• १३ साउन २०८१, आइतबार

गौतम बुद्ध विमानस्थलमा छुट सुविधा

blog

भैरहवा, जेठ १२ गते । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी विमान कम्पनीलाई आकर्षित गर्न विभिन्न सुविधा दिइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षका लागि ती सुविधा दिने निर्णय गरेको हो ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार एक वर्षसम्मका लागि अवतरण, सुरक्षा, सञ्चार र उड्डयन सेवालगायतका शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरिसकेको छ । “अब अन्तर्राष्ट्रिय विमान कम्पनीले यहाँ सहुलियतमा अवतरण गर्ने र पार्किङ गर्ने अवसर पाउँछन्,” उहाँले भन्नुभयो । सेवा सञ्चालन गर्ने विमान कम्पनीले विमानको तौलका आधारमा विमानस्थल व्यवस्थापन गर्ने निकाय प्राधिकरणलाई यस्तो शुल्क तिर्नुपर्छ । 

हाल उडान भरिरहेको जजिरा एयरवेजको विमान ७८ हजार केजीको छ । ती सबै शुल्क छुट गर्दा उक्त विमान कम्पनीलाई एक पटकको अवतरणमा करिब एक लाख रुपियाँ छुट हुन जाने महाप्रबन्धक दाहालले बताउनुभयो । यसबाट अन्य विदेशी विमान कम्पनी पनि आकर्षित हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विश्वास लिइएको उहाँले बताउनुभयो । 

जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न वैदेशिक रोजगारीका गन्तव्य खाडी मुलुक र बौद्ध धर्मावलम्बी बाहुल्य मुलुकका वायुसेवा कम्पनीले चासो देखाएको भए पनि अन्तिम निर्णय भइनसकेको दाहालले जानकारी दिनुभयो । विभिन्न देशका वायुसेवाहरूले उडानका लागि चासो देखाएकाले आगामी दशैँसम्ममा यो विमानस्थलबाट दैनिक १० देखि १५ वटा उडान हुने अपेक्षा आफूहरूले राखेको महाप्रबन्धक दाहालले बताउनुभयो । एयर अरेबिया, भियतनाम, कम्बोडिया, थाइल्यान्डको स्माइल, ओमानको सलाम एयरलगायतका विभिन्न देशका एयरलाइन्सको संस्थाले पनि करिब एक महिनाअघि यहाँ छलफल गरेको पनि उहाँले जानकारी दिनुभयो ।

“अब एक-दुई महिनाभित्र उडान अवतरणका लागि स्वीकृति लिने सम्भावना छ,” उहाँले भन्नुभयो ।प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले धेरै कम्पनीले चासो राखेर सोधिरहेको तर लिखित प्रस्ताव हालसम्म अन्यले नपठाएको बताउनुभयो । 

नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले पनि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न चासो देखाएका छन् । कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान सुरु गरिसकेको छ । मूल रूपमा खाडी क्षेत्रमा कार्यरत कामदार र धार्मिक पर्यटनअन्तर्गत लुम्बिनीको भ्रमण गर्न इच्छुक बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्ने लक्ष्य विमानस्थलले लिएको छ । महाप्रबन्धक दाहालका अनुसार मुख्य रूपमा खाडी क्षेत्रकै विमान कम्पनीको यस क्षेत्रमा चासो रहेको छ । “त्यसबाहेक बुद्ध धर्मावलम्बी भएका देशहरूको मुख्य आकर्षण यो विमानस्थल बन्ने हाम्रो अपेक्षा हो,” उहाँले भन्नुभयो ।

चासो देखाउने विभिन्न वायुसेवा कम्पनीमध्ये साउदी अरेबियाको एयर अरेबिया पनि एक हो जसको तयारी अरू एयरलाइन्सभन्दा अलिकति अघि बढिसकेको पाइएको विमानस्थल प्रशासनले जनाएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त निर्देशक श्यामकिशोर शाहले उडानको समय यकिन नभइसकेको पनि एयर अरेबियाले आफ्नो तयारी अगाडि बढाएको बताउनुभयो । “उहाँहरूले बजार विस्तारका लागि अध्ययन गरिरहेको र विभिन्न ट्राभल एजेन्सीसँग उडान सञ्चालनबारे छलफल गर्नुभएको छ,” उहाँले भन्नुभयो ।


Author

लक्ष्मण पौडेल