नवलपरासी समाचारदाता
कावासोती, माघ ७ गते । बुटवल–नारायणगढ सडकखण्ड विस्तार गर्ने क्रममा सडक छेउछाउका बिजुलीको पोलमा राखिएका सिसिटिभी क्यामरा बिग्रन थालेका छन् । बिजुलीको पोल हटाउँदा सिसिटिभीले काम गर्न छाडेपछि अहिले जिल्लामा अपराधका घटना बढ्दै जान थालेका छन् ।
पूर्वी नवलपरासीको गैँडाकोटदेखि दाउन्नेसम्मका ७६ स्थानमा राखिएका सिसिटिभी अहिले सडक विस्तार गर्ने क्रममा बिजुलीको पोल सार्दा सिसिटिभी बिग्रँदा आपराधिक घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । स्थानीय प्रशासनले सबै पक्षको सहकार्यमा राजमार्गदेखि अन्य संवेदनशील क्षेत्रमा हुने आपराधिक घटना नियन्त्रणका लागि यसअघि सिसिटिभी जडान गरेको थियो ।
सदरमुकाम कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका बुटवल–नारायणगढ सडकखण्डको जङ्गल क्षेत्रमा ७६ स्थानमा सिसिटिभी जडान भए पनि अहिले ती सबै बिग्रेपछि मर्मतसम्भारको काम नहुँदा सडकदेखि हरेक संवेदनशील क्षेत्रमा आपराधिक घटना बढ्दै जान थालेको र जति सक्दो चाँडो सिसिटिभी जडानतर्फ लाग्नुपर्ने उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष दीपक सापकोटाले बताउनुभयो ।
सदरमुकाम कावासोती र आसपासमा जडान भएका सिसिटिभी जडान भएको एक वर्ष पनि नबित्दै काम नलाग्ने भएको र सडक विस्तारका कारणले पनि सिसिटिभी सार्नुपर्ने अवस्था आएकाले पोल गाड्ने काम सकिएपछि सिसिटिभी मर्मत र जडान थालिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विकास ढकालले बताउनुुभयो ।
स्थानीय प्रशासनको विशेष सक्रियतामा सुरू भएको यो अभियानले सदरमुकाम कावासोती र पूर्वपश्चिम राजमार्गमा दर्जनौँ स्थानमा र गैँडाकोट, देवचुली, मध्यविन्दुमा समेत सिसिटिभी जडान गरी पूर्वी नवलपरासीमा हुने सम्भावित घटना, दुर्घटना न्यूनीकरण गर्न सहज भए पनि हाल त्यो बिग्रेपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।अहिले सिसिटिभी नहुँदा आपराधिक घटना २८ प्रतिशतले बढेको प्रहरीले बताएको छ । यद्यपि आपराधिक घटना घट्न नदिन लागिपरेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रहरी निरीक्षक साजनकुमार शर्मा बताउनुहुन्छ ।