• १८ माघ २०८१, शुक्रबार

कुष्ठरोग निवारणको १५ वर्षमा पनि घटेन त्रास

blog

फाइल तस्बिर

काठमाडौँ, माघ १३ गते। नेपालबाट कुष्ठरोग निवारण भएको १५ वर्ष हुँदासमेत सङ्क्रमितको सङ्ख्या बढ्दो छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार रोगको निवारण गर्न प्रति १० हजार जनसङ्ख्यामा एक प्रतिशत भन्दा कम बिरामी हुनुपर्छ। 

डब्लुएचओको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष दुई हजार पाँच सय कुष्ठरोगका बिरामी पत्ता लाग्ने गर्छन्। यो भनेको राष्ट्रिय रूपमा बिरामीभार प्रति १० हजार जनसङ्ख्यामा ०.८५ प्रतिशत छ तर, प्रदेश र स्थानीय तहमा रोगको भार बढी छ। 

रोगको भार मधेश, लुम्बिनी, सुदूरपश्चिममा सबै भन्दा बढी छ। मधेशमा १.३७, लुम्बिनीमा १.१०, सुदूरपश्चिममा १.०१ प्रतिशत रहेको छ। 

त्यसैगरी, कोशी प्रदेशमा ०.९२, कर्णली प्रदेशमा ०.५३, गण्डकी प्रदेशमा ०.४५ र बागमती प्रदेशमा ०.२१ प्रतिशत छ। 

सरकारले बिरामीलाई उपचारको दायरामा ल्याउन नसक्दा रोग बढ्दै गएको छालारोग विशेषज्ञ डा. रविन्द्र बाँस्कोटाको भनाइ छ। 

दक्ष जनशक्तिको कमी, खुला नाकाबाट बिरामीको आवत, जावत, सामाजिक विभेदका कारण बिरामी खुल्न नसक्दा कुष्ठरोग मुक्त नेपाल बनाउन चुनौती थपिएको उहाँ बताउनुहुन्छ। सरकारले सन् २०३० सम्म कुष्ठरोग मुक्त बनाउने लक्ष्य लिएको छ। 

 कुष्ठरोग के हो ?

छालारोग विशेषज्ञ डा. रविन्द्र बाँस्कोटाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरिरयम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको कम सङ्क्रामक रोग हो। यसले विशेषगरी छाला र स्नायुप्रणलीमा असर गर्ने उहाँ बताउनुहुन्छ।   

कीटाणु शरीरमा पसेपछि दुई वर्षदेखि ६ वर्षभित्र लक्षण देखाउन सुरु गर्ने उहाँ बताउनुहुन्छ। लक्षण छाला हातखुट्टा, आँखामा देखिने बाँस्कोटा बताउनुहुन्छ।

यो कीटाणुले छालामा नदुख्ने, नचिलाउने हल्का राता, फुस्रो दाग आउने डा. बाँस्कोटा बताउनुहुन्छ। 

कुष्ठरोगका दागमा छोएको थाहा हुँदैन। कीटाणुले स्नायु प्रणालीलाई कमजोर बनाउने हुँदा अङ्गभङ्ग हुने सम्भावना बढ्दै जान्छ। 

सबै उमेर समूहका मानिस कुष्ठरोगको जोखिममा हुने गर्दछन्। कुष्ठरोग कम कीटाणु भएको प्यासी ब्यासेलरी र बढी कीटाणु भएको मल्टी ब्यासिलटी गरी दुई प्रकारका हुन्छन्।

यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। उहाँ भन्नुहुन्छ ,“उपचार नगरेका कुष्ठरोग प्रभावित बिरामीसँग लामो समय सम्म सम्पर्कमा आउने व्यक्तिबाट विशेषगरी श्वासप्रश्वासको माध्येमबाट सर्छ।” 

डा. बाँस्कोटाका अनुसार उपचार नगरेका कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई यो रोग सरे पनि  हात मिलाउने जस्ता सामान्य क्रियाकलापबाट कुष्ठरोग सर्दैन। 

आँखामा असर पर्द दृष्टिविहीनसम्म हुने सम्भावन बढीहुन्छ। उहाँ भन्नुहुन्छ,“समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपाङ्गत हुनबाट बच्न सकिन्छ।”

मल्टी ब्यासिलटी कुष्ठरोगीले १२ महिनासम्म औषधीको सेवन गर्नुपर्छ भने प्यासी क्यासेलरी कुष्ठरोगीले ६ महिनासम्म औषधी खानुपर्छ।

सरकारले कुष्ठरोगको उपचार र औषधी निःशुल्क प्रदान गर्दै आएको छ। कुष्ठरोगको नियमित  उपचार पुरा गरेपछि एक हजार र अस्पतालमा भर्ना भएर उपचार गराउनेलाई थप एक हजार यातायात खर्च सरकारले उपलब्ध गराउँछ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।