• ५ जेठ २०८१, शनिबार

फुङ्लिङ नगर कार्यपालिकामा गठबन्धन विजयी

blog

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ११ गते ।
ताप्लेजुङको फुङलिङ नगर कार्यपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगर कार्यपालिका सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी भएका हुन् ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार खुला तीनसहित आठजना कार्यपालिका सदस्य चयनका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । निर्वाचन प्रक्रियामार्फत नेकपा एमालेका तर्फबाट कार्यपालिका सदस्यका प्रत्यासीहरुलाई पराजित गर्दै गठबन्धन विजयी भएको हो ।

गठबन्धनतर्फ निर्वाचित महिला सदस्यमध्ये कार्यपालिका सदस्य निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट सीता नेपाल, कमला खत्री, सविना मादेन र भीमकला दर्जी र नेकपा (माओवादी केन्द्र) बाट बिनिता राई हुनुहुन्छ । यस्तै, खुल्ला दलित वा अल्पसङ्ख्यकतर्फ नगर कार्यपालिका सदस्यमा काँग्रेसका दिनेश खबास तथा माओवादी केन्द्रका गङ्गाराम शङ्खर र साङ्गे पाल्देन शेर्पा निर्वाचित हुनुभएको छ ।

एमालेबाट प्रत्याशी बन्नुभएका निर्वाचित महिला सदस्यमध्येबाट शान्ता मादेन राई, बबिता विक, मीना आचार्य बराल, रीता दर्नाल र गङ्गा दर्नाल पराजित हुनुभएको छ । खुला दलित वा अल्पसङ्ख्यकतर्फ पनि सान्तकुमार सुनुवार, दुकुमार शेर्पा र लालुमाया सार्की पराजित हुनुभएको छ । प्रमुख र उपप्रमुखसहित ५७ जना मतदातामध्ये गठबन्धनको ३३ र एमालेको पक्षमा २४ जना मतदाता रहनुभएको थियो ।