नवीन सुवेदी
सुर्खेत, असार ११ गते । सुर्खेत जिल्लाका सबै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
सार्वजनिक बजेटहरू पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा केन्द्रित रहेको छन् । सबैभन्दा ठुलो बजेट वीरेन्द्रनगर नगरपालिकाले प्रस्तुत गरेको छ । उप–प्रमुख निलकण्ठ खनालले १७ औं नगरसभामा कुल चार अर्ब ३८ करोड २७ लाख १५ हजार रुपियाँको बजेट प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई कर्णालीकै पहिलो उप–महानगर बनाउने प्रतिबद्धता जनाउनुभयो ।
शहरीकरणलाई अवसरको रूपमा लिँदै शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रूपमा विकास गर्ने लक्ष्य राखिएको बजेटमा दुई अर्ब ७८ करोड ८४ लाख पूँजीगत खर्च र एक अर्ब ५९ करोड ४२ लाख चालू खर्च विनियोजन गरिएको छ । नगरले कर सुधार र आन्तरिक स्रोत विस्तार गर्दै ५१ करोड ६३ लाख ५० हजार रुपियाँ आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको छ ।
त्यसैगरी, गुर्भाकोट नगरपालिकाले एक अर्ब एक करोड ६७ लाख ९५ हजार रुपियाँको बजेट ल्याएको छ । त्यसमध्ये ३९ करोड एक लाख पुँजीगत र ६१ करोड ८६ लाख ७२ हजार चालु खर्च रहेको छ ।
यसैगरी, पञ्चपुरी नगरपालिकाले ६९ करोड ११ लाख १५ हजार, र भेरीगंगा नगरपालिकाले ८० करोड २५ लाख २४ हजार रुपियाँ बराबरको बजेट ल्याएका छन् । लेकबेशी नगरपालिकाले ६१ करोड ५१ लाख दुई हजार ६ सय रुपियाँ ९४३ करोड ४७ लाख चालु, बाँकी पुँजीगत बजेट ल्याएको छ ।
यस्तै, बराहताल गाउँपालिकाले ६३ करोड सात लाख चार हजार नौ सय ९९ रुपैयाँ, सिम्ता गाउँपालिकाले ६१ करोड ७५ लाख १९ हजार रुपियाँ ५२ करोड ६ लाख ८३ हजार चालु, नौ करोड ६ लाख ३६ हजार पूँजीगत रहेको छ । यस्तै चौकुने गाउँपालिकाले ५७ करोड, ल्याएको छ भने चिङ्गाड गाउँपालिकाले आफ्नो १९ औं गाउँसभाबाट ४० करोड ८६ लाख ४६ हजार दुई सय सात रुपियाँको बजेट पारित गरेको छ ।
जसमा ३१ करोड ८३ लाख नौ हजार चालु र नौ करोड ती लाख ३७ हजार दुई सय सात पूँजीगत खर्च छ । आन्तरिक राजस्वबाट मात्र २५ लाख उठाउने लक्ष्य लिएको गाउँपालिकाको बजेटमा सङ्घीय र प्रदेश सरकारको अनुदान प्रमुख स्रोत रहेको छ । शिक्षामा दुई करोड २७ लाख, सडक स्तरोन्नति, व्यावसायिक कृषि, नर्सरी, उद्यमशिलता र स्वास्थ्य सेवा विस्तारमा बजेट छुट्याइएको छ ।