जीवछ यादव
लहान, साउन १८ गते। लहान नगरपालिका–४ खुटी नदी र बलान नदी मिल्ने दोभानको सुकुम्वासी बस्ती इलामपुर र सुन्दरपुरमा कटान सुरु भएको छ। शनिबार राति वर्षा भएपछि मध्य रातमा आएको बाढी बस्तीमा नै पस्ने हो कि भन्ने भयले स्थानीय रातभर जग्राम बसेका छन्।
मो. हसनेम अनसरीको अनुसार अकाशमा बादल देखेपछि ३० घर परिवार मुस्लिम समुदाय र ४५ घर परिवार हिन्दु समुदाय रहेको सुन्दरपुवासी विगत पाँच वर्षदेखि यो नियति भोग्दै आएका छन्।
खुटी र बलान नदीको बाढी सुन्दरपुर र इसलामपुरमा पसेर बलान नदी पश्चिमतर्फ कटान तीव्र बनाएर सयौं बिघा उर्वर जग्गामा बालुवा थुपर्ने समस्या रहेको गुनासो स्थानीयले गर्दै आएका छन्।
गतवर्ष मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी कटान क्षेत्रको अवलोकन गरेर कटान नियन्त्रणको लागि आश्वासन दिनुभएको थियो। तर कटान नियन्त्रणका लागि अझैसम्म कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन। तटबन्ध निर्माणका लागि जेठ महिनामा ठेकेदारसँग सम्झौता भए पनि उनी बेपत्ता छन्। त्यसपछि कुनै काम हुन सकेको छैन।