• ७ मंसिर २०८१, शुक्रबार

कमाल (कथा)

blog

 “रिक्सा खाली हो ? ” मैले पछाडिबाट सोधेँ । 

“हो हजुर”, रिक्सावाल कमालले भन्यो । 

“सिमेन्ट दुई बोरा घरमा पु-याउनु प-यो ।”

“हुन्छ, कहाँबाट लानुपर्ने हो ?” उसले रिक्सा तान्दै भन्यो । “समीर साहुको पसलबाट ।” 

कमालको रिक्सा मानिस बोक्ने होइन । सामान बोक्ने हो । त्यसो त बसपार्कमा सामान बोक्नका लागि अरू रिक्साहरू पनि रहेका हुन्छन् । मलाई भने कुनै सामान घर लानु प-यो कि कमालकै सम्झना आउँछ । कमालले ममाथि के कमाल ग-यो थाहा छैन तर उसकै रिक्सामा सामान लैजान्छु ।  दुई बोरा सिमेन्ट घर पु-याएपछि मैले सोधेँ– “कति पैसा चाहियो ?” मेरो प्रश्नको उत्तर उसले सहजै दियो, “हेरेर दिनुस् न ।” “हेरेर भन्या कति रु यति चाहियो भन न”, सधैँझैँ मैले भनेँ । ऊ चुप लाग्यो । मैले सयको र पचासको नोट हातमा थमाउँदै भनेँ, “पुग्छ ? ” मुसुक्क हाँसेर उसले भन्यो, “पुग्छ ।” 

कमाल गाउँबाट कामका लागि सहर आएको हो । सुरुमा त उसको बारेमा केही थाहा थिएन । पछि धेरै कुरा थाहा भयो । यसपछि ऊप्रति स्नेहको कहिल्यै नसुक्ने मूल फुटेको छ मेरो मनमा । सबैले उसलाई ‘कमाल भाइ’ भन्छन् तर उसको आमाबाले राखेको नाम भने प्रह्लाद हो । यो नाम यता आएपछि पाएको हो उसले । तिमीले यहाँ आएर के कमाल देखायौ र यहाँका मानिस तिमीलाई कमाल भनेर बोलाउँछन् भन्दै कहिलेकाहीँ जिस्क्याउने गर्छु म उसलाई ।

हरेक बिहान सूर्य पूर्वबाट उज्यालो छर्दै उदाउँछ । संसारभर आलोकित बन्दै आफ्नो दरिलो उपस्थिति जनाउँछ तर कमालको मनको अन्धकार नाश गर्ने सूर्य भने मैले अहिलेसम्म झुल्किएको देखिनँ । उसकोे मनभित्रसम्म पस्ने सूर्य सायद छैन । भनिन्छ मान्छेको मनको प्रतिविम्ब उसको अनुहार हो तर उसको मनमा छाएको अँध्यारो उसको अनुहारमा कहिल्यै देखिनँ । मनमा जतिसुकै ताप भए पनि उसको अनुहार भने हँसिलो । कमालको परिवारमा दुईजना मात्र छन् । ऊ र उसको भाइ । अघिल्लो दिन हल्का पानी परेको थियो ।

त्यसैले भोलिपल्ट उनीहरूका आमाबा बारीमा मकै छर्दै थिए । अचानक सुक्खा पहिरो गयो । त्यही पहिरोले लग्यो दुवैलाई, उनीहरू टुहुरा भए । पहिरोले आमाबासँगै उनीहरूको बारी पनि लग्यो । भोको पेट बाँचिन्न । संसारमा बाँच्नका लागि खानै पर्छ । त्यसैले यी दुई दाजुभाइ सहर आएका थिए । बजारभित्र भुइँतलामा डेरा छ उसको । त्यहीँ बस्छन् दुई भाइ । कोठा चिसो र अलिक अँध्यारो छ तर उनीहरूलाई केही फरक परेको छैन । दुवैजना दिनभर कोठामा हुँदैनन् । भाइ स्कुल जान्छ, ऊ काममा । 

कामकै क्रममा कमालसँग मेरो पहिलो भेट बसपार्कतिरै भएको हो । त्यसपछि केही काम प-यो भने उसैलाई भन्ने गरेको छु । अहिले त उसँग स्यानो मोबाइल पनि छ । उसलाई भेट्न बसपार्क पुग्नु पर्दैन । फोनबाटै बोलाउने गर्छु ।  एकपल्ट उसलाई सोधेको थिएँ, “तिमी आफू काम गरेर भाइलाई पढाउँदै छौँ । तिमीलाई पढ्न मन छैन रु” मेरो प्रश्न सुनेर कमाल अलि गम्भीर बनेको थियो ।

