• ११ असार २०८२, बुधबार

बान्नीगढी जयगढ गाउँपालिकाको बजेट ३७ करोड बढी

blog

बजेट सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष, उपाध्याक्ष र प्रमुख प्रशासकीय अधिकृत । तस्बिरः एकेन्द्र महता

एकेन्द्र महता

अछाम, असार ११ गते । अछामको बान्नीगढी जयगढ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ३७ करोड १ लाख २ हजार ३१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । 

गाउँसभाको १४ औँ अधिवेशनमार्फत नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ । अध्यक्ष टेकबहादुर साउँदले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्धि, स्वरोजगार र सेवा प्रवाहमा प्रभावकारी परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावलले बजेट विवरण प्रस्तुत गर्नुभयो । 

गाउँपालिकाले “विदेश होइन, स्वदेशमै रोजगारीः आत्मनिर्भर बनाऔँ बान्नीगढी” मूल नारा अघि सारेको छ । यस अन्तर्गत व्यावसायिक कृषि, पशुपालन र स्थानीय स्रोत केन्द्रित उद्यमशीलता प्रवर्धन गर्दै स्वरोजगारको अवसर सिर्जना गरिने जनाइएको छ ।

शिक्षा क्षेत्रमा “गुणस्तरीय शिक्षा, समृद्ध बान्नीगढीको आधार” भन्ने दृष्टिकोण लिइएको छ भने स्वास्थ्य क्षेत्रमा “सबैको पहुँचमा गुणस्तरीय सेवा” भन्ने लक्ष्यसहित सामाजिक विकासमा विशेष जोड दिइने बताइएको छ ।

प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफ्नै नवनिर्मित प्रशासनिक भवनमार्फत जनमैत्री, पारदर्शी र सहज सेवा उपलब्ध गराइने योजना बजेटमा समेटिएको छ । आन्तरिक तथा प्रशासनिक खर्चमा कटौती गर्दै सेवा केन्द्रित प्रणालीको विकास गरिने जनाइएको छ ।

गाउँपालिकाले संगठन संरचना पुनरावलोकन गर्दै आवश्यक जनशक्ति व्यवस्थापनका लागि कार्य विवरण र कार्य विश्लेषणमा आधारित संरचनागत सुधार समेत नीति दस्तावेजमा समावेश गरिएको छ ।

स्थानीय पर्यटन, कृषि, पशुपालन र लघु उद्यमलाई प्राथमिकतामा राख्दै आर्थिक वृद्धि र रोजगारीसँगै बान्नीगढीलाई आत्मनिर्भर बनाउने दीर्घकालीन खाका गाउँपालिकाले अघि सारेको छ ।