• ११ असार २०८२, बुधबार

तालिममार्फत आत्मनिर्भर बन्दै

blog

तालिमका क्रममा व्यावहारिक ज्ञान लिँदै प्रशिक्षार्थी ।

अर्जुन काफ्ले

स्याङ्जा, असार ११ गते । सधैँ जसो गाउँका पाखापखेरामा बाँदर धपाएर खेती गर्ने सीता सार्की हिजोआज आफूले सिकेको सिपलाई के कसरी सदुपयोग गर्ने भन्ने योजना बनाउन थाल्नुभएको छ । भिरकोट नगरपालिका–५, तोरीडाँडा निवासी ३७ वर्षीय सार्की तालिमपछि सिमेन्टको पर्खाल लगाउन, सोलिङ, ढलान र प्लास्टर गर्न सक्ने हुनुभएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित ५० दिनको सडक मर्मतसम्भार तालिम लिएपछि उहाँको मनमा सिपको सदुपयोग गरेर आत्मनिर्भर बन्ने हुटहुटी जाग्न थालेको छ । तालिमपश्चात् काम गर्न सक्ने क्षमता र आत्मविश्वास दुवै बढेको उहाँको अनुभव छ । 

यतिबेला खेती लगाउने समय भए पनि त्यसबाहेकको समयमा निर्माणको काम गरेर आत्मनिर्भर बन्न सकिने विश्वास उहाँमा जागेको छ । तालिमप्राप्त जनशक्तिलाई नगरपालिकाले नै नगरपालिकाभित्र सञ्चालन हुने सरकारी योजनामा प्रयोग गर्ने देखिएको छ । सिप सिकेका सबै युवालाई रोजगारीमा जोड्न नगरपालिकाले समेत योजना बनाएर गाउँठाउँमा रोजगारी दिँदै आएको छ । 

भिरकोट नगरपालिका–४, छाङ्छाङ्दीका प्रकाश नेपालीले पोलिथिन र जिआई पाइप जोड्ने, काट्ने, मर्मत गर्ने, धारा जोड्नेलगायत प्लम्बिङको सिप सिक्नुभयो । अहिले उहाँलाई पनि जीवनमा पहिलो पटक एकदमै उपयोगी तालिम लिएको अनुभूति भएको छ । तालिम उपयोगी भएकाले स्वरोजगार प्राप्त गरेर आत्मनिर्भर बन्न वा रोजगारी प्राप्त गर्न सहज हुने उहाँको विश्वास छ । वडा नं. ६ का वेगबहादुर थापाले पनि प्लम्बिङको तालिम लिनुभयो । ग्रामीण भेगका खानेपानी योजनाको मर्मतसम्भार, नयाँ तथा पुराना घरमा प्लम्बिङको काम गर्न सक्ने भएको उहाँ बताउनुहुन्छ । 

तालिमप्रदायक संस्था गण्डकी पोलिटेक्निकल संस्थाले लिने सिप परीक्षा कक्षामा सहभागी हुने इच्छा व्यक्त गर्नुभएका उहाँमा अब प्लम्बिङ पेसा अपनाएर नै आत्मनिर्भर बन्न सकिने विश्वास रहेको छ । सीता, प्रकाश र वेगबहादुर जस्तै भिरकोट नगरपालिकाका ४० जना युवाले प्रधानमन्त्री रोजगार कार्यक्रम ‘युवा रोजगारीका लागि रूपान्तरण आयोजना’ अन्तर्गत कार्यस्थलमा आधारित सिप तथा क्षमता विकास तालिम लिएका छन् । 

तालिम लिएका युवालाई तालिम उपयोगी मात्रै लागेको छैन, स्वदेशमै रोजगारी गरेर आत्मनिर्भर बन्न सकिने आत्मविश्वास पनि भरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक वसन्त बस्नेतले स्थानीय माग र आवश्यकतालाई ध्यानमा राखेर प्लम्बिङ र सडक मर्मतसम्भार गरी दुई वटा तालिम सञ्चालन गरिएको बताउनुभयो । 

स्थानीयस्तरमा खानेपानी र सडक योजना सञ्चालन एवं मर्मतसम्भार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति अभाव भएकाले प्लम्बिङ र सडक मर्मतसम्भार तालिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार १९ जना युवाले प्लम्बिङ र २१ जनाले सडक मर्मतसम्भार अन्तर्गत सिमेन्ट र इँटाको गारो लगाउने, सोलिङ, ढलान र प्लास्टर गर्ने सिप सिकेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाका नौ वटै वडाका सिप सिक्ने चाहना भएका बेरोजगार युवालाई तालिम दिइएको संयोजक बस्नेतले बताउनुभयो । दैनिक जीवनमा प्रयोग गर्न सकिने सिप सिकाइएकाले रोजगारी प्राप्त गर्न सहज हुने उहाँको विश्वास छ ।