• ८ पुस २०८१, सोमबार

समाजमा रमाउँदै राजी

blog

राउटेजस्तै घुमन्ते, फिरन्ते जीवनमा रमाउने राजी जातिले अहिले चाहिँ स्थायी बसोबास थालेका छन् । जङ्गलमा गिट्ठा, भ्याकुर, तरुल खोज्ने, शिकार गर्ने र भिरमह काढ्ने, खोला ढुकेर माछा मार्ने, नदीमा डुङ्गा चलाउने अनि काठका सामग्री बनाउने विशेष खुबी भएका राजी जातिको घुमन्ते जीवनशैली अचेल फेरिएको छ । 

उनीहरू खेतीकिसानी, मजदुरी र केही रोजगारीमा रत्तिएका छन् । तीन/चार दशकअघिसम्म वनजङ्गल नजिकैका ओढार या अन्यत्र छाप्रो हालेर बस्ने राजी जातिको राउटे र वनराजीसँग भाषिक हिसाबले नजिकको सम्बन्ध रहेको बताइन्छ । 

सरकारले लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत गरेको राजी जातिको आफ्नै भाषा, वेशभूषा, संस्कार र संस्कृति छ । तथापि उनीहरूको लिपि छैन । २०७८ को जनगणना अनुसार राजीको जनसङ्ख्या पाँच हजार १२५ रहेको छ । जसमध्ये पुरुष दुई हजार ४८३ र महिलाको सङ्ख्या दुई हजार ६४२ रहेको छ । २०६८ सालको जनगणनामा राजीको जनसङ्ख्या चार हजार २३५ थियो । 

खोज्दै जातीय पहिचान

लामो समय घुमन्ते जीवन बिताएका राजी जातिको लिखित इतिहास पाउन मुस्किल छ । उनीहरूले घुम्दैफिर्दै जुनखाले जीवन बिताए त्यसैले पनि जातीय भाषा, संस्कृति, संस्कारको पुस्तान्तरणमा अनेकन अप्ठ्यारा बेहोर्दै आएको देखिन्छ । तथापि यतिबेला आफ्नो भाषा, संस्कृति संरक्षणमा कतै कतै पहल थालिएको पाइन्छ । सुर्खेतको छिन्चु र उत्तरगङ्गाका राजी समुदायका युवाले भाषा, संस्कृति संरक्षणको अभियान थालेका छन् । 

अन्तरजातीय विवाहले राजी समुदायको भाषा, संस्कृति संरक्षणमा गम्भीर समस्या उत्पन्न भएको भन्दै उनीहरूले स्वजातीय विवाह, भाषा, वेशभूषा र संस्कृति संरक्षणमा जोड दिँदै आएको देखिन्छ । उनीहरूले राजी साल्म समाजमार्फत सचेतना, संस्कृति संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका छन् ।

राजीले आफ्नो जातीय पहिचानका लागि वेशभूषाको प्रयोगमा समेत जोड दिएका छन् । राजी पुरुषले टोपी, कमिज, भोटो, हरियो खिका भएको छड्के पटुका र सद्धरी लगाउँछन् । महिलाले टोपरेलको गुन्यु, चोली, घलेक र सेतो रुमाल पहिरिन्छन् ।

राजी जातिमा मागेर, तानेर र भगाएर विवाह गर्ने परम्परा छ । शव जलाउने होइन जमिनमा दबाउने तर १३ दिनसम्म दुःख बार्ने परम्परा रहेको छ । 

राजीले बोल्ने भाषा रावटी भए पनि उनीहरू आफ्नो भाषालाई राजी भाषा नै भन्छन् । दलबहादुर आङ्बुहाङ र मीनबहादुर राजीले राजी जातिको चिनारी पुस्तकमा राजी वा रावटी भाषामा तीन भेद वा भाषिका नौकुले (नौकल्या), बण्डाली (बन्दाली) र पन्ठे (पूर्वीया) भाषा रहेको उल्लेख गरेका छन् । यी सामान्य भाषिक भेद वा भाषिकामा नौकुले भाषामा खस प्रभाव, बण्डाली भाषामा थारू प्रभाव र पन्ठे वा पूर्वीया भाषामा खस नेपाली भाषाको प्रभाव पर्दै गएको सो पुस्तकमा चर्चा गरिएको छ । 

