• १ जेठ २०८१, मङ्गलबार

वालेन र सुनिताको काठमाडौं महानगर यात्रा

blog

काठमाडौं, जेठ १२ गते । 

गरिबको चमेली बोल्दिने कोही छैन

गरिबको बोल्दिने कोही छैन

गरिबको चमेली बोल्दिने कोही छैन

गाउँगाउँबाट उठ युवा कलम थामी

सोह्रै आना सही कुरा सुन सोची साराले । 

वालेन अर्थात् वालेन्द्र साह । हरेक युवा पुस्तामा अहिले लोकप्रिय नाम बनेको छ यो । माथि उल्लिखित वालेनको यो -यापले अहिले निकै चर्चा पाएको छ । 

काठमाडौं महानगरपालिकाको प्रमुख बन्नुभएका ३२ वर्षीय वालेनको चर्चाले प्रमुख राजनीतिक दललाई चिन्ता बढेको छ । वालेन अहिले युगौंदेखि चर्चा कमाएका राजनीतिक दलहरूका लागि चुनौती बन्नुभएको छ । 

साह नेपाली ¥यापर, गीत लेखक, निर्देशक र पेसाले स्ट्रकचरल इन्जिनियर हुनुहुन्छ । बुवा रामनारायण साह र आमा कुवदेवी साहबाट सन् १९९० मा जन्मिनुभएका साहका परिवारको पृष्ठभूमि राजनीतिक होइन । उहाँका बुवा आयुर्वेदिक डाक्टर हुनुहुन्छ ।

साहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको हो । 

यस्तै, २०७२ सालको भूकम्पपछि साहले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाउनुभएको थियो । काठमाडौं महानगरको प्रमुखमा जितेर स्वतन्त्रबाट जित्ने महानगर प्रमुखको इतिहास रच्दै हुनुहुन्छ । 

वालेनको पुर्खौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ मा छ । उहाँका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार हुनुहुन्थ्यो । त्यसै कारण उहाँलाई सबैले ‘महाजन’ भनेर सम्बोधन गर्ने गर्थे । मुनिलालका चार छोरामध्ये डा. रामनारायण साह र आमा धुव्रदेवी साहको कान्छो छोरा वालेन्द्र साह हुनुहुन्छ ।  


डा. रामनारायण करिब चार दशकअघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रुपमा काम गर्न पुग्नुभएको थियो । सोही बेलादेखि उहाँको सपरिवार काठमाडौँमा छ । 

बालेनका बुवा रामनारायणको पहिलो पत्नी रितेश्वरी देवी साह । उहाँको माइती भारतको मधुवनी जिल्लामा पर्छ । दोस्रो पत्नी कुवदेवी साह अर्थात् वालेनको आमाको माइत जमुनिवास–४ धनुषा हो ।  

वालेनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिकाको प्रशासनिक कार्यालय छ । स्थानीयका अनुसार, सो घर गाउँपालिका कार्यालयलाई भाडामा दिइएको छ ।

यसबाहेक युवा पुस्ताले रुचाएका सङ्गीतकर्मी तथा ¥यापर साहको राजनीतिक अवतारले पनि कम चर्चा पाएको छैन । सामाजिक सञ्जालमा पनि साहको निकै चर्चा र सर्मथनमा विभिन्न पोस्टहरु भइरहेका छन् । 

यस्तै, युवा पुस्तामा मात्र नभएर मनोरञ्जन क्षेत्रमा पनि बालेनले उत्तिकै माया पाउनुभएको छ । सामाजिक सञ्जालमा कलाकारहरु पनि खुलेर उहाँलाई सर्मथन गरेको देखिन्छ । 

अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की र निर्माता माधव वाग्ले, सन्तोष सेन, हाँस्य कलाकार निर्मल शर्माले खुलेरै उहाँको पक्षमा लाग्नुभएको छ । साहले काठमाडौंको प्रमुखमा उम्मेदवारी दिनका लागि पाँच वर्ष अगाडिदेखि तयारी गरिरहेको भन्ने चर्चा सुनिन्छ ।

यसरी कलाकारबाट राजनीतिमा अगाडि बढ्दै गरेका बालेनले प्रमुख पद जित्नुअघि नै एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने घोषणा गर्नुभएको हो । 

