निशा राई
धरान, साउन १७ गते । धरान स्पोर्ट्स अवार्ड–२०८२ उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ सितेरियो करातेका साहिल राई र महिलातर्फ करातेकै वर्षा राईले पाउनुभएको छ ।
धरान खेलकुद मञ्चद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न सात विधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकलाई खेलकुद अवार्ड प्रदान गरिएको हो । जसमा साहिल र वर्षाले उत्कृष्ट वर्ष खेलाडी अवार्ड पाउनुभएको हो । उहाँले अवार्डसहित जनही ३० हजार रुपियाँ पाउनुभयो ।
यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका किरण लामाले पाउनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर र मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयर अवार्ड फुटबलका मनोज राईले पाउनुभयो । सबैलाई जनही १५ हजार रुपियाँ प्रदान गरियो ।
यसैगरि फरक क्षमता भएका खेलाडी विवेक राईलाई स्वर्गीय विक्रम राई स्मृति विशेष प्रतिभा पुरस्कारसहित १५ हजार रुपियाँ प्रदान गरियो ।
लिजेन्ड अफ दि इयर सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य र उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई प्रदान गरियो । दुवैलाई जनही १५ हजार रुपियाँ प्रदान गरियो ।
धरान खेलकुद मञ्चले गत वर्ष देखि खेलाडी, प्रशिक्षक र पत्रकारलाईसमेत प्रोत्साहन गर्न खेलकुद विधाको अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष किशोर राईले बताउनुभयो ।