काठमाडौं, माघ २१ गते । दाङको ३८ जना स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू काठमाडौंको माइतीघर मण्डलामा आइतबारदेखि धर्नामा बसेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिका संयोजक पीडित मोही किसान बासुराम चौधरीको नेतृत्वमा सोमबार दोस्रो दिन पनि माइतीघरमा सो धर्ना जारी रहेको उहाँहरूको भनाइ छ । पीडित किसानले आफ्नो माग सुनुवाइ नभएसम्म निरन्तर धर्ना दिने बताएका छन् ।
दाङको रामपुर नगरपालिका वडा २ का ७१ वर्षीय पीडित मोही किसान बासुराम चौधरीले आफूहरू बाबु–बाजेदेखिको पालादेखि नै पीडित बन्दै आएको दुःख सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “हामी बाबु–बाजेदेखिको पालादेखि आन्दोलनमा थियौं । उहाँहरू पनि त्यसै बितेर जानुभयो । हाम्रो अवस्था पनि यस्तो भइसक्यो । हाम्रो छोराछोरी, नातिनातिनाले दुःख नपाओस् भनेर हामीले निरन्तर धर्ना दिँदैआएका छौं । अझै लालपुर्जा पाउन सकेनौं । हामी पनि मर्ने उमेर आइसक्यो ।”
स्वर्गद्वारी गुठीलाई मोही किसानले उब्जाएको उत्पादन आधा दिनुपर्छ । यसको बाबजुद उनीहरूले मोहीयानी हक पाएका छैनन् । उहाँले भन्नुभयो, “हामीले धानबाली, मकै, तोरी खेतीपातीमा जे सिजन आयो त्यो नदिइकन सुखै छैन । यसले गर्दा बालबच्चालाई पनि पढाउन सकेनौं । दुख, बिमार भए पनि उपचार गर्ने पैसा पाएनौं । यो जग्गा बेच्न पनि मिल्दैन, बाजे पुर्खाको सम्पत्ति हो भन्न पनि मिल्दैन । लालपुर्जा पनि दिँदैन । जसले गर्दा, ऋण पाएनौं । यो मोही पुर्जा, यसले केही काम नै गर्दैन । पक्की रसिद ल्याऊ भन्छ जहाँ पनि ।”
स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समितिले २०८० फागुन ८ गते दाङमा जिल्ला प्रशासन कार्यालय अगाडि ३१ दिन २४ घण्टे धर्ना सुरु गरेको थियो । समितिका सचिव भरतराज गिरीले भन्नुभयो, “त्यो बेला सडकमै खायौं, बस्यौं । जिल्ला प्रशासन कार्यालय अगाडि सडकमै सुत्यौं । त्यसबेला सरकारले हामीसँग दुई बुँदे सम्झौता गर्यौं।
सम्झौताअनुसार अविलम्व गुठी विधेयक बनाएर पीडित मोही किसानहरूको मोहीयानी हक अनुसारको जग्गा प्राप्तिका लागि कानुन बनाउँछौं भनेर आश्वासन दियो । एक वर्ष पुग्दा पनि कानुन बनाउने सुरसार देखेनौं । दाङका सांसद र आम नेपाली जनतालाई पीडा सुनाऔं भनेर हामी माइतीघर मण्डला आयौं ।”
उहाँले नेपालको संविधान २०७२ अनुसार किसानले मोहीयानी हक पाउने भन्ने कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वर्गद्वारीका कर्मचारीसँग हाम्रो दुश्मनी होइन, उहाँहरू सकारात्मक हुनुहुन्छ । स्वर्गद्वारी पनि तयार छ । हामी लिने किसान पनि तयार छौं । तर, यो देशमा कानुन मात्र निर्माण नभएको हुनाले कानुनको आवश्यकता परेको छ । अब नेपाल सरकार र सांसदहरूसित हाम्रो अधिकार सुनिश्चित हुने खालको कानुन निर्माण गरिदिनुस् भनेर हामीले आन्दोलन गरिरहेका छौं ।”
उहाँका अनुसार स्वर्गद्वारी गुठी १९५२ सालमा सुरु भएको हो । दाङमा हजाराैँ वर्षदेखि विशेषगरी थारू समुदायले उब्जनी लगाउँदै आएका थिए । त्यहाँका पीडित मोही किसानले लालपुर्जा पाउनुपर्ने माग राख्दै आएका छन् ।