• १७ असार २०८१, सोमबार

कीर्तिमानी महिला आरोही लाक्पालाई फाउण्डेशनबाट सम्मान

blog

१० औं पटक सगरमाथाको आरोहण गर्नुहुने लाक्पा शेर्पा सहित यसवर्ष सगरमाथाको आरोहण गर्नुहुने महिला टोलीहरुः तस्विर सौजन्यः पासाङ ल्हामु फाउण्डेशन

काठमाडौं, जेठ १३ गते । १० औं पटक सगरमाथाको आरोहण गर्नुहुने विश्वकै एक मात्र साहसी महिला आरोही गाइड लाक्पा शेर्पालाई पासाङ ल्हामु फाउण्डेशनले सम्मान गरेको छ । पहिलो नेपाली सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको सम्मानमा स्थापित फाउण्डेशनले लाक्पा सहित विभिन्न क्षेत्रमा आवद्ध रहेर पर्वतारोहणमा सकृय महिलाहरुलाई विहीबार सम्मान गरेको छ । 

फाउण्डेशनले आठ हजार मिटर माथिका सातवटा हिमाल आरोहण गरिसक्नु भएका आरोही माया शेर्पा, आठ हजार मिटर माथिका सातवटा हिमाल आरोहण गरि विभिन्न देसमा गाइड गर्दे आउनु हुने दक्षिण एसियाकै पहिलो अन्तराष्ट्रिय माउन्टेन गाइड दावा याङजुम शेर्पा लगायतलाई सम्मान गरेको थियो । 

विहीबार आयोजित कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं पुर्वराजदुत दावाफुटी शेर्पा, राष्ट्रिय सभाका सदस्य माननीय सोनाम ग्याल्जेन शेर्पा र फाउण्डेशनका संरक्षक ल्हाक्पा सोनाम शेर्पासहितको टोलीले महिला आरोहीहरुलाई सम्मान गरेको थियो । सगरमाथाको पहिलो आरोहण गर्ने आरोहीको नाममा स्थापित संस्थाले आरोहीहरुसँगको सम्बन्धलाई थप विस्तार गर्दै पर्वतारोहण क्षेत्र आरोहीहरुसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु गर्ने लक्ष्य फाउन्डेशनले राखेको अध्यक्ष शेर्पाले बताउनुभयो । आउने वर्षको ३० औं पासाङ प्रतिष्ठा दिवसको अवसरमा फाउण्डेशनले महिला आरोहीहरुको सम्मानका लागि कार्यक्रम गर्ने तयारीमा समेत जुटेको र फाउण्डेशनले आरोहीहरुको प्रोफाइल सहितको डाटा संकलन गर्ने तयारी थालेको उहाँले बताउनुभयो । 



यता कार्यक्रममा बोल्नु हुँदै माननीय शेर्पाले आरोहीहरुलाई बधाई दिनुहुँदै पर्वतारोहण क्षेत्रमा शेर्पाको इज्वत विश्वभर अझै कायम रहेको र यो अवसर हामी कायम राख्ने इज्वत र इमानमा रहनु पर्ने तव मात्र नेपालको पर्वतारोहण क्षेत्रको प्रवद्र्धन हुने बताउनुभयो । कार्यक्रममा यस वर्ष सगरमाथाको आरोहण गर्नुहुने पहिलो डाक्टर प्रिती भुषाल, पहिलो एयरलाइन्स क्याविन क्रु ओम्निका ढंगोल, निमाडोमा शेर्पा, दिकी ल्हामु शेर्पा, सन् २०१८ मा एकै महिनामा सगरमाथा, ल्होत्से र कञ्चनजंगाको आरोहण गरी किर्तीमान बनाउनु भएका निमाजाङवु शेर्पा, पहिलो एकल महिला आरोही फुर्दिकी शेर्पा लगायतलाई खदा ओडाएर सम्मान गर्नुभएको थियो ।