• १९ असार २०८१, बुधबार

सुत्केरीलाई भत्ता र निःशुल्क स्वास्थ्य बीमा गर्ने बर्दिवास नगरप्रमुखको निर्णय

blog

वर्दिवास नगरपालिका प्रमुख पदभार ग्रहण गर्नुहुँदै । तस्विर –महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, जेठ १२ गते ।  बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट निर्वाचित भएर पदभार ग्रहण गर्नुभएका प्रह्लाद क्षेत्रीले निवर्तमान प्रमुख चढ्ने सवारी साधन एम्बुलेन्सकाे रुपमा प्रयोग गर्ने , सुत्केरी भत्ता नगरको तर्फबाट दिइने विपन्नका लागि निःशुल्क स्वास्थ्य वीमा गर्ने निर्णय गर्नुभएको छ ।

बर्दिवास नगरपालिका प्रमुखमा निर्वाचित हुनु अगावै प्रमुख क्षेत्रीले जितेपछि नगरपालिकाबाट कुनै सवारी सुविधा नलिने घोषणा गर्नु भएको थियो । 

उक्त घोषणालाई निरन्तरता दिनुहुँदै उहाँले निवर्तमान नगर प्रमुखले प्रयोग गरेको सवारी साधन एम्बुलेन्सकाे रुपमा प्रयोग गर्ने निर्णय गर्नुभएको हो । 

बर्दिवास नगरपालिकाभित्र बसोवास गर्ने आमा बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राख्नकाे अझै प्रभावकारी बनाउन नगरपालिकाबाट थप एक हजार रूपियाँ (१०००) उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख क्षेत्रीले बताउनुभएको छ । 

स्थानीय स्वास्थ्य संस्थामा प्रसुती गराउन नसकी थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा रिफर गरिएको स्वास्थ्य संस्थासम्म जान निःशुल्क एम्बुलेन्स सेवा उपलब्घ गराउने र वडाबाट सिफारिस भएर आएको गरिव र विपन्न नगर क्षेत्रभित्रका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउने निर्णय गरिएको उहाँले बताउनुभयाे । 

जनताको स्वास्थ्य सबभन्दा पहिलो आवश्यकता रहेकोले नगर प्रमुख जिम्मेवारी लिए लगतै प्रमुख क्षेत्रीले स्वास्थ्य केन्द्रित लोकप्रिय निर्णय ल्याएकोमा बर्दिवास नगरवासी खुशी भएका छन । 

नगरप्रमुख क्षेत्रीले गरेको पहिलो निर्णय नै स्वागतयोग्य रहेको स्थानीयको भनाइ छ ।