• ८ माघ २०८१, मङ्गलबार

पूरा हुँदै विनोदको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ सपना

blog

क्रिकेट स्टेडियमको प्रारुपसहित विनोद कुँवर ।

काठमाडौँ, माघ ७ गते । विदेशी भूमिमा श्रम र सिप बेचेर कमाएको करोडौ रकम क्रिकेट मैदान निर्माणमा खर्चिनु सामान्य कुरा पक्कै होइन । 

सरकारले नै ठुलो धन राशि लगानी गरेका अधिकांश खेलकुद मैदान समयमा निर्माण हुन सकिरहेका छैनन् । एउटा सामान्य नेपाली नागरिका लागि एक्लै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन एक प्रकारको चुनौतीपूर्ण कार्य नै हो । 

तर, गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीको सामान्य परिवारमा जन्मिनुभएका विनोद कुँवरले एक्लो लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने अठोट पूरा गर्न लाग्नुभएको छ । 

विनोदको क्रिकेट प्रतिको मोहले तिलोत्तमा नगरपालिकाको वडा नम्बर–१७ दरखसवामा निर्माण गरिएको ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ ले शिलान्यास गरिएको २० महिनामा अहिले अन्तर्राष्ट्रिय स्वरूप निर्धारण गरेको छ । 

६ बिघा क्षेत्रफलमा फैलिएको क्रिकेट मैदान र मुख्य पिच निर्माण कार्य एक वर्षअघि नै पूरा भइसकेको थियो । २०८० साल जेठ २९ गते शिलान्यास गरिएको मैदान नौ महिनामै खेल्नका लागि तयार गरी २०८० फागुन २८ गते उद्घाटन गरिएको थियो । 

उद्घाटन अवसरमा आयोजित लिजेन्डस् कप क्रिकेट प्रतियोगितामा नेपालको चार टोलीले भाग लिएका थिए । जसमा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को पहिलो टी–२० विश्वकप खेलेको टोली, रूपन्देही लिजेन्डस् र रेस्ट अफ नेपालबिच प्रतिस्पर्धा भएको थियो । 

मैदानमा अहिले फर्डलाइट हाल्ने काम भइरहेको छ । एक्स्ट्राटेक ओभलमा चाँडै नै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरू आयोजना गर्न सकिने गरी निर्माण कार्यलाई तिब्रता दिइएको विनोदको भनाइ छ ।

एक्स्ट्राटेक ओभलको अवधारणा

नेपालमा क्रिकेटको माहोल चुलिए पनि भौतिक संरचनाको अवस्था दयनीय नै रहेको छ । ‘‘सरकार र चर्चित व्यापारी तथा घरानियाले क्रिकेटको संरचना निर्माणमा त्यति चासो दिन सकेको जस्तो लागेन । म आफै इन्जिनियर हुँ । मैले यसको महत्त्व बुझेको छु । विस्तारै गर्दै जाँदा आर्थिक हिसाबले पनि सम्भव हुने रहेछ,’’ अस्ट्रेलियामा बस्दै आउनुभएका विनोद भन्नुहुन्छ । 

विनोदले क्रिकेट आफ्नो प्यासन भएर पनि मैदान निर्माणमा लगानी गरेको बताउनुभयो । ‘‘मेरो बानी अरूले गर्न नसकेको काम गर्छु भन्ने छ । नेपालले विश्व मञ्चमा राम्रो क्रिकेट खेलिरहेको थियो । तर भौतिक संरचना कमजोर थियो । सरकारले सोही अनुरूप मैदान बनाउन सकिरहेको थिएन । सुरुमा करोडौँ लगानी खर्चिएर क्रिकेट मैदान बनाउन जग्गा किन्छु भन्दा परिवारले मान्नु र नपत्याउनु स्वभाविक हो ।  परिवारलाई त आफ्नो मान्छेले घरजग्गा किन्दिए हुन्थ्यो भन्ने लाग्छ । तर काम गर्दै गएपछि परिवारबाट विश्वास गरेर साथ मिल्यो । मैदानको उद्घाटन गरेपछि संसारले थाहा पायो । अरूले गर्न नसकेको काम गरेर देखाउँछु नै भनेर मैदान निर्माणमा होमिएको हुँ । अझै पूर्णता दिन धेरै काम बाँकी छ,’’ विनोद भन्नुहुन्छ । 


अष्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्दै आउनुभएका विनोदले एक्स्ट्राटेक ओभल प्रालिको नाम बाटनै मैदान बनाउनुभएको हो । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो । यसको निर्देशक विनोद आफैँ हुनुहुन्छ । उहाँलाई मैदान निर्माणमा श्रीमती सुदिक्षा गौतमले भरपुर सहयोग गर्नुभएको छ । सुदिक्षा स्वयं ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ निर्माण परियोजनाको चिफ अपरेटिङ अफिसर (सिओओ) को भूमिकामा हुनुहुन्छ । 