देवतीबज्यैका पुजारी राजी

सुर्खेतमा प्रख्यात पर्यटकीय स्थल गङ्गामाला देवतीबज्यैको मन्दिर छ । गङ्गामाला देवतीबज्यैको उत्पत्ति र राजी जातिबीच रोचक किंवदन्ती रहेको छ । 

शताब्दीदेखि सो मन्दिरको पुजारीका रूपमा राजी जातिले सेवा गर्दै आएका पनि छन् । भनिन्छ कुनै समय सुर्खेतमा राजी राज्य थियो । बाह्य शक्तिको आक्रमणमा पराजित भई विस्थापित भएका राजी जङ्गलमा आश्रय लिएर बस्न थाले । उनीहरू जङ्गलमा कन्दमूलको खोजी र खान्कीमा रमाउन थालेको मतसमेत पाइन्छ । जङ्गलमा कन्दमूलले गुजारा चलाउन मुस्किल परेपछि राजीहरू नदीकिनारको आश्रयमा पुगे । 

त्यसपछि उनीहरू माछा मारेर छाक टार्ने र काठका डुङ्गा चलाएर मानिसलाई सेवा दिएबापत अन्नपात उठाउँदै जीवन धान्न थाले । त्यसरी बस्न थालेको स्थान गुर्भाकोट नगरपालिकाको सुवाघाट हो भनिन्छ । 

मूलथलो मुगु

राजी जातिको मूल थातथलो मुगुको रारागाउँ मानिन्छ । राराताल फुटेर बगेको एउटा किंवदन्ती राजी जातिमा खुबै प्रचलनमा छ । राजीहरूले आफ्नो उत्पत्तिको किंवदन्ती सुनाउँदा राराताल फुटेर आफूहरू बगिआएको बताउँछन् । राजीहरू अहिले पनि राराताल क्षेत्रलाई पवित्र स्थलका रूपमा सम्झने गर्छन् । राराताल फुटेर विस्थापित भई कर्णाली र भेरी नदीको छाल हुँदै दैलेख, सुर्खेत र कैलालीको उत्तरी भेगमा बसोबास थालेको उनीहरू बताउँछन् । ती क्षेत्रलाई राजी जातिले पुख्र्यौली थलोका रूपमा मान्दै आएका छन् । 

सो क्षेत्रमा राजी जातिका देवतासमेत छन् । सुर्खेतपत्र दैनिकमा अशोक राजीले लेखेका छन्, “मुगु जिल्लाको राराताल फुटेपछि राक्मा भन्ने ठाउँबाट सुर्खेतको पूर्वी भाग अन्तर्गत बादेपीपल भन्ने ठाउँलगायत भेरी र कर्णाली नदी किनार आसपास आएर बसोबास गरेका हुन् ।” 

मुगुबाट विस्थापित राजीले कर्णाली र भेरी पछ्याउँदै तलतिर झर्दा सालको जङ्गल क्षेत्रमा बस्न थाले । साल अर्थात् राजी भाषामा ‘साल्मा’ लाई राजीले आफ्नो इष्ट वनस्पतिका रूपमा लिन्छन् । प्रत्येक वर्षको उँभौली याममा नयाँ अन्न छर्ने, रोप्ने बेलाअघि गाउँको चारैतिर सालको लिङ्गो गाडेर गाउँलाई बाँधी राजीले पूजा गर्छन् । तथापि उनीहरू कहाँबाट र कहिले हाल बसोबास गरेको स्थानमा आए भन्ने कुरामा विद्वान्बीच एकमतचाहिँ छैन ।    

