• १५ असार २०८२, आइतबार

समृद्धितर्फको यात्रा

blog

देशमा केही भएन, केही गरिएन भन्ने नकारात्मक सोच भएका नागरिकको अभाव छैन । कहीँ कतै आशाको टुकी बल्न थाल्यो भने पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्ने आदत आजपर्यन्त अभाव नै छ । गत साता मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा भन्नुभएको थियो, “म यस देशको विकासका लागि निरन्तर अघि बढेको छु, खटेको छु तर एकथरीले मलाई गाली गर्नु मात्र मिसन बनाएका छन् । म छक्क पर्छु ।” साँच्चै हाम्रो अवस्था प्रधानमन्त्रीले भन्नुभए जस्तो छ । आफ्नो मानो खाएर अर्कोलाई सत्ते सराप गर्नु अधिकांश नेपालीको दिनचर्या नै बनेको छ । हरेकसँग निरासा र नकारात्मक भावना एवं असहिष्णु प्रवृत्ति हाबी बन्दै गएको छ । यो आजको सबैभन्दा ठुलो समस्या हो । नकारात्मक चिन्तनबाट सकारात्मक प्राप्ति सम्भव छैन । 

आशा जगाउने काम 

भनिन्छ, जहाँ भ्यागुतो बस्छ, त्यहाँ कमल पनि फुल्छ । हामीकहाँ निराशाका बिचमा पनि आशा जगाउने थुप्रै काम भएका छन् । तिनलाई प्रचारप्रसार गर्ने काममा तीव्रता दिन जरुरी छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना सरकारले गरेको छ । उक्त परिकल्पनालाई विभिन्न कार्यक्रम, विकास, निर्माण र सकारात्मक सोचका साथ सार्थक तुल्याउनु आजको आवश्यकता हो । यसका लागि विकास अभियानमा सरकारलाई साथ दिनु आमनागरिकको कर्तव्य पनि हो । केही हुँदैन, केही भएकै छैन भन्ने गलत तर निराशाजनक भाष्यका बिच अघिल्लो साता दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा १ सय १२.१ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पत्ता लागेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठुलो तथा महत्वपूर्ण उपलब्धि हो । खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सिएनपिसी सिबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदन अनुसार ठुलो परिमाणमा मिथेन ग्यास भएको पत्ता लागेको हो । 

चिनियाँ विज्ञ टोलीले गरेको अध्ययन अनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास पत्ता लागेको छ । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री ओलीले उक्त ग्यास एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी गम्भीरतापूर्वक लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै आवश्यक बजेट र सहजीकरणका लागि सरकारबाट कुनै कमी नहुने बताउनुभएको छ । 

प्रधानमन्त्रीले पूर्वी नवलपरासीमा फलाम खानीको सम्भाव्यता अध्ययनका लागि धौँवादी फलाम कम्पनी लिमिटेडले ड्रिलिङ कार्य गरिसकेकाले उक्त कार्य पनि अघि बढाउन निर्देशन दिनुभएको छ । उहाँले २०८५ सालअघि नै फलाम/स्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी अघि बढ्न सुझाउनुभएको छ । उक्त क्षेत्रमा नेपालका लागि आगामी एक सय वर्षलाई पुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने सो कम्पनीले जनाइसकेको छ । 

देशको आर्थिक समृद्धिका लागि यी दुई उपलब्धि चानेचुने होइनन् । विगतमा किनेर बिजुली बाल्ने नेपालले आज भारत र बङ्गलादेशलाई बिजुली बेच्न सक्ने सामथ्र्य हासिल गरेको छ । दैलेखमा पत्ता लगाइएको उक्त ग्यास र पूर्वी नवलपरासीको फलाम उत्खनन्ले सार्थकता पाउँदा साथ आर्थिक हिसाबले देशले काँचुली त फेर्छ नै, छिमेकी देशलाई पनि ग्यास बेच्न सक्ने हैसियत नेपालले राख्छ । यसलाई कम उपलब्धि आँक्न मिल्दैन । ग्यास र फलाममा आत्मनिर्भरताको सम्भावनाले सरकारले तय गरेको समृद्धिको यात्रालाई पूरा गर्न सघाउने छ । 

आत्मनिर्भरताको अपेक्षा 

यद्यपि अहिले यी दुवै परियोजना परीक्षणकै चरणमा छन् । तथापि एउटा भिन्दै सुखानुभूति प्रारम्भिक परीक्षणको नतिजाले दिएको छ । दैलेखमा ग्यास उत्पादनको कामले सार्थकता पाएको खण्डमा मुलुक नै आत्मनिर्भर बन्न सक्छ । ग्यासको व्यावसायिक उत्पादन थालिए नेपालको आर्थिक भार घट्ने मात्र होइन, विदेशी मुद्रासमेत आर्जन हुन सक्छ, जसले राष्ट्रिय अर्थतन्त्रमा ठुलो योगदान पु¥याउने छ । सरकारलाई ठुलो मात्रामा राजस्व प्राप्त हुन्छ, विदेशी लगानीको आकर्षण बढ्छ र प्रविधि हस्तान्तरणका लागि अवसर खुल्छ । व्यावसायिक उत्पादन सुरु भएपछि ठुलो सङ्ख्यामा स्थानीय रोजगारी उपलब्ध हुने र पूर्वाधार विकासमा पनि टेवा पुग्न सक्ने प्रशस्त सम्भावना छ । 

