• ४ जेठ २०८१, शुक्रबार

१५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ १३ गते ।
हिमाली जिल्ला म्याग्दीको प्रहरीले जिल्लाको पश्चिम भेकको विभिन्न स्थानमा १५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती पछिल्लो २० दिनको अवधिमा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालका अनुसार पछिल्लो २० दिनको अवधिमा तीन स्थानमा गरी १५ रोपनी क्षेत्रफलको अफिम खेती नष्ट गरीएको हो ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएर गएको प्रहरी टोलिले गत वैशाख २२ गते मालिका गाउँपालिका–५ गाइखर्कको सार्वजनिक जग्गामा लगाइएको ५ रोपनी क्षेत्रफलको अफिम नष्ट गरेको थियो ।

यसैगरी, वैशाख २७ गते मालिका गाउँपालिका–४ छिसनेरीमा ५ रोपनी क्षेत्रफलमा लगाइएको अफिमलाइ इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तको नेतृत्वमा गएको टोलीले नष्ट गरेको थियो ।

पछिल्लो समय बिहीबार बिहान ९ बजे इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी सहायक निरीक्षक बलबहादुर खड्कासहित चार जना, प्रहरी चौकी बाबियाचौरबाट दुई जना र प्रहरी चौकी तातोपानीबाट दुई जना गरी संयुक्त टोलीले अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

प्रहरी निरीक्षक ढकालका अनुसार मंगला गाउँपालिका–५ अर्मनको चांगामा करिब ५ रोपनी क्षेत्रफलमा लगाएको अफिम खेतीलाई प्रहरीको अगुवाईमा नष्ट गरीएको हो ।

प्रहरीले लागूऔषधविरुद्धको अभियानअन्तर्गत पछिल्लो २० दिन भित्र पश्चिम म्याग्दीको तीन स्थानमा गरी १५ रोपनी क्षेत्रफलमा लगाइएका अवैध अफिम नष्ट गरेको हो । पछिल्ला दिनहरुमा लागूऔषधविरुद्धको कार्यक्रमअन्तर्गत लागूऔषध नष्ट गर्ने प्रहरीको अभियान निरन्तर रहेको प्रहरीले जनाएको छ ।