घुम्दैफिर्दै छरिए 

घुमन्ते जाति राजीको मुख्य बसोबास क्षेत्र सुर्खेत, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ भए पनि ६४ जिल्लामा छरिएर रहेका छन् । यी जिल्लामा ८५३ घरपरिवार राजी रहेको अशोक राजीले सुर्खेतपत्र दैनिकमा उल्लेख गरेका छन् । 

सुर्खेतका उत्तरगङ्गा, लाटीकोइली, रामघाट, छिन्चु, दहचौर, कल्याण, लगाम, घाटगाउँ, तातापानी, विद्यापुर, बाबियाचौर, पोखरीकाँडा, कुनाथरी, तरङ्गा, हरिहरपुर, मेहेलकुना र मालारानीमा राजी जातिको बसोबास पाइन्छ । 

कैलालीको खैलाड, लालबोझी, सुगरखाल, चौमाला, धनगढी, मनेरा मसुरिया, साढेपानी, पथरैया, हसुलिया र टीकापुर तथा   कञ्चनपुरको कृष्णापुर र दैजी, बर्दियाको सानोश्री, गुलरिया, देउडाकला, मगरागढी, बानियाभार, धधवार, मोतीपुर, बेलुवा र धोधरी, बाँकेको महादेवपुरी, लववस्था र फत्तेपुर, दाङ जिल्लाको हंसपुरमा राजी जातिको बसोबास रहेको छ । भारतको उत्तराखण्ड, कुमाउ पिथौरागढमा समेत राजी जाति पुगेको पाइन्छ । 

राजी जातिको मूल थलो सुर्खेत र कैलालीका उत्तरी क्षेत्रका राजी गाउँ भएको दलबहादुर आङ्बुहाङ र मीनबहादुर राजीले ‘राजी जातिको चिनारी’ पुस्तकमा चर्चा गरेका छन् । सो पुस्तकमा उल्लेख गरिए अनुसार सुर्खेतका ढडुवार, छिन्चु, मौरीमान, घाटगाउँ, जामुकुइनी, तातापानी, कुनाथरी, कुतापचाङ र बौचौर, कैलालीको तलगाउँ, कर्णाली किनार कैलालीको गाब्रा गाउँको नाम राजी भाषासँग सम्बन्धित छन् । यी विशेषतः नौकल्या राजीका पुख्र्यौली थातथलो हुन् । 

बाह्रबण्डाली राजीका थातथलोका नामहरू साल्टा, डुङ्ग्री, रहप्नी, मड्डीगाउँ, कुइनी, कन्चोलिङ, डामाकान्टार, राधा र कुमालगाउँ हुन् । धेरैजसो राजीका थर पनि यिनै ठाउँका नामबाट रहेको आङ्बुहाङ र राजीले उल्लेख गरेका छन् । कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–३ मा पर्ने पूर्व–पश्चिम राजमार्गमै राजीपुर गाउँसमेत रहेको छ । 

राजी जातिमा तीन थरी 

राजी जातिको चिनारी पुस्तक अनुसार राजी जातिमा मुख्य रूपमा तीन थरी छन् । यसभित्र थुप्रै उपथरी मिलेर राजी जातिको समाज बनेको छ । 

मुख्य रूपमा राजी जाति मूल थातथलो सुर्खेत र कैलालीको उत्तरी क्षेत्रबाट अन्यत्र फैलिने व्रmममा तीन उपसमूह नौकल्या, बाह्र बण्डाली र अठार पन्थे अर्थात् पूर्वीया थर लिन पुगे । यसरी विभाजित भई फैलिँदै जाँदा उपथर लिने क्रममा बसोबास स्थान, पुख्र्यौली थलो, वंशको नाम लिएको पाइन्छ । नौकल्या, बाह्र बण्डाली र अठार पन्थे थर फैलिँदै जाँदा करिब त्यत्ति नै सङ्ख्यामा उपथर ग्रहण गर्न पुगे ।  

