• १७ पुस २०८१, बुधबार

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि

blog

रक्तसञ्चार सेवा केन्द्रले रगत परीक्षणलाई प्रभावकारी बनाउन भित्र्याएको ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन ।

काठमाडौं, पुस १४ गते । नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा आधारित नयाँ मेसिन भित्र्याएको हो ।

यस प्रविधिले दान गरिएको रगतको परीक्षण र रगत चढाउँदा हुने सङ्क्रमण (ट्रान्सफ्युजन ट्रान्समिटेड इन्फेक्सन) को जोखिमलाई घटाउने विश्वास लिइएको छ । केन्द्रीय रक्तसञ्चार सेवामा र्‍यापिड वा इलाइजा प्रविधिबाट रगत परीक्षण हुने गरेकामा गत हप्ताको बुधबारदेखि क्लिया प्रविधिबाट रगत परीक्षणको सुरुवात गरेको रक्तसञ्चार सेवाका ब्लड बैंक इन्चार्ज सञ्जीवकुमार यादवले बताउनुभयो ।

‘‘नेपालीका लागि पनि हामीले आजको दिनमा यो प्रविधि प्राप्त गर्यौं । यसको लाभ हाम्रो बिरामीहरूले लिने हो । यस प्रविधिले यदि मान्छेमा मात्र १४ दिनअघि कुनै व्यक्तिमा इन्फेक्सन भएको रहेछ भने पनि देखाउने भएकाले सहज भएके छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसले हामीलाई इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नका लागि ठुलो सहयोग पुर्‍याउने छ । यो मेसिन ल्याएको हामीले १५ दिनजति भयो तर हामीले सुरु गरेके भर्खर १० गतेदेखि हो । दुई, तीन दिन भएको छ । यसलाई निरन्तर चलाउने हाम्रो निरन्तर प्रयास रहनेछ ।’’

उहाँले यस प्रविधिले रक्तदान गर्ने मानिसको जीवाणु परीक्षण प्रभावकारी ढङ्गले हुने र शुद्ध रगतको प्रयोगको अभ्यासलाई बढावा दिने बताउनुभयो । उहाँले रगतको माध्यमबाट सर्ने एचआइभी एड्स, हेपटाइटीस लगायतका रोगहरू फैलनबाट पूर्णरूपमा रोक्न क्लियाले सहयोग गर्ने जानकारी दिनुभयो ।

यसअघि र्‍यापिड वा इलाइजा प्रविधिबाट रक्तदाताको तीनदेखि ६ महिनाको रगतको इन्फेक्सन थाहा पाइँदै आएकोमा १५ दिन अघिको रगतको सङ्क्रमण थाहा पाउन सकिने इन्चार्ज यादवको भनाइ छ । उहाँले क्लिया प्रविधिले इन्फेक्सन भएको ब्लड ट्रान्सफर रोक्नका लागि ठुलो सहयोग पुर्‍याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मेसिनलाई हामीले क्लिया भन्छौं । यसभन्दा पहिले हामीले इलाइजा प्रविधिमा रगत जाँच गर्ने गर्दथ्र्यौं । त्योभन्दा पहिलेको कुरा गर्ने हो भने हामी आरडिटी मेथडबाट रगत चाँज गर्नका लागि र्‍यापिड विधिबाट छिटोछरितो तरिकाबाट गर्ने गर्दथ्यौं । तर दुईवटै प्रविधिहरूमा निकै फरक रहेछ । कसैले पनि रक्तदान गरिसकेपछि ब्लड बैंकको दायित्व भनेको सेफ ब्लडको अभ्यास गर्नु रहेछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यो विश्व स्वास्थ्य सङ्गठनले भनेको हो ।

पछिल्लो समय रगतको माग बढ्दै गए पनि ब्लड बैंकहरूले गुणस्तरीय जाँच (स्क्रिनिङ) नगर्दा सङ्क्रमणको रागेहरूको जोखिम बढेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठ्दै आएका थिए । रगत परीक्षणका लागि नेपालको क्लिया प्रविधि कोसेढुङ्गा सावित हुने उहाँको विश्वास छ ।

त्यस्तै, नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले आफूहरूको मुख्य उद्देश्य रगतको सुरक्षालाई बढावा दिनु रहेको उल्लेख गर्दै क्लिया प्रविधिले सहयोग गर्ने बताउनुभयो । क्लिया प्रविधि भित्रिएसँगै रगतको सुरक्षा गुणात्मक रूपमा बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो विन्डो पिरियडमा छिटो डिटेक्ट गरेर रगतको सुरक्षालाई बढाउने हो । यदी हामीले रगतजाँचका अन्य प्रयासहरू गर्‍यौं भने ६ महिनाका लागि विन्डो पिरियड डिटेक्ट गर्छ एलाइजा गर्यो भने तीन महिनाको गर्छ । त्यसो हुँदा त ९० दिनमा पनि कोहीमा इन्फेक्सन भयो भने डोनेसन गर्नसक्छ । यो क्लिया मेथोडोलोजि हो । यसले १२ देखि १५ दिनको इन्फेक्सनलाई डिटेक्ट गर्छ । १८० दिनबाट हामी १२ दिनमा पुगेका छौं ।’’

निर्देशक गुप्ताले उक्त प्रविधिको माध्यमबाट रगतको माध्यमबाट सर्ने रोगहरूलाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले विस्तारै रेडक्रसका देशभर रहेका रक्तसञ्चार सेवामा यस्तो प्रविधि जडान गर्न जरुरी रहेको बताउनुभयो । देशभरका रक्तसञ्चार केन्द्रहरूमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्ने पहलको सुरुवात भएको उहाँको भनाइ छ ।

निर्देशक गुप्ताले भन्नुभयो, ‘‘रगतको सुरक्षा गुणात्मक रूपमा बढ्यो । यसले चार वटा इन्फेक्सिक डिजिजलाई रगतको माध्यमबाट सर्नका लागि बढीभन्दा बढी होशियारी अपनाउन सक्छौं । यो मेसिन केन्द्रीय कार्यालयमा मात्र चलाएर हुँदैन । यस्ता मेसिनहरू देशभर एकैनासको हुनुपर्दछ । त्यसैले देशभर जति पनि रक्तसञ्चार केन्द्रहरू छन् सबैमा क्लिया मेथोडोलेजीबाट रक्तजाँच गर्नुपर्छ भन्ने कुराको पहल हामीले सुरुवात गरेका हौं ।’’

यसअघि उक्त केन्द्रमा रगतको सुरक्षित प्रोटोकल तथा मापदण्डको परिपालनामै गम्भीर त्रुटि हुने गरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको थियो ।