लामो सुस्केरा हाल्दै विस्तारै बोलेको थियो, “किन मन नलाग्नु साहुजी । आमाबाको सपना त दुवैलाई पढाएर ठूलो मान्छे बनाउने थियो नि, तर के गर्ने दैवको लीला १ मैले पढ्न नपाए नि भाइलाई पढाउने र ठूलो मान्छे बनाउने इच्छा छ । मैले कमाउन सकिनँ भने बिहान बेलुका मुखमा माड लाग्दैन । फेरि भाइलाई पढाउन पनि प-यो ।” 

त्यही बेला श्रीमतीले चिया ल्याइदिएकी थिइन् । मैले भनेको थिएँ, “चिया खाऊ ।” अप्ठ्यारो मान्दै उसले भनेको थियो, “पर्दैन साहुजी ।” उसको अप्ठ्यारोपनलाई कम गर्ने प्रयास गर्दै भनेको थिएँ, “अप्ठ्यारो मान्नु पर्दैन खाऊ ।” उसले विस्तारै चियाको कप आफूतिर तान्यो अनि चियाको सुर्को लिन थाल्यो । मैले फेरि सोधेको थिएँ “अनि यो रिक्सा आफ्नै हो कि ? ” 

 “होइन, साहुको ।” 

“ साहुलाई कति तिर्नुपर्छ ? ”

“दिनको पाँच सय ।”

“दिनभरमा त्यति पैसा कमाउन सकिएन भने नि ।” “तैपनि तिर्नुपर्छ, साहु मान्दैन । आज कमाइ भएन भन्यो भने बढी कमाइ हुँदा मलाई बढी बुझाएको छस् रु भन्नुहुन्छ । त्यही भएर जहिले पनि पाँच सय नै बुझाउने गरेको छु ।”

त्यतिबेला कमालको कुरा सुनेर एकछिन त साहुसँग रिस पनि उठेको थियो तर उसको सङ्घर्ष काल्पनिक कथाको कुनै पात्रको जस्तै लाग्छ मलाई । आमाबा नभएका दुई टुहुरा । भाइलाई ठूलो मान्छे बनाउन जेठो दिनभर रिक्सा चलाउँछ । यहाँका हरेक सडक, गल्लीका बारेमा थाहा छ उसलाई ।

कतिपयले भनेजति ज्याला दिँदैनन् कमाललाई । सय रुपियाँ दिन्छु भनेर सामान बोकाएर पचास रुपियाँ मात्र थमाउने पनि छन् । रिक्साको भाडा साहुलाई बुझाएपछि खान, डेराको भाडा तिर्न, भाइको पढाइ खर्च सबै बचेको पैसाबाट पु-याउनुपर्छ उसले । 

एक दिन बिहान सबेरै मैले कमाललाई फोन गरेर भनेँ, “भाइ, गङ्गा साहुको पसलबाट दुई बोरा चामल लिएर आऊ है ।” उताबाट आवाज आयो, “हस् ।” केही समयपछि चामलका दुई बोरासहित कमाल आइपुग्यो । मसँग कहिल्यै यति पैसा चाहियो नभन्ने उसलाई मैले दुई सय रुपियाँ दिएँ । उसले पचासको नोट मलाई फर्काउन खोज्यो । मैले पर्दैन तिमी नै राख भनेँ ।

उसले बिदा माग्दै भन्यो, “गएँ हजुर ।” मैले उसलाई रोक्दै भनेँ, “तिमी एकछिन पर्ख । तिमीसँग मेरो एउटा काम छ ।”सदाझैँ मेरी श्रीमतीले चिया ल्याइन् । चिया पिउँदै थियौँ हामी । एकैछिनपछि मैले उसलाई भनेँ, “तिम्रो आफ्नै रिक्सा भयो भने त साहुलाई ज्याला दिनु पर्दैनथ्यो नि है ।” मतिर हेर्दै उसले भन्यो, “हो नि हजुर ।”

“तिमीले आफूले कमाएको पैसाबाट एउटा रिक्सा किनेको भए हुन्थ्यो नि ।” मेरो सुझाउ सुनेर मसिनो स्वरमा बोल्यो, “हुन त हुन्थ्यो नि हजुर तर कमाएको पैसाले साहुलाई दिन र खानलाई ठिक्क छ । अनि भाइलाई पढाउनु पनि प-यो ।” उसको यो अवस्थाबाट म अनभिज्ञ भने थिइनँ । उसको भाइ बिरामी पर्दा औषधि किन्ने पैसा नभएर मसँग सापट मागेर पनि लगेको थियो उसले । पछि फिर्ता पनि गरेको थियो ।

