• १३ साउन २०८१, आइतबार

‘जनसहभागितामूूलक विकासमा जोड दिनेछु’

blog

सावित्री गिरी 

कोहलपुर, जेठ १० गते    बाँकेको खजुरा गाउँपालिका नवनिर्वाचित अध्यक्ष नेकपा माओवादी केन्द्रका डम्बर विकले जनसहभागितामूलक विकासलाई मुख्य रूपमा जोड दिने बताउनुभएको छ । 

जनचाहना र जनसहभागितामा हरेक विकास निर्माणदेखि सामाजिक विकासका सवालमा गम्भीर भएर काम गर्दा परिणाम राम्रो आउने भन्दै उहाँले यस्तो कुरामा जोड दिनुभएको हो । 

उहाँले प्रमुख रूपमा शिक्षा, स्वास्थ्य, स्वरोजगार, खेलकुद, नेतृत्व विकास तथा समान अवसरका सवालमा सबैलाई समेटेर काम गर्ने चाहना व्यक्त गर्नुभएको छ । 

पदभार ग्रहण गरी शुभकार्यको थालनी गरिसक्नुभएका अध्यक्ष विकले पाँच वर्षको कार्यकाललाई अवसर र चुनौती दुवै रूपमा लिनुभएको छ । यसभन्दा अगाडिका जनप्रतिनिधिले गरेका राम्रा निर्णयलाई कार्यान्वयन गर्ने र गुनासोलाई उचित सम्बोधन गर्ने उहाँले बताउनुभयो । 

खजुरा गाउँपालिकाका उत्पादनका दृष्टिकोणले उर्वर भूमि भएकाले कृषि विकासमा विशेष योजना बनाएर काम गर्छु उहाँले भन्नुभयो, “यहाँका अधिकांश स्थानीयको मुख्य पेसा कृषि हो । कृषिलाई व्यावसायीकरण गर्न सकेमा आत्मनिर्भर बन्न सक्ने प्रसस्त ठाउँ छ । मतदातासँग घरदैलो गर्ने क्रममा गुणस्तरीय विकासको माग गरेकाले यसतर्फ आफू चिन्तित भएको बताउनुभयो । यसका लागि हिजोका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता पनि उहाँले राख्नुभयो । 

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि लगानीको वातावरण र जनशक्तिको विकासमा पनि उत्तिकै ध्यान दिने उहाँको उद्घोष रहेको छ । 

उहाँले अबको पाँच वर्ष जनताको सेवक भएर बिताउने प्रण गर्नुभएको छ । ठूल्ठूला विकासका खाका कोर्नेभन्दा पनि साना र महìवपूर्ण अपेक्षा पूरा हुने खालका काम गर्न जरुरी रहेको उहाँले बताउनुभयो । 

निर्वाचित अध्यक्ष विकको राजनीतिक यात्रा निकै सङ्घर्षपूर्ण रहेको छ । विद्यार्थी जीवनदेखि राजनीतिमा होमिनुभएका विकले माओवादी जनयुद्धदेखि हालसम्मको राजनीतिक अनुभव लिइसक्नुभएको छ । 

पार्टीको बाँके जिल्ला अध्यक्ष हुँदा विकले राम्रो छवि बनाउनुभएको छ । यसभन्दा पहिले पनि खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नुभएका विक दोस्रो पटक सफल हुनुभएको हो । 

नेकपा एमालेले अध्यक्ष पद सम्हालेको पालिकामा गठबन्धन आउँछ कि आउँदैन भन्ने आशङ्काका बीचमा विकले राम्रो जनमत ल्याउनुभएको हो । यो जनमतलाई सधैँ सम्मान गरेर काम गर्ने विकले बताउनुभयो ।