बल साबित गर्नुभएको छ । बादी महिलाले बोल्ने स्थानीय लवज, शारीरिक भाषा र पीडालाई उहाँले पर्दामा जीवन्त बनाउनुभएको छ । आफ्नो पहिलो चलचित्रमै विशाल देवकोटाले नारायणको भूमिकामा परिपक्व अभिनय पस्कनुभएको छ । प्रेम र समाजबिच पिल्सिएको एउटा दोधारे चरित्रलाई उहाँले कुशलतापूर्वक निभाउनुभएको छ । यसै गरी खलनायकको भूमिकामा रवीन्द्र सिंह बानियाँले सधैँ झैँ आफ्नो बलियो प्रभाव छाड्नुभएको छ । निर्देशक थापाले अपवादबाहेक बादी समुदायको दैनिकी र बस्तीको वातावरणलाई निकै स्वाभाविक रूपमा चित्रण गर्नुभएको छ । चलचित्रको गति मध्यान्तरसम्म केही सुस्त महसुस भए पनि त्यसपछि कथाले समात्ने गति र भावनात्मक गहिराइले दर्शकलाई बाँधिराख्छ ।
प्राविधिक रूपमा पनि लालीबजार सबल देखिन्छ । यसको छायाङ्कन र कला निर्देशनमा गरिएको काम प्रशंसनीय छ । बादी बस्तीको परिवेश, रङको छनोट र दृश्यको बनावटले दर्शकलाई कथाको नजिक पु¥याउन मद्दत गर्छ । यद्यपि यति गम्भीर र मौलिक सामाजिक विषयवस्तु हुँदाहुँदै पनि चलचित्र दक्षिण भारतीय चलचित्रको शैलीगत प्रभावबाट भने मुक्त हुन सकेको छैन । निर्देशकले कथालाई अगाडि बढाउँदा प्रयोग गरेका कतिपय काममा त्यही पुरानो फर्मुला शैलीको छाया देखिन्छ । मौलिकताको खोजी भइरहेको वर्तमान नेपाली चलचित्रको सन्दर्भमा यो चलचित्र पनि व्यावसायिक घेराभन्दा माथि उठेर एउटा छुट्टै ‘सिनेम्याटिक’ उचाइ बनाउनबाट केही चुकेको भान हुन्छ । यति हुँदाहुँदै पनि उठान गरिएको मुद्दा र कलाकारको अभिनयले यसलाई औसतभन्दा माथिको चलचित्र बनाएको छ ।
‘लालीबजार’ एउटा चलचित्र मात्र नभएर समाजको ऐना हो । यसले बादी समुदायप्रति हेर्ने दृष्टिकोण बदल्न र महिलाको अस्तित्व एवं नागरिकताको अधिकारका विषयमा बहस गर्न प्रेरित गर्छ । आमाको सङ्घर्ष, प्रेमको असफलता र अस्तित्वको खोजीलाई पर्दामा हेर्न चाहने दर्शकका लागि यो एउटा उत्कृष्ट र हेर्नैपर्ने चलचित्र बनेको छ । एउटी यौनकर्मी महिला पनि आमा हुन सक्छिन् र उनले आफ्ना सन्तानका लागि संसारसँग लड्ने आँट राख्छिन् । समाजले लगाउने दागभन्दा आमाको पसिना धेरै पवित्र हुन्छ भन्ने सन्देश ‘लालीबजार’ ले दिएको छ ।