लमजुङ समाचारदाता
लमजुङ, असार १५ गते । सारङ्गी रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लट्ठ बनाउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले मनोरञ्जन र सुसूचित गर्ने चलन थियो तर त्यो सुमधुर सारङ्गीका धुन आजभोलि गाउँ तथा सहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ ।
सारङ्गी बजाउने पेसा सङ्कटमा पर्न थालेकोमा गन्धर्व समुदाय चिन्तित बनेका छन् । सञ्चारको सुविधासँगै घर घरमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच पुगेपछि गन्धर्वको सारङ्गीको धुन र गीत सुन्ने श्रोता कम हुँदै गएका हुन् ।
लमजुङका गाउँघरमा कुनै बेला विरहका गीत सङ्गीत सुनाउँदै हिँड्ने गन्धर्व अहिले कमै मात्रामा भेटिन्छन् । समाजले उनीहरूको पेसालाई मागी खाने भाँडोका रूपमा हेरेका कारण अहिले यो पेसा सङ्कटमा पर्दै गएको हो । सामाजिक हेय खपेर भए पनि पुर्खाले निरन्तरता दिएको र पेसालाई छोड्न नसकेको राइनास तार्कुघाटका चित्रबहादुर गन्धर्व बताउनुहुन्छ । आजभोलि पढेलेखेका गन्धर्र्व भने यो पेसाप्रति आकर्षित छैनन् । पढ्न नसकेका यो पेसालाई चटक्कै छोड्न पनि सकेका छैनन् । आर्थिक अभावकै कारण पढाइमा निरन्तरता दिन नसकेपछि पुर्खाको पेसा अँगाल्न बाध्य भएको गोविन्द गन्धर्वले बताउनुभयो ।
सारङ्गी रेटेर गीत गाउँदै मेची महाकाली डुलेर जीविकोपार्जन गरेको गन्धर्वको अनुभव छ । दैनिक पाँच सयदेखि एक हजार रुपियाँसम्म नगद, केही चामल र तरकारी आम्दानी हुने उहाँहरू बताउनुहुन्छ । सारङ्गी रेटेर कमाएको रकमले परिवार पाल्न सहयोग पुग्ने गरेको थियो । गन्धर्व समुदायले परम्परादेखि नै गाउँदै आएको कर्खगाथा, मालाश्री, आरती, स्तुति, कृष्ण जन्म अवतार, रामायणलगायतका मुख्य भाका पेसासँगै सङ्कटमा छन् । जुनसुकै समुदाय वा जातिको संस्कृति राष्ट्रको महìवपुर्ण सम्पत्ति हो । यसैले लोप हुने अवस्थामा पुगेको गन्धर्वको पेसा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व रहेको सरोकारवालाले बताउने गरेका छन् ।