उहाँले यो घोषणा फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक कार्यक्रममा गर्नुभएको थियो । कार्यक्रममा पुग्नुभएका वालेनले नेपाली कलालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताउनुभयो । 


यस्तै, वालेनका समर्थक रुमिला महर्जन भन्नुहुन्छ, वालेनलाई काठमाडौंमा चिनाउनुपर्ने छ । “मेरो पनि राजनीतिमा लाग्ने सपना छ, वालेन प्रमुख बनेपछिको दृष्टिकोण मलाई साह्रै मनप¥यो, उहाँबाट सिकेर म आफ्नो राजनीतिक यात्रा सुरु गर्न चाहन्छु ।” 

यस्तै, साहका अर्का सर्मथक सुशील श्रेष्ठ भन्नुहुन्छ, हाम्रो देशमा जति पनि पार्टीहरु छन्, तीभन्दा वालेन अलग छन् । उहाँ युवा पुस्ता पनि हुनुहुन्छ र काठमाडौंलाई राम्रो बनाउने दृष्टिकोण उहाँको राम्रो छ । 

काठमाडौंलाई अहिले युवापुस्ताको खाँचो रहेको साहका सर्मथकहरु बताउनुहुन्छ । विगतमा धेरैलाई अवसर दिए पनि आफूहरु सन्तुष्ट नभएको उहाँहरुको भनाइ छ । अबका दिन वालेन कला क्षेत्र सँगसँगै राजनीतिमा पनि होमिएर नगरको विकास गरेको हेर्ने सपना रहेको युवाहरुको भनाइ छ । 

र्‍यापमा राखिएका तिखा शब्दले युवाहरूलाई आकर्षण गर्न जति सहज भयो, महानगरको जेलिएको कर्मचारी प्रशासन, संरचना निर्माण गर्न हरेक पाइलामा अवरोध, एक्लो प्रमुखले अन्य सबै दलको सहयोग लिएर अगाडि बढ्नुपर्ने अवस्था छ । 


भनिन्छ–चर्का कुरा गरेर नेता हुन सजिलो छ तर जिम्मेवारी पूरा गर्न कठिन छ । त्यही कठिन यात्रामा वालेनको महानगर प्रमुखको यात्रा सुरु भएको छ । 

सुनिताको राजनीतिक यात्रा

कसैले रेडियोमा साथी, दिदी, आन्टी वा प्रस्तोता र कतिले मिस नेवा २०११ र कतिले ‘रञ्जना लिपि क्वीन’ भनेर चिन्रे गर्छन् । उहाँ हुनुहुन्छ सुनिता डंगोल ।

सन् २०११ मा मिस नेवाःको ताज जित्नुभएकी सुनिता डंगोल राजनीतिमा नयाँ अनुहार हुनुहुन्छ । सामाजिक विज्ञानमा स्नातकोत्तर गर्नुभएका उहाँ विभिन्न सामाजिक कार्यक्रम र नेपाल भाषाको रञ्जना लिपि प्रवद्र्धनका अभियान्तासमेत हुनुहुन्छ । 

काठमाडौंको लगन टोल निवासी सुनिता ‘सम्पदा बचाउ अभियान’ र केही समय अघिसम्म नेपाल टेलिभिजनमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । विभिन्न सामाजिक कार्यमा हात हाल्नुभएका डंगोलले काठमाडौंको विकासका लागि आठ खम्बे विकास ढाँचा तयार गर्नुभएको छ । 


जसमा स्वच्छ वातावरण अर्थात् फोहोर व्यवस्थापन, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डिभेलप्मेन्ट रहेको छ । 

डंगोलले रञ्जना लिपि सिकाउ क्याम्पियन मात्र ६० वटा गरिसक्नुभएको छ । सुरुमा डंगोलले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा प्रमुखमा दाबेदारी गरिरहेको डंगोललाई एमालेले उपप्रमुखमा उम्मेदवार बनाएको हो । 

यस्तै, उहाँको मत माग्ने शैलीबाट पनि उहाँको सामाजिक सञ्जालमा धेरै चर्चा छ । अवाज विहीन र सुन्न नसक्नेहरुसँग डंगोलले सांकेतिक भाषामा समेत मतदान गर्न अपिल गर्नुभएको थियो, जसबाट उहाँ सबै माझ लोकप्रिय बन्नुभएको हो । 

