गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १३ गते । सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र सुधार हुँदै गएको बताउनुभयो । विश्वमा छरिएर रहेका नेपालीलाई एउटै स्वास्थ्य प्रणालीमा जोड्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको ‘नेपाल स्वास्थ्य सम्मेलन’ समापन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र पूर्ण रूपमा सुधार गर्न नेपाल बाहिर र भित्र बसेका सबै नेपालीको योगदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग गर्न के कुराले समस्या भयो, बाहिर बस्ने नेपालीलाई नेपाल फर्किन के कुराले रोक्यो, नेपाल फर्कन चाहनेलाई फर्किने वातावरण कसरी बनाउन सकिन्छ, नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्न सकिने उपाय खोज्नुपर्ने समय आएको बताउनुभयो । उहाँले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको जानकारी दिँदै नेपाल बाहिर र भित्र रहेका सबै जनशक्ति मिलेर नेपालको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य बिमा, जनशक्ति वृद्धि, औजार मर्मतलगायत विषयमा कार्य भइरहेको बताउनुभयो । मन्त्री पौडेलले बिमा, औषधी, जनशक्ति वृद्धिलगायतमा काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सम्मेलन नेपालको स्वास्थ्य प्रणालीलाई अझ व्यवस्थित तथा मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले सम्मेलनको प्रमुख उद्देश्य नेपालको स्वास्थ्य प्रणालीलाई विश्व स्वास्थ्यसँग जोड्नु रहेको भन्दै स्वास्थ्य साझेदारी प्रवर्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतीबारे छलफल गरिनुपर्ने बताउनुभयो । सचिव डा. पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने जानकारी दिनुभयो ।
सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएको बताउनुभयो । काठमाडौँमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलन नेपालको स्वास्थ्य प्रणालीलाई अझ व्यवस्थित तथा मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको थियो ।