काठमाडौं, फागुन १ गते । “चराचर, संसार सबैमा प्रेम नभई हुँदैन । प्रेम आफैंमा महत्त्वपूर्ण कुरा हो”, इतिहास तथा संस्कृतिविद् प्राध्यापक डा. रमेश ढुङ्गेल भन्नुहुन्छ, “अहिले सुपरफेसियल अन्डरस्ट्यान्डिङको नयाँ संस्कृति विकास भएको छ ।”
प्रा.डा. ढुङ्गेलले प्रणय दिवस (भ्यालेन्टाइन डे) को नाममा प्रेम सम्बन्धमा सतही बुझाइको मात्र विकास हुँदै गएको बताउनुभयो । जबकी, पूर्वीय दर्शनमा ‘प्रेम संस्कृति’ र यसको अर्थ, गहिराइ अनन्त कालसम्मका लागि भन्ने अर्थमा रहेको उहाँको भनाइ छ ।
उहाँले प्रेमप्रतिको दर्शन, बुझाइ मात्र होइन, गीतसङ्गीतमा समेत प्रेमभाव व्यक्त गर्ने शैली परिवर्तन हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अल्झेछ क्यारे ! पछ्यौरी तिम्रो चियाको बोटमा...बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा...’ भन्ने शब्दमा कति गहिराइ छ, हाम्रोमा त त्यो संस्कृति थियो नि । अब त, गाला रातै, गाला रातै, तीनपानेले हो कि यो कान्छको गाला रातै...।’ यस्तो भन्ने पहिले थिएन । यो आधुनिकताको प्रयोग हो ।”
त्रिविका नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले फेब्रुअरी १४ मा मनाउन थालिएको भ्यालेन्टाइन डे पश्चिमा संस्कृति भएको बताउनुभयो ।
प्रा.डा. खतिवडाले भन्नुभयो, “हाम्रो पूर्वीय परम्परामा ‘कामदेव’ लाई प्रेमको देवता मनिन्छ । उनकी श्रीमती ‘रती’ । रती र कामदेव प्रेम, माया, ममताका प्रतिक हुन् । यिनले प्रेम उत्भव गराउने, मोह उत्पन्न गराउने, एक अर्कालाई जुराइदिन्छन् भन्ने मान्यता छ । कृष्ण र राधाको लीला, १६ सय गोपिनीसँगको लीला प्रेम, माया, ममताको पराकाष्ठाको प्रतिक हो त्यो ।”
जब ऋतुहरूको राजा वसन्त ऋतु आउँछ । जाडोयाम कम हुँदै जाने, गर्मी पनि नहुने, राम्रो हावापानीको मौसम रहन्छ । बोट, बिरुवाको पालुवा फेरिन्छ, चराचुरुङ्गी खुसी भएर गीत गाउँछन्, एकदमै सुन्दर र रमणीय वातावरणको अवस्था रहन्छ । उहाँले नेपालमा परम्परागतरूपमा प्रेम संस्कृति वसन्त पञ्चमीसँग सम्बन्धित रहेको बताउनुभयो ।
उहाँले वसन्त पञ्चमीका दिनमा राष्ट्र प्रमुखलाई हनुमानढोका दरबारमा वसन्त श्रवण गराउने चलन अझै निरन्तर रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “१२ औं शताब्दीका एक जना कवि छन्, बंगालका जयदेवले महाकाव्य लेखेका छन् ‘गीतगोविन्द’ । त्यसको दोस्रो श्लोक राष्ट्रप्रमुख, प्रधानमन्त्री तथा उच्च, पदस्थ व्यक्तित्वहरूलाई सुनाइन्छ । यसो गर्दा देशमा सहकाल, शान्ति आउँछ भन्ने मान्यता छ ।”
फ्लोरिकल्चर एसोसियसन नेपालका अनुसार फेब्रुअरी १४ मा प्रत्येक वर्ष पाँच करोड रुपियाँ बराबरको गुलाब खपत हुने गरेको छ । एसोसियसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले स्थानीय उत्पादनले माग धान्न नसक्दा छिमेकी मुलुक भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको जानकारी दिनुभयो । हरेक वर्ष गुलाबको माग १५ देखि २० प्रतिशत बढ्दै गएको छ ।
प्रा.डा. ढुङ्गेल विगत दस, १५ वर्षदेखि नेपालमा भ्यालेन्टाइन डे को संस्कृति उत्पात रूपमा विस्तार भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यसका दुइटा कारण छन्, एउटा बढ्दो क्रिश्चियनाइजेसन र अर्को व्यावसायिकीकरण । विश्वको युरोप सेन्ट्रिक जुन बजार व्यवस्था छ । यसले उत्पात गर्छ ।” नेपालसँग यो संस्कृतिको कुनै सम्बन्ध नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “भ्यालेन्टाइन भन्ने जुन क्रिश्चियन फादर हो, उसलाई मारियो । फादरहरू चर्चमा बसेपछि त, महिलाहरूसँग प्रेम अथवा फिजिकल रिलेसन त हुँदै, हुँँदैन । तर, त्यो एउटा भ्यालेन्टाइनको भित्रि एफियर्स रहेछ । उनलाई मृत्युदण्ड दिइयो । त्यसो भएको हुनाले प्रणय दिवस जुन अङ्ग्रेजी शब्दमा भन्दा रोमान्सको रूपमा यो पर्व अहिले बजारमा देखिएको छ ।”
उहाँले १७ औं, १८ औं शताब्दीदेखि सुरु भएको तीव्र व्यावसायिकीकरणसँगै वास्तविक इतिहास बिर्सेर सतही बुझाइमा नै यो दिवसप्रति आकर्षण बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “खुवाउन लग्ने, लुगा दिने, कोटेसनहरू दिने । कसो गर्दा भेट हुने मित्रसँग सबभन्दा क्लोजनेस् डेभलप हुन्छ । कम्प्लिट्ली इट् हयाज् बिन ट्रान्सलेटेड् इन्टु रोमान्स । रोमान्टिक लभको फेस्टिभलको रूपमा अहिले परिणत भएको छ । जुन, हाम्रो देशसँग, हाम्रो संस्कार, संस्कृति, परम्परा, इतिहासँग कुनै केही सम्बन्ध छैन ।”
यस्तै प्रा.डा. खतिवडाले नेपालमा मध्यकालसम्म उपत्यका बाहिरका मानिसहरू पनि वसन्त उत्सव मनाउन राजधानी आउने परम्परा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो प्रणय दिवस मनाउने परम्परा संस्कृतिको रूपमा बेग्लै छ । पूर्वीय धारणामा हाम्रो प्रेम भनेको कहिल्यै पनि नटुट्ने हुन्छ । पश्चिमा जो भ्यालेन्टाइन डे देखावटी, एकछिन रमाइलो गर्ने रूपमा आएको छ ।”
त्यसो त, फेब्रुअरी १४ का दिनमा मात्र नभई यसको हप्ता दिन अघिदेखि रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे अनि भ्यालेन्टाइन डे भनेर साप्ताहिक रूपमा यो पर्व मनाउने आकर्षण युवापुस्तामा बढ्दो छ ।
यसले गर्दा, नेपाली मौलिक प्रेम संस्कृति ओझेलमा पर्दै गएकोप्रति विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन् ।