गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १५ गते । मुलुकका विभिन्न स्थानमा रासायनिक मल अभाव भइरहेको समाचार आइरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने धानबालीका लागि पर्याप्त मौज्दात रहेको जनाएको छ । धान बालीलाई उपयोग गर्ने गरी ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दातमै रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार यसबाहेक धानबालीकै लागि ८६ हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी मल आउने क्रममा रहेकाले पनि धानबालीका लागि मल अभाव हुने छैन । “कृषि सामग्री कम्पनी लिमिटेडसँग ४९ हजार १२९ मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीसँग ११ हजार ५८३ मेट्रिक टन मल मौज्दात छ,” मन्त्रालयले उपलब्ध गराएको सूचनामा भनिएको छ । मौज्दातमध्ये २६ हजार ४१२ मेट्रिक टन युरिया, २५ हजार ६८७ टन डिएपी र पोटास ८६ हजार १२ टन रहेको छ ।
धान सिजनका लागि (जेठ–असोज) सम्म एक लाख ६० हजार मेट्रिक युरिया, ९० हजार डिएपी, १० हजार मेट्रिक टन पोटास गरेर साढे दुई लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । बर्खे बालीमा धान, तरकारी र उखुमा रासायनिक मलको प्रयोग गरिन्छ । ३४ हजार मेट्रिक टन युरिया कोलकत्ताबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यस्तै ३० हजार मेट्रिक युरिया कोलकत्ता भित्रिसकेको छ । २२ हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी पनि सिपमेन्ट भइसकेकाले २५ असारसम्म कोलकत्ता आइपुग्ने बताइएको छ ।
मन्त्रालयका अनुसार चालु आव २०८१/८२ को साउनदेखि १२ असारसम्म तीन लाख ६३ हजार २३६ मेट्रिक टन मल आयात भएको छ । जसमा कृषि सामग्री कम्पनी लिमिटेडले दुई लाख ९८ हजार ३८७ मेट्रिक टन र साल्ट टे«डिङ कर्पोरेसनले ६४ हजार ८४९ मेट्रिक टन मल आयात गरेको छ । चालु आवमा रासायनिक मलका खरिद गर्न सरकारले २७ अर्ब ९७ करोड रुपियाँ बजेट छुट्याएको थियो । जसबाट पाँच लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य थियो । सरकारसँग मलको मौज्दात रहको भनिए पनि स्थानीयस्तरमा किसानले भने धान बालीका लागि सहजै रूपमा मल पाउन सकेका छैनन् ।