‘युवा भविष्य मात्र हैन, युवा वर्तमान पनि हो’ भन्दै ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियानबाट प्रभावित हुनुभएका डंगोल देशमा विकासको लहर ल्याउन राजनीतिमा आउनुभएको बताउनुहुन्छ । 

यस्तै, डंगोलले आफूले जितेको खण्डमा जनताको शासक होइन, सेवक बन्ने एक कार्यक्रममा बताउनुभएको थियो । काठमाडौंलाई सांस्कृतिक नगरी बनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । 

उहाँले नेतृत्व तहमा महिला सहभागिता कम रहेकाले पनि आफ्नो उम्मेदवारीले अन्य पार्टीहरूलाई पनि महिला नेतृत्व अगाडि ल्याउन दबाब हुनेसमेत बताउनुभएको हो । साथै, आफू युवा भएकाले पनि अहिलेको पुस्ताले युवा नेतृत्वलाई विश्वास गर्ने उहाँ बताउनुहुन्छ ।


विद्यालयमा सधैं पहिलो छात्रादेखि राजनीतिसम्मको यात्रामा सुनिता निकै मिहिनेती र लगनशील देखिनुहुन्छ । सिक्ने, सिकाउने र फैलाउने काममा रुचि राख्ने डंगोल अहिले युवा पुस्तामाझ पनि किनै लोकप्रिय बन्नुभएको छ । 

एसएलसीमा बोर्ड टप गर्ने सपना पूरा गर्न चुकेका डंगोल आज काठमाडौं सहरलाई विदेशजस्तो नभएर उसकै स्वरुपमा राम्रो बनाउने सपना पूरा गर्दै हुनुहुन्छ । 

जीवनमा अगाडि बढ्ने बाटो भनेकै शिक्षित हुनु हो भन्ने बुझेकी डंगोल आफूले पढेका र सिकेका कामहरु कहाँ प्रयोग गर्ने भन्ने विषयमा अलमल्ल पर्नुहुन्थ्यो । तर अहिले उहाँले राजनीतिक यात्रामा आफूले सिकेका कामहरु प्रयोग गर्न पाउनुभएकोमा खुशी व्यक्त गर्नुभएको छ । 

सानैदेखि काठमाडौंलाई सुन्दर बनाउने सपना देख्नुभएका डंगोलले काठमाडौंवासीको अपेक्षा बुझेर अगाडि बढ्दै हुनुहुन्छ । उहाँ सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । युट्युवमार्फत उहाँले नेपाल भाषा र रञ्जना लिपि सिकाउने गनुहुन्छ । 

राजनीतिक यात्राको क्रममा विभिन्न मिडिया अन्तर्वार्ता दिँदा उहाँले राजनीति व्यापार होइन, यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्ने बताउनुभएको छ । 


यस्तै, डंगोलले समाजसेवा आफ्नो जीवनको मूल उद्देश्य भएका कारण त्यसलाई मूर्तरुप दिन राजनीतिमा आएको र आर्थिक समृद्धि, उन्नत समाजको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने हो भने राजनीति पनि उन्नत बन्छ भन्ने भनाइ राख्नुभएको छ । 

विशेषगरी काठमाडौंमो नेवार समुदायमा नै रहेर काठमाडौंको विकास गर्ने योजना लिएर अगाडि बढ्दै गरेकी सुनितालाई वृद्धदेखि आजका युवाहरुको साथ र सहयोग रहेको देखिन्छ । उहाँ काठमाडौं स्वरुपदेखि बदल्नेदेखि महिला अधिकारका लागि आवाज बन्नुहुने छ भन्ने हरेक महिलाको विश्वास छ । 

यसरी विभिन्न कार्य शैलीबाट चर्चा चुमेका डंगोलले काठमाडौं महानगरको उपप्रमुख बन्ने सौभाग्य प्राप्त गर्नुभएको छ । उहाँ मतान्तरको हिसाबले यो स्थानीय तहमै कीर्तिमानी विजयी उम्मेदवार हुनुहुन्छ । 

निर्वाचित आयोगले औपचारिकरुपमा महानगरको प्रमुख र उपप्रमुख निर्वाचित भएको घोषणा गर्न बाँकी भए पनि गणना गर्न मतको आधारमा उहाँहरुको विजय निश्चित छ ।