दलबहादुर आङ्बुहाङ र मीनबहादुर राजीको राजी जातिको चिनारी पुस्तकमा नौकल्या थरका १० उपथर उल्लेख गरिएको छ । यसमा मौ¥याल, टम्च्वाल, रङ्ग्वाल, तालागाइँ÷तलगाइँ, सुक्नाल, मोराउ, नग्र्याल, नैन्याल, महातानौ, गोब्राल उपथर छन् । बाह्र बण्डालेमा सुल्त्याल, डुङ्ग्रयाल, रहप्ती, मुढ्याल, ग्रान्वाल, भट्क्वा, जबुङ्का, कान्चोल्या, डाम्बाल, राघ्याल, कुम्ल्याल र कुइन्याल उपथर रहेका छन् । 

अठार पन्थे (पूर्वीया) मा छन्त्याल, दौन्याल, तोल्याल, समज्याल, खोर्याल, केलाने, दुल्याल, नौहारी, गोथ्याल, भुस्क्याल, लोछ्याल, बाग्दुल्याल, घाट्याल, कुम्ल्याल, मन्कापन्या, डिग्या, बुड्क्याल,  थौर्याल, केन्ट्याल, लोछ्याल, सिक्माक्या र डोल्याल थरी छन्  । राजी जातिका तीन मूल थरबिचमा भाषिक र सामाजिक संस्कार संस्कृतिमा केही विविधता पाइन्छ । 

नौकल्या राजीको संस्कार र संस्कृतिमा खस हिन्दु प्रभाव पाइन्छ । त्यस्तै बाह्र बण्डाली राजीमा रानाथारू प्रभाव र अठार पन्थे (पूर्वीया) राजीमा ब्राह्मण तथा आधुनिक प्रभाव पाइन्छ ।

राजी जाति फिरन्ते अवस्थामा रहँदा आफ्नै खाले प्रशासनिक ढाँचामा चलेको थियो । राजी जातिमा मुखिया वा मुख्या या प्रधानले नै सामाजिक रीतिथिति चलाउने र न्याय निसाफ गर्ने परम्परा थियो । राजीको विवाहमा सबै कुराको व्यवस्था गर्न कचेरी बस्ने चलन अझै पनि कतै कतै पाइन्छ । 

राजी समुदायमा पुरोहित गुरुवा वा गराउको पनि महत्वपूर्ण स्थान हुन्छ । पुरोहितकै निर्देशनमा चाडपर्व, सामाजिक संस्कार र संस्कृतिले निरन्तरता पाउँदै आएको छ । राजी जातिले २०५७ सालमा राजी साल्मा समाज गठन गरी जाति, भाषा, संस्कृतिको संरक्षणमा लागेको पाइन्छ । 

घरको मूल वा धुरीखाँबामा पितृको बास हुने विश्वास राजी जातिमा छ । धुरीखाँबामा ध्वजापताका बाँधेर पितृ देवता वा पुर्खाको सम्झना गर्छन् । राजी जातिमा बाइसपाटे चिवार देवताको पनि पूजा गरिन्छ । खोलाको धार छुट्टिएको स्थानमा देवता स्थापना गरी एउटा बोका र दुई भालेसहित पूजा गर्ने चलन छ । 

लाटे चिवार र बाइसपाटे चिवारको पूजा गर्दा दायाँबायाँ दुई देवता थापना गरिन्छ । बन्दाली र नौकल्या राजीले अगुवा देवतासमेत मान्छन् । यी देवताको पूजा मङ्सिरे पूर्णिमामा गरिन्छ । राजी जातिले बाली लगाउने र उठाउने बेला विशेष पूजा गर्छन् । 

अन्नबाली चरपोख गर्दा भुयाँरी पूजा र पाकेपछि अन्नबाली उठाउने बेला भूमि र अन्नको पूजा गर्ने प्रचलन रहेको छ । यो पर्व उनीहरूको मौलिक र विशेष पर्वसमेत हो ।

राजी जातिमा मागेर, चोरेर र भागेर विवाह गर्ने चलन छ । विवाहको कुरा छिन्ने कार्यलाई ‘धर्म जोख्ने’ भनिन्छ । 

–युवामञ्च