• ३ माघ २०८१, बिहिबार

विद्यालयमा एक जना हेल्थ एम्बेस्डरको व्यवस्था गर्नुपर्ने

blog

काठमाडौं, माघ ३ गते । विद्यालयमा एक जना हेल्थ एम्बेस्डर (विद्यार्थी स्वास्थ्यदूत)को व्यवस्था गर्नुपर्ने भएको छ । विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका २०८१ ले नियमित पठन पाठनमा असर नपर्ने गरी कक्षा ७ र ८ मा अध्ययनरत एक जना छात्र र एक जना छात्रा सम्बन्धित विद्यालयको हेल्थ एम्बेस्डर तोक्नु पर्ने व्यवस्था गरेको छ ।

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले विद्यार्थी सङ्ख्या पाँच सयसम्ममा दुई जना र सोभन्दा बढी भएमा सोही अनुसार हेल्थ एम्बेस्डर थप गर्न सकिने व्यवस्था गरेको जानकारी दिनुभयो ।

सरकारले स्वास्थ्य समस्या समाधान गर्न र विद्यालयका माध्यमबाट अभिभावकलाई स्वास्थ्य सन्देश फैलाउने उद्देश्यले आर्थिक वर्ष २०७६/७७ देखि ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।

हाल सरकारले सातै प्रदेशबाट एक हजार ३८६ विद्यालयमा यो कार्यक्रम लागू भएको छ । निर्देशिका अनुसार हेल्थ एम्बेस्डरले विद्यालय नर्सलाई सहयोग गर्नुपर्ने छ ।

पोखरेलका अनुसार विद्यालय नर्सको सहकार्य र समन्वयमा बृहत यौतिकता शिक्षा, पोषण, खोप, किशोर, किशोरीको प्रजनन् स्वास्थ्य तथा स्वास्थ्यसम्बन्धी सामग्रीबारे हेल्थ एम्बेस्डरले विद्यार्थीहरुलाई सूचना प्रवाह गर्नुपर्नेछ ।

निर्देशिका अनुसार विद्यालय प्राथनाको समयमा आवश्यक अनुसार एक मिनेट स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्नेछ ।

विद्यालयमा आवश्यक अनुसार हेल्थ क्याम्प आयोजना गर्न सहयोग गर्ने, स्वास्थ्यका विभिन्न विषय र विपद् प्रकोपसम्बन्धी नाटक, प्रदर्शनी र हाजिरी जवाफ जस्ता सचेतना कार्यक्रम नर्ससँग समन्वय गरी सञ्चालन गर्न सहयोग गर्नुपर्नेछ ।

समन्वयात्मक भूमिका हेल्थ एम्बेस्डरले स्वास्थ्यसम्बन्धी कार्यहरु गर्नका लागी अनिवार्य  विद्यालय नर्ससँग समन्वय गर्ने, साथै विद्यार्थीहरु, बाल क्वलब, साथी शिक्षक र शिक्षक, विद्यालय व्यवस्थापन समितिसँग पनि आवश्यक अनुसार समन्वय गर्नुपर्नेछ ।

हेल्थ एम्बेस्डरले आफूलाई रोल मोडेलको रुपमा स्थापना गर्नुपर्ने छ र हरेक कक्षाको एक जना विद्यार्थीलाई साथी शिक्षाद्वारा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी मेन्टरिङग गरी थप हेल्थ एम्बेस्डर विकास गर्दै लैजानुपर्ने निर्देशिकामा उल्लेख छ । 

विद्यार्थीका लागी आवश्यक स्वास्थ्यसम्बन्धी सूचना एवम् जानकारी विद्यालय नर्सले हेल्थ एम्बेस्डरलाई अभिमुखीकरण गर्नुपर्नेछ । आवश्यकता अनुसार स्वास्थ्यसम्बन्धी तालिम, गोष्ठी र अभिमुखीकरणमा स्थानीय तहसँग समन्वय गरी हेल्थ एम्बेस्डरलाई सहभागी गराउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।