• १५ असार २०८२, आइतबार

एसइईको सुखद सन्देश

blog

पछिल्ला वर्षमा चित्तबुझ्दो नदेखिए पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) को यस पटकको नतिजाले विद्यालय शिक्षासँग सरोकार राख्ने धेरैलाई उत्साह जगाइदिएको छ । नतिजामा देखिएको उत्साहजनक सफलताले विद्यार्थी, शिक्षक, अभिभावकलाई हर्षित र गौरवान्वित तुल्याएको छ । यो सफलताले शिक्षा क्षेत्रमा गरिएको लगानी, मेहनत र समर्पणले सार्थकता पाउन थालेकोतर्फ सङ्केत गरेको छ । यस पटक एसइईमा नियमिततर्फ चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भए । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् । अघिल्लो सालको तुलनामा यस वर्ष १३.९५ प्रतिशतको उल्लेख्य वृद्धि हुनु समग्र शैक्षिक क्षेत्रकै लागि सकारात्मक सन्देश हो । गत वर्ष ४७.८६ प्रतिशतमा सीमित रहेको उत्तीर्ण दर यस पटक ६१.८१ प्रतिशत पुगेको छ । यो सफलतालाई कुनै एक पक्षको मात्र नभई सबैको सामूहिक प्रयासको प्रतिफलका रूपमा बुझ्नु पर्छ । 

गत वर्षको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएपछि सरोकारवाला सबैको ध्यान यस पटकको नतिजा सुधार गर्नु पर्छ भन्नेतर्फ केन्द्रित भएको थियो । उक्त घटनाबाट पाठ सिकेर शिक्षण सिकाइ क्रियाकलापमा व्यापक सुधार गरिएको थियो । त्यति मात्रै होइन, एसइईमा सहभागी हुने विद्यार्थीलाई लक्षित गरेर सरकारले अनलाइनमार्फत विशेषज्ञ शिक्षकको सहयोगमा तयारी कक्षाहरू पनि सञ्चालन गरेको थियो । उक्त कक्षामा जोडिएका हजारौँ विद्यार्थीहरूको मेहनत र विशेषज्ञ शिक्षकहरूको अथक प्रयास नतिजा सुधार आउनुको थुप्रै कारणमध्येका एक हुन् । एसइईको नतिजा प्रकाशनमा राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि नयाँ व्यवस्था गरेको थियो । उक्त व्यवस्था अनुसार सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत र आन्तरिकतर्फ न्यूनतम ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थीलाई मात्रै ग्रेडेड समूहमा राख्ने गरिएको छ । गत वर्ष पहिलो पटक लागु गरिएका कारण धेरै परीक्षार्थी अनुत्तीर्ण भएको र सोही अनुत्तीर्ण दरलाई हेरेर विद्यार्थीमा पढ्ने बानीको समेत विकास हुँदा नतिजा अहिले सुधारिएको विश्लेषण पनि गरिएको छ । यी सबै तयारीका आधारमा सरकारले यस पटक एसइईमा न्यूनतम ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउने लक्ष्य लिएको थियो । अहिलेको नतिजा सरकारी लक्ष्यको हाराहारी नै पुगेको मान्नु पर्छ । अनुत्तीर्ण भएका परीक्षार्थीका लागि बोर्डले साउन २९ गतेबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । उक्त परीक्षामा सहभागी परीक्षार्थीको उत्तीर्ण प्रतिशतलाई समेत आधार मानेर गणना गर्ने हो भने यस पटकको नतिजा सरकारी लक्ष्यभन्दा पनि बढी हुने देखिन्छ । 

अहिले कुल सरकारी बजेटको सबैभन्दा धेरै रकम शिक्षा क्षेत्रमा खर्च हुने गरेको छ । शिक्षामा छुट्याइएको रकम पनि सबैभन्दा धेरै विद्यालय तहमा खर्च हुने गरेको छ । यति धेरै रकम खर्च हुँदाहुँदै हरेक वर्ष मुस्किलले ५० प्रतिशत विद्यार्थी पनि एसइईमा उत्तीर्ण हुन नसक्दा समग्र शिक्षामा गरिएको खर्चकै विषयमा प्रश्न उठ्ने गरेको थियो । किनभने विद्यालय तहको उपलब्धिलाई एसइईको नतिजासँग जोडेर विश्लेषण गर्ने परिपाटी अहिले पनि कायमै छ । यी सबै टीकाटिप्पणीको एकमुस्ट जवाफ यस वर्षको एसइई नतिजाले दिएको छ तर एसइईमा उच्च अङ्कका साथ परीक्षार्थी उत्तीर्ण भए भन्दैमा चित्त बुझाएर बस्ने अवस्था भने छैन । किनभने अहिले पनि कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै स्वदेशमा सम्भावना नदेखेर बिदेसिने विद्यार्थी सङ्ख्यामा हरेक वर्ष वृद्धि भइरहेको छ । विद्यार्थी बिदेसिनुका विविध कारण भए पनि स्वदेशमा प्रशस्त सम्भावना नहुनु र उनीहरूलाई सिपमूलक शिक्षा प्रदान गर्न नसक्नु एउटा कारण हो । विद्यार्थीलाई उच्च अङ्कका साथ उत्तीर्ण गराएर प्रमाणपत्र दिने तर सिप दिन नसक्ने शिक्षाको औचित्य पुष्टि गर्न अब निकै कठिन छ । अबको ध्यान त्यतातर्फ केन्द्रित गर्नु आवश्यक छ । समग्रमा एसइईको यो सुधारिएको नतिजाले देशको शैक्षिक भविष्यप्रति आशाको दियो बालेको छ । यो सकारात्मक लयलाई कायम राख्दै अझ गुणस्तरीय र जीवनोपयोगी शिक्षाका लागि सबैले आआफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्ने देखिन्छ ।