• १९ असार २०८१, बुधबार

भ्रष्टाचार सहनै सक्दिनँ : नगरप्रमुख चौधरी

blog

जीबछ यादव
लहान, जेठ १२ गते ।
लाहान नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले भ्रष्टाचार सहनै नसक्ने बताउनुभएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घ सिराहा लहानले आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा यस्तो बताउनुभएको हो ।

उहाँले लाहान नगरपालिकाको २४ वटै वडामा कहीँकतै भ्रष्टाचार भएको कसैले कुनै प्रमाण देखाएमा तुरुन्तै कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । नगरका जनताले जे जिम्मवारी पूरा गर्न निर्वाचित गरेको छ, शतप्रतिशत पूरा गरेर लहानलाई देशकै नमुना नगरपालिका बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख चौधरीले भन्नुभयो,‘‘लाहानको समृद्धिका लागि उद्योगी व्यापारीहरुको सहयोग चाहिएको छ । कालाबजारी र अनावश्यक नाफा लिएर उपभोक्ताहरुलाई सास्ती दिइने काम कसैले नगर्नु होला । लाहानको व्यापारलाई शुद्ध, व्यवस्थित र मर्यादित बनाउन गृहकार्यमा लागिसकेका छौ ।’’

म नेपाली कांग्रेसबाट उम्मेदवार थिएँ, अब चुनाव जितिसकेपछि सबैको भएँ । काखा पाखा र भेदभाव गर्दिनँ । जनभावनाको कदर गरेर सुन्दर समृद्ध लाहान बनाउनेछौँ उहाँले जोड दिनुभयो ।

उद्योग वाणिज्य सङ्घले खेपिरहेको आर्थिक समस्यालाई टार्न प्रत्येक वर्ष नगरपालिकाबाट पाँच लाख रकम उपलब्ध गराउने नगरप्रमुख चौधरीले भन्दै व्यापारीहरु ढुक्क भएर व्यापार सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गराउन पनि नगरपालिकाले पहल गर्ने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला उद्योग वाणिज्य सङ्घ लाहान सिराहाका अध्यक्ष अशोकलाल अमात्यले निर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरी तथा उपप्रमुख राम चलितर महतोलगायतलाई बधाइ ज्ञापन गर्नुभयो ।