• १३ साउन २०८१, आइतबार

जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीय त्रसित

blog

विष्णुप्रसाद पोखरेल
दमक, जेठ १३ गते ।
झापाको मेचीनगर क्षेत्रमा केहिदिन यता लगातर हात्तीको हुल पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । बाहुनडाँगी क्षेत्रमा दैनिकजसो ठूलो सङ्ख्यामा जङ्गली हात्तीको हुल आउन थालेपछि स्थानीय त्रसित हुनु परेको हो ।

हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेतीका अनुसार भारततर्फबाट दैनिक ५० देखि एक सयको सङ्ख्यामा हुल बाँधेर जङ्गली हात्ती बाहुनडाँगी प्रवेश गर्ने गरेको छ । स्थानीय किसानहरुको अन्नबाली समेत नोक्सानी पुर्याउदै आएको छ ।

विद्युतीय घेराबारा तोडेर समेत हुलका हुल हात्ती आएपछि किसानहरुको नोक्सानी गरेको र हात्ती नियण्त्रणमा समस्या भइरहेको जनाइएको छ । मेचीनगर–१ र ४ मा पर्ने क्षेत्रहरुमा भारतबाट दैनिक नियमित रुपमा हात्तीको हुल आइरहेको र स्थानीयहरुले हात्तीलाई सुरक्षित स्थलतर्फ लखेटने गरेका छन् ।

थोरै सङ्ख्यामा आएका हात्तीहरु गाउँपस्ने र त्यसले क्षति पुर्याउने गरेको उप्रेतीको भनाइ  छ । ‘‘एक–दुईवटाको सङ्ख्यामा आउने गरेका हात्ती अहिले गाउँघरमा दिनहु क्षति पुर्याउने गरेका छन्,’’ उहाँले भन्नुभयो ।

वि.सं. २०३० सालदेखि निरन्तर छिमेकी मुलुक भारतबाट आउने हात्तीको समस्या झेल्दै आइरहेको बाहुण्डाँगीमा हालसम्म मानव हात्ती द्वन्द्व निरन्तर चलिरहेको छ । हात्ती नियण्त्रणका लागि सरकारले विद्युतीय घेराबारा र विभिन्न उपाय अपनाएपनि अहिलेसम्म यसले पनि हात्ती नेपाल प्रवेश गर्ने कार्य रोकिन सकेको छैन ।