काठमाडौं, माघ ४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समाजिक सद्भाव फैलाउन संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । शुक्रबार एमाले निकट लोकतान्त्रिक मगर संघ नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र लोकतान्त्रिक भुजेल संघ नेपालद्वारा संयुक्त रुपमा आयोजित माघे सकराती (सङ्क्रान्ति) र माघी पर्व तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
पोखरेलले भन्नुभयो, “संस्कृति प्रकृतिसँग सम्बन्धित छ । यो कुरा बुझ्नुपर्ने आवश्यकता छ । त्यसअनुरुप हाम्रा चाडपर्व, संस्कृति सामाजिक सद्भाव फैलाउन महत्वपूर्ण छ । नेपाल बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको देश हो । अमेरिका के हो ? अमेरिका भनेको आप्रावासीले भरिएको देश हो । हामी मिलेर बस्दा शक्ति आर्जन हुन्छ । यो शक्तिले समाज र देशको रक्षा गर्छ ।”
उहाँले विश्वमा ठुला शक्तिले संस्कृति, धर्म, भाषा, परम्परासँग गाँसिएका कुरा सिध्याउन खोज्ने प्रयास समेत भइरहेको भन्नुहुँदै यसको रक्षा गर्नुपर्ने हामी सबैको दायित्व रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “ठुला शक्तिहरु के गरिरहेका छन् भने मान्छेको संस्कृति, धर्म, भाषा, परम्परासँग गाँसिएका कुरा सिध्याइदिने । यस्तो भइरहेको छ । हामीले यसको रक्षा गर्नुपर्छ ।”
उहाँले जुनसुकै जाति अन्तर्गतका कमीकमजोरीलाई हटाउँदै लैजानुपर्ने भनाइ राख्नुभयो । एकअर्काप्रति विद्वेष फैलाउने पक्षमा नेकपा (एमाले) नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वास्तवमा हरेक जातिमा विशेषता छ । बाहुन् होस् या क्षेत्री, जनजाति र जनजातिभित्रका अरु जातिहरु । परम्परासँग गाँसिएका काम नलाग्ने कुरा, कमजोरीलाई हटाउन जरुरी छ । जबरजस्ती होइन, शिक्षा, सम्झाउने, बुझाउने कुराबाट विस्तारै हुँदै जान्छ । अहिले पहिचानका नाममा विद्वेष फैलाउने, एउटा जाति अर्को जातिको शत्रुको जस्तो रुपमा खडा गर्ने काम भइरहेको छ ।एमाले यसको पक्षमा छैन ।”
पूर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य थममाया थापाले सम्पूर्ण आदिवासी जनजातिको भाष, संस्कृति जगेर्णा गर्नका लागि लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गठन भएको बताउनुभयो । महासंघले आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था के छ भन्ने बारेमा तथा भाषा, संस्कृति उत्थान गर्न मसिनो गरी योजना बनाएर अगाडि बढेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “संसारभरी भाषा, संस्कृतिको संरक्षण गर्न एमालेले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गठन गरेर आर्थिक, सामाजिक, राजनीतिक चेतना जगाउन, समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य राखेको छ ।” उहाँले देशमा मगरको सबैभन्दा बढी अर्थात् सात प्रतिशत जनसङ्ख्या भएपनि तीन प्रतिशतले मात्र मातृभाषा बोल्ने गरेको भन्नुहुँदै मगर भाषा हराउँदै गएको भनाइ राख्नुभयो ।
एमाले नेतृ मन्जुु चौधरीले आफ्नो अधिकार र पहिचानका लागि सङ्घर्ष गर्नुपर्ने विषयमा जोड दिनुभयो । राज्यमा सबै जाति, समुदायको प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाइ छ । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले आफ्नो संस्कृति जीवन्त राख्न परापूर्वकालदेखि संस्कार–संस्कृति मनाउँदै आएको बताउनुभयो ।
एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले सबै जातीय घटक सङ्गठनले अनिवार्यरुपमा शुभकामना आदानप्रदान गर्नुपर्ने निर्णय गरेकोले यही वर्षदेखि यस किसिमको कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । कुनै जात, धर्म विशेषलाई गाली गरेर पहिचानको संरक्षण नहुने यसका लागि सबैले आ–आफ्नो पक्षबाट पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
लोकतान्त्रिक मगर सङ्घ, नेपालका अध्यक्ष दिलबहादुर थापा मगरले धार्मिक एवम् सांस्कृतिक पक्षको संरक्षण एवम् सम्वद्र्धन गर्नुपर्ने भन्नुहुँदै सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा मगर र थारु समुदायका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।