गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १५ गते । बलदेव थापाद्वारा लिखित ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) र ‘कुराको सास्ती’ (व्यङ्ग्य कवितासङ्ग्रह) सार्वजनिक भएका छन् । ‘बा’ को वाम’ (ऐतिहासिक परिचय) पुस्तकमा भक्तपुर जिल्लामा पर्ने गुण्डु क्षेत्रको विस्तृत परिचय गराउनुका साथै लेखकका पिता समाजसेवी हरिबहादुर थापा र राजनीतिकर्मी पद्मबहादुर बुढाथोकीको योगदानका बारेमा चर्चा गरिएको छ । विशेषतः किसान आन्दोलनलाई केन्द्रमा राखिएको पुस्तकमा राजनीति, साहित्य, पत्रकारिता र समाजसेवा क्षेत्रमा लागेका त्यस भेगका व्यक्तित्व लेखनाथ न्यौपाने, युद्धप्रसाद मिश्र, भैरव रिसाल, गणेशबहादुर राउत, अङ्गीरस उपाध्याय, नेत्रनाथ शर्मा, विष्णुबहादुर खड्का, होमशङ्कर ढुङ्गेल आदिका विषयमा पनि जानकारी गराइएको छ । पञ्चायतकालीन राजनीति र वर्तमान सामाजिक अवस्थाको झल्को पनि पुस्तकले दिएको छ ।
‘कुराको सास्ती’ (व्यङ्ग्य कवितासङ्ग्रह) मा ३८ वटा कविता र २८ वटा मुक्तक छन् । कविता र मुक्तकमा देशको अवस्थामाथि संवेदनशील नागरिकको चिन्ता प्रकट गरिएको छ । राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा देखा परेका अनेक प्रकारका विकृति र विसङ्गतिलाई लेखकले सङ्ग्रहमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । पुस्तकभित्र लेख्य भाषामा भन्दा कथ्य भाषामा बढी जोड दिइएको छ । कविता छोटा छोटा छन् । मुक्तकहरू हरफका छन् । दुवै पुस्तकलाई शब्दयात्रा प्रकाशनले प्रकाशित गरेको हो ।