• २१ माघ २०८१, सोमबार

ललितपुर महानगरपालिका

blog

भाइबहिनीहरू, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सहरका रूपमा ललितपुर महानगरपालिकालाई चिनिँदै आएको छ । यो मन्दिरै मन्दिरको सहर हो । सुरुमा यो नगर सफाइ तथा अन्य कार्य गर्न विसं १९७५ पुस २ गते जारी भएको ‘पाटन सवाल’ बाट ‘छेमडेल अड्डा’ को नामबाट सञ्चालन भई २००९ सालमा ललितपुर नगरपालिका, २०१८ सालमा ललितपुर नगर पञ्चायत, २०४७ सालमा पुनः ललितपुर नगरपालिका र २०५२ सालमा ललिपुर उपमहानगरपालिका निर्माण भएको थियो । ललितपुर उपमहानगरपालिकालाई २०७३ साल चैत १० गतेदेखि महानगरपालिकाका रूपमा सरकारले घोषणा गरेको हो ।

साहित्यिक स्रोत  र जनश्रुति अनुसार ललितपुर सहर किराँतकालमा नै स्थापना भइसकेको थियो । त्यसैले होला ललितपुरको अर्को नाम पहिलो किराँती राजा यलम्बरको नामबाट ‘यल’ राखिएको भन्ने भनाइ छ । यहाँको रीतिरिवाज पनि ललितपुर सहर र किराँतहरूको प्राचीन सम्बन्धसँग मेल खाने गरेको पाइन्छ । 

लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले परिचित रहेको पाइन्छ । यसको पूर्व दिशामा दीपावती नगर (गुईत), दक्षिण दिशामा मतिनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरी (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्यभागमा स्वस्तिक आकारको मङ्गलबजार रहेको इतिहासविद्हरूको भनाइ छ । 

त्यस्तै गरी पूर्व दिशामा बालकुमारी, दक्षिण दिशामा वटुक भैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ । लिच्छविकालका पुराताìिवक स्रोत अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रशस्तै मात्रामा पाइएकोले लिच्छविकालमा नै ललितपुर पूर्ण रूपमा विकास भइसकेको थियो भन्ने स्पष्ट हुन्छ ।  

२०७८ सालमा भएको राष्ट्रिय जनगणना अनुसार ललितपुर महानगरपालिकाको जनसङ्ख्या दुई लाख ९४ हजार ९८ रहेको छ । उक्त जनसङ्ख्यामध्ये महिला एक लाख ४७ हजार ३६८ र पुरुष एक लाख ४६ हजार ७३० रहेको छ । यसको सिमानामा पूर्वमा महालक्ष्मी नगरपालिका, पश्चिममा कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिका, उत्तरमा काठमाडौँ महानगरपालिका र दक्षिणमा गोदावरी नगरपालिका रहेका छन् । यस महानगरपालिका समुद्री सतहदेखि करिब एक हजार २८० मिटर उचाइमा रहेको छ भने क्षेत्रफल ३६.१२ वर्गकिलोमिटर रहेको छ । 

२०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट ललितपुर महानगरपालिको नगर प्रमुखमा चिरीबाबु महर्जन निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ सालमा भएको दोस्रो स्थानीय तहको निर्वाचनबाट पनि महर्जन नै पुनः महानगरपालिकाको नगरप्रमुखका रूपमा निर्वाचित हुनुभएको छ ।    

   मुना