ग्यासको व्यावसायिक उत्पादन थालिएपछि नेपालले भारत र चीन दुवैबाट रणनीतिक भूराजनीतिक लाभ लिन सकिने सम्भावना पनि उत्तिकै प्रबल छ । दैलेखलाई तेल प्रशोधन संयन्त्र निर्माण गरेर क्षेत्रीय ऊर्जाको केन्द्र पनि बनाउन सकिन्छ, जसले गर्दा आयात प्रतिस्थापन र व्यापार घाटा न्यूनीकरणमा पनि ठुलो टेवा पुग्ने छ । दैलेख र यस वरपरका क्षेत्रलाई सहायक उद्योग र नवीन उद्यमको विकास गरी कर्णालीको ठुलो जनसङ्ख्यालाई समेत यहाँ रोजगारी दिन सकिने अवस्था आउन सक्छ । कर्णालीकै लागि यो परियोजना वरदान बन्न सक्छ । मिथेन ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न, हाइड्रोजन छुट्याएर अमोनिया ग्यास निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिने विज्ञहरू बताउँछन् । नेपालबाट हरेक वर्ष खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायतका ऊर्जाजन्य वस्तु आयातमा अर्बौं रुपियाँ बिदेसिने गरेको छ । यस्तो अवस्थामा नेपालमै मिथेन जस्तो ऊर्जाको स्रोत फेला पर्नु आशाको सङ्केत मात्र होइन, नेपालको समृद्धि यात्राको संवाहक पनि हो । 

संसारका अन्य देशले मिथेन ग्यासलाई पाइपलाइनमार्फत घर घरमा पु¥याउन तथा ग्यासबाट चल्ने गाडीमा र उद्योग कलकारखानामा प्रयोग गर्ने गर्छन् । नेपालले पनि यस्तै खालको प्रविधि अपनाउन सकेमा, दैलेखको मिथेन ग्यास आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । प्रारम्भिक प्रतिवेदनले सकारात्मक सङ्केत देखाए पनि यो अझै वैज्ञानिक परीक्षण र गुणस्तर मापनको प्रक्रियामा छ । अन्तिम प्रतिवेदनले मात्र ग्यासको मात्रा, गुणस्तर, प्रयोगको तरिका र उत्खननको लागतबारे स्पष्ट जानकारी दिने छ । आशा गरौँ, हामीले अपेक्षा गरे अनुसार नै परिणाम देखिने छ । 

 ग्वार्कोमा अर्को उपलब्धि

काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा गत ६ असारदेखि ‘ओभर पास’ सञ्चालनमा आएको छ । गत साता प्रधानमन्त्री ओलीले यसको विधिवत् रूपमा उद्घाटन गरेसँगै यो सञ्चालनमा आएको हो । सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो । यसले चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मङ्गलबजार, इमाडोल र लुभूमा कुद्ने सवारीलाई सुरक्षित, सहज तथा व्यवस्थित बनाएको छ । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले नेपाल पनि विकसित देशसरह हरेक कुरामा अघि बढिरहेको बताउनुुभएको थियो । हेर्दा सामान्य भए पनि यस किसिमका कामले देशलाई चिनाउनमा थप मद्दत गर्छ । 

सुरुङमार्ग अर्को उपलब्धि 

सरकार राजमार्गलाई विस्तार गर्ने अभियानमा लागेको मात्र छैन, कठिन स्थानमा सुरुङमार्गसमेत बनाएर आवागमनलाई सहज तुल्याएको छ । सडक विस्तारका क्रममा देखिने जाम, एकतर्फी आवागमनका कारण केही समय असहज, कठिन महसुस भए पनि कालान्तरमा यस्ता कामले सुखद परिणाम नै दिन्छन् भन्ने कुरामा शङ्का गरिरहनु पर्दैन । 

करिब एक वर्षअघि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित सिद्धबाबा मन्दिरदेखि बुटवल पावर हाउससम्म एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणमा ‘ब्रेक थ्रु’ भएको छ । योसँगै नेपाल त्यतिबेलादेखि सुरुङमार्गमा प्रवेश गरिसकेको छ । यो हाम्रो गौरव गर्नलायक अर्को गाथा हो । भौतिक पूर्वाधारको क्षेत्रमा नौलो अभ्यास मानिएको सुरुङमार्गको ‘ब्रेक थ्रु’ लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजनाले उत्सवका रूपमा कार्यव्रmम आयोजना गरी मनाएका थिए । यो सुरङमार्गले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सहज बनाउने छ । यसका अलावा पहाडी जिल्लाको उत्पादनलाई बुटवलसम्म ल्याई बिक्री वितरण गर्नसमेत सहज हुने छ । 

यसका अतिरिक्त अन्य थुप्रै सकारात्मक कामको थालनी भएको छ । चाहे त्यो सिस्नेरी नागढुङ्गा भूमिगत सडक खण्ड होस् वा तराईलाई काठमाडौँसँग जोड्ने द्रुतमार्ग हुन्, यी सबैले देशको विकासको गतिलाई प्रतिनिधित्व गरिरहेका छन् । उडान नियमित हुन बाँकी नै छ, तथापि पोखरा र लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र पहुँचमा सुगमता प्रदान गर्न सघाइरहेका छन् । राम्रा कामले निरन्तरता पाउन जरुरी छ । थालिएका काम, जुन देशको आर्थिक विकास र समृद्धिका वाहक मानिन्छन्, तिनलाई छिटो पूरा गर्न जरुरी छ । कुनै पनि बहानामा आयोजना रोक्ने, काममा ढिलाइ गर्ने प्रवृत्ति अन्त्य गरी समृद्धिको यात्रामा अघि बढ्न अब ढिलाइ गर्नु हुँदैन ।