मैदानको हालको अवस्था

विनोदका अनुसार अहिले एक्स्ट्राटेक ओभल मुख्य मैदान नजिकै अभ्यास मैदान निर्माणको काम पनि भइरहेको छ । अभ्यासका लागि ६ वटा पिच बन्दैछ । जसमा दुई वटा पिच सिमेन्टको र चार वटा माटोको बनिरहेको छ । अभ्यास मैदान सम्याएर दुवो रोप्ने काम पनि भइरहेको छ । 

साथै मुख्य मैदानको साइडमा भिआइपी ड्रेस रुम बन्दैछ । दुई तले भवनको ढलानको काम सकिएको छ । भवनको तल पार्टेसन गरेर आवश्यक चेन्जिङ रुम बन्दैछ । 

यसैगरी एक हजार दर्शक क्षमताको भिआइपी प्यारापिट निर्माणको कार्य जारी रहेकोले एक महिना भित्र यसको निर्माण सम्पन्न भइसक्नेछ । मैदानले ओगटेको हालको ६ बिघा जग्गा अलि कम हुने भएकोले डेढ बिघा जग्गा थप्ने काममा आफु लागिरहेको जानकारी पनि विनोदले दिनुभयो । 


फर्डलाइट जडान गरिँदै

‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ अबको एक महिनामा फर्डलाइटसहित झिलीमिली हुनेछ । फर्डलाइटका लागि सम्पूर्ण ‘वेसेमन्ट’ तयार भएकोले भारतबाट सात देखि १० दिनभित्र लाइट नेपाल आई पुग्ने र एक महिनाभित्र जडान कार्य सम्पन्न हुने विनोदले जानकारी दिनुभयो । 

मैदानमा फर्डलाइटका लागि पाँच वटा पोल राखिएको छ । हरेक पोलमा ३० देखि ४० वटा बत्ती जडान गरिनेछ । एउटा पोलमा बल्ने बत्ती १५ देखि २० हजार वार्ट पावर क्षमताको हुनेछ । 

उहाँका अनुसार फर्डलाइटको खरिद प्रक्रिया पूरा भएर नेपाल ल्याउने तयारी सुरु भएको छ । एक महिनापछि परिक्षणका लागि खेल आयोजना गर्ने सोच छ । त्यसपछि रातिमा टेस्ट म्याच पनि सञ्चालन हुनेछन् । 

दुई वर्षमा २५ हजार दर्शक क्षमताको सुविधा सम्पन्न स्टेडियम 

‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ लाई अबको दुई वर्षमा २५ हजार दर्शक क्षमताको सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाइसक्ने निर्देशक विनोदले बताउनुभयो । 

‘‘नेपालमा क्रिकेट खेलको भविष्य राम्रो देखेर मैदान निर्माण गरेको हुँ । नेपाल टेस्ट राष्ट्र होस् भनेर संरचना निमार्णमा साहस बटुलेँ । विस्तारै सोचेको भन्दा लगानी बढ्ने भयो । जग्गा बाहेक ४० करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न होला भन्ने सोच थियो । प्यारापिटसहित स्टेडियमले पूर्णता पाउँदा यसमा आठ १० करोड रुपियाँ लगानी बढ्ने देखिएको छ,’’ विनोदले भन्नुभयो । 

क्रिकेट मैदानमा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर समेत रहनेछ । एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिने योजना छ । उहाँले काठमाडौँ र भरतपुरमा समयमै मैदान बन्न नसकेको कुरालाई ध्यानमा राखेर आफूले मैदान निर्माणका लागि आवश्यक रकम सुनिश्चित गरेर अगाडि बढेको पनि बताउनुभयो ।

सन् २०११ मा अध्ययनका लागि अस्ट्रेलिया जानुभएका विनोदले ‘एक्स्ट्राटेक ओभल क्रिकेट मैदान’ आफ्नो मिहेनतको प्रतिफल भएको बताउनुभयो । ‘‘विदेशी भूमिमा दैनिक १८ घण्टा काम गरेर नेपालमा केही गर्न सकेँ जस्तो लाग्छ । कम बोल्ने र काम गर्दै जाने मेरो बानी हो । काम गर्दै जाँदा सफलता पनि मिल्दो रहेछ । 

उहाँ भन्नुहुन्छ, ‘‘मैदान निर्माण भएपछि नेपाल सरकार, नेपाल क्रिकेट सङ्घ (क्यान), निजि क्षेत्र, स्थानीय निकाय र समर्थक सबैबाट हौसला पाएको छु । हेर्दैजाउँ आगामी दिनमा के कति गर्न सकिन्छ ।’’