• १२ पुस २०८१, शुक्रबार
blog

काठमाडौँ, पुस १२ गते । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने कार्यमा बदनियत राखेर सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि नहुने फैसला गरेको छ । 

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख १८ गते गरेको फैसलाको पूर्णपाठमा सुनको जलहरी निर्माण गर्दा कुनै किसिमको भ्रष्टाचार नभएको ठहर गरेको हो । 

विशेषको फैसलामा समान भूमिकामा रहेका समान जिम्मेवारी लिएका सोहीस्तरका व्यक्तिमाथि कसैउपर मुद्दा चलाउने र कसैउपर नचलाउने निर्णय गरी असमान ढङ्गले आरोपित गरिए त्यो व्यक्ति छानेर गरिएको (चयनात्मक) अभियोजन हुने प्रस्ट पारिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते दायर गरेको रिटमा फैसला गर्दै विशेष अदालतले नेपाली सेनासहित सुरक्षा निकायको घेराभित्र निर्माण गरिएको जलहरीमा कुनै किसिमको अनियमितता हुने अवस्था नदेखिएको प्रस्ट पारेको छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई विपक्षी बनाई मुद्दा दायर भएको थियो । सदस्यसचिव डा. थापा जलहरी निर्माण गर्दा संयोजक एवं कोषका कोषाध्यक्ष हुनुहुन्थ्यो । तर, आयोगको २०८० असोज ६ गतेको बैठकले निर्णयको पृष्ठ १९ मा कोषका तत्कालीन सदस्य भगवतीप्रसाद देव पनि अनियमिततामा संलग्न रहेको दाबी गर्दै मुद्दा चलाउनुपर्ने निर्णय गरेको थियो । 

विशेष अदालतले सदस्यसचिव डा. थापा, तत्कालीन सदस्यसचिव ढकाल र विसेट नाइके श्रेष्ठलाई मात्रै मुद्दा लगाएको सन्दर्भमा फैसलामा भनेको छ, “कुनै पनि व्यक्तिउपर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्दा वस्तुनिष्ठ आधार र कारण उल्लेख गरिनु पर्दछ । यी आधारबिना त्यस्तो कार्य शङ्कास्पद हुन्छ र त्यसको परिणाम पनि सत्य धरातलीय यथार्थबाट विमुख भई अन्ततः विश्वासनीय हुँदैन ।”

अदालतले सेफको चाबी जिम्मा लिने कसैउपर दाबी गरिएको र कसैउपर नगरिएको अवस्था देखिँदा के कति कारणबाट त्यसो गरिएको हो भनी अभियोजकले सन्तोषजनक प्रमाण कागजहरू प्रस्तुत गर्नुपर्ने दायित्व रहने फैसला गरेको छ । फैसलामा भनिएको छ, “यस सन्दर्भमा समान रूपमा र स्वच्छ अनुसन्धान भएन भनी प्रतिवादीतर्फका विद्वान् कानुन व्यवसायीले उठाउनुभएको तर्कमा पनि दृष्टिगोचर गर्नुपर्ने देखिएको छ ।” 

अदालतले अनुसन्धानका क्रममा २०८० असार २१ गतेको मुचुल्कामा उल्लिखित ६२३ ग्राम सुनको तौलसमेत जोड्नुपर्नेमा सो सुनलाई समावेश गरेको नदेखिएको फैसला गरेको छ । फैसलामा भनिएको छ, “उल्लिखित सुनलाई समावेश गरी गणना गर्दा प्रयोग भएको सुनको परिमाण फरक पर्नेमा विवाद रहेको देखिँदैन । अनुसन्धानमा प्राप्त सुनलाई अभियोजन पक्षबाट किन समावेश गरिएन ? सो प्रश्न पनि जीवितै रहेको छ ।”

फैसलामा कोष सञ्चालक परिषद्को २०७७ माघ १४ गते बसेको बैठकले जलहरी निर्माणका लागि नेपाल राष्ट्र बैङ्कबाट खरिद गरी टिनको बाकसमा लाहाछाप लगाई ल्याइएको ६४१६३.४०० ग्राम सुन नेपाली सेनाको सुरक्षामा पशुपति रुद्रगाडेश्वर प्राङ्गणको लकरमा बन्द गरी राखिएको देखिने प्रस्ट पारिएको छ । फैसलामा भनिएको छ, “लकरको साँचो एक सेट नेपाली सेना, एक सेट पशुपति क्षेत्र विकास कोष र एक थान तालाचाबी पशुपति भण्डार तहबिलका बिसेट नाइके अरुणकुमार श्रेष्ठको जिम्मामा रहेको भन्ने बेहोराको लकरमा सुन राखिएको मुचुल्काबाट बेहोरा अवगत हुन आउँदछ । यसरी हेर्दा खरिद गरिएको सुनको सुरक्षा व्यवस्था मजबुत राखिएकोमा विवाद देखिँदैन ।”

२०७७ फागुन ५ गते पशुपतिनाथको जलहरी निर्माण कार्यका लागि नेपाल राष्ट्र बैङ्कबाट थप ३९६०९.०७ ग्राम सुन खरिद गरी ल्याई जलहरी निर्माण स्थल पशुपति रुद्रगाडेश्वरमा रहेको सेफमा राखिएको भन्ने बेहोराको मुचुल्काबाट देखिने फैसलामा उल्लेख छ । 

फैसलामा जम्मा १०७ किलो ४७०० ग्राम (शुद्ध सुन १०१ किलो ०४८.५ ग्राम) को जलहरीमा १४९१.७१८ ग्राम फरक परेको दाबी आरोपपत्रमा गरिए पनि ६२३ ग्राम सुनको तौलसमेत जोड्नुपर्नेमा सो सुनलाई समावेश नगरेको उल्लेख छ । फैसलामा भनिएको छ, “सुनमा ससाना टुक्राहरू कणहरू जलहरीबाट अलग हुने भएकाले वजन गर्दा केही कमी आउनु स्वाभाविक हुने हुँदा शुद्ध सुन १४९१.७१८ ग्राम फरक परेको भन्ने वादीको दाबीसँग सहमत हुन सकिएन ।” 

२०७७ मा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जलहरी निर्माण गरिएको थियो । अख्तियारले नापजाँच गरेपछि २०८० असार १३ गते जलहरी पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीको रोहबरमा सुनको जलहरी पशुपतिनाथ मन्दिरको गर्भगृहमै राखिएको थियो ।

२०८० असार ११ गते सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरबाट उत्तरतर्फ रहेको रुद्रगाडेश्वरमा ल्याइएको थियो । जलहरी राखिएको स्थानलाई नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र पशुपति क्षेत्र विकास कोषबाट परिचालित निजी सुरक्षागार्डले सिसिटिभीको निगरानीसहित सुरक्षा प्रदान गरेका थिए । सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको थियो । गुणस्तर परीक्षण गर्दा समग्रमा २२ क्यारेटको सुन प्रयोग भएको देखिएको थियो । २०८० असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको थियो ।