बसाइकै क्रममा मैले उसलाई भनेँ, “आज म तिमीलाई दुइटा उपहार दिन्छु । तिमी लिन्छौ होइन ?” उसले आफ्नो अनुहारको उज्यालो रङ मतिर छर्दै भन्यो, “म यहाँ आएको यतिका वर्ष बित्यो । हजुरले सबैको भलो सोच्नु हुन्छ । कुभलो कसैको गरेको थाहा छैन । तपाईं जस्तो मान्छेले जे दिनुभए नि आशीर्वाद सम्झेर लिन्छु ।” “ल, तिम्रा लागि मैले नयाँ रिक्सा ल्याइदिएको छु ।” “अनि..... पैसा ...साहुजी...........” आश्चर्य मिश्रित उसको बोली निस्कियो । 

“पैसा, भाडा, ज्याला केही चाहिँदैन कमाल । मेरा मातापिताको स्मृतिमा तिमीलाई दिएको उपहार हो यो । अब साहुलाई भाडा तिर्नुपर्छ भन्ने पिर पनि हट्यो ।” उसको खुसी अकाशिएको उसको अनुहारले बताइरहेको थियो । मलाई धन्यवादको स्वरमा उसले भन्यो, “हजुरको यो गुन केही गरेर पनि म तिर्न सक्दिनँ । तपाईंको सदा जय होस् ।”

“कुरा पनि खुब जान्ने भएछौ भाइ । राम्रोसँग काम गरेर भाइलाई पढाऊ, अनि ठूलो मान्छे बनाऊ, यति भए पुग्छ मलाई ।” उसलाई मैले अर्को उपहार दिनु थियो । फेरि मैले भनेँ, “तिम्रा लागि अर्को उपहार झन् ठूलो छ ।” मेरो कुरा सुनेर उसको उज्यालोे अनुहार झन् उज्यालो भयो ।

उसलाई मैले भनेँ, “तिम्रो भाइका लागि पनि अनाथालयमा कुरा गरेको थिएँ । हुन्छ भनेको छ । अबदेखि तिम्रो भाइ उतै बसेर पढ्छ । भाइलाई एसईईसम्म पढाइदिन्छन् ।” अघिसम्म उज्यालिएको उसको अनुहार एकाएक कालो बादलले ढाकेजस्तो भयो । छक्क पर्दै मैले सोधेँ, “किन, के भो तिमीलाई रु किन मुख निन्याउरो बनाएको ? ”

“हजुरहरूको हामीमाथि ठूलो गुन छ । हामी आमाबाको मायाबाट सानैमा विमुख हुनुप-यो । यता आउँदा हजुरजस्तो देउता भेटेर हाम्रो जीवन सहज बन्यो तर भाइसँग छुट्टिएर कसरी बस्ने होला भनेर चिन्ता लाग्यो ?” “केही समय त हो । उसको भविष्य बन्छ । फेरि तिमीलाई पनि यता आफ्नो बारेमा मात्र सोचे पुग्छ ।” मैले सम्झाएँ ।

“हामीले सानैमा बाआमा गुमायौँ । बाआमाको मायाबाट हामी दुवै भाइ विमुख भयौँ । जिन्दगीको यो यात्रामा हामी दुई भाइ एकअर्काको भरमा छौँ । हामी सानैदेखि सँगै बस्यौँ, खेल्यौँ, हुर्कियौँ । एकअर्कासँग हामी कहिल्यै अलग भएनौँ । भाइसँग छुट्टिएर म बस्न सक्दिनँ हजुर । भाइसँग टाढा रहेर हरेक दिन मरेर जिउन सक्दिनँ म । केही गरी म बस्न सके पनि भाइ मबिना बस्न सक्दैन ।” कमालले दाजुभाइको प्रेम सविस्तार भन्यो ।

“तिमीहरूलाई छुट्याउन खोजेको होइन मैले.....”, म भन्दै थिएँ । बीचैमा उसले बोल्यो, “हजुरहरूको आशीर्वाद भए म भाइलाई यतै आफूसँगै राखेर राम्रोसँग पढाउन सक्छु । के हजुरलाई मेरो बोलीमाथि विश्वास लाग्दैन ?” “लाग्छ, किन नलाग्नु”, मैले उसलाई आश्वस्त पार्न खोजेँ । मलाई फकाउँदै उसले भन्यो, “हजुर रिसाउनु त भएको छैन नि ?” “छैन, किन रिसाउनु तिमीसँग”, मैले भनेँ ।

“यति भए पुग्छ मलाई । आफूले देउताजस्तै ठानेको मान्छे नरिसाए पुग्छ । त्यसमाथि भाइ आफ्नै साथमा भएपछि मेरो संसार सुन्दर बन्छ । हजुरको आशीर्वाद र भाइको साथ भए जुनसुकै चुनौतीसँग पौंठेजोरी खेल्ने आँट पलाउँछमनभरि ।”“धत् मान्छेलाई नि देउता भन्छन् ? ठिक छ । राम्रोसँग काम गर्नू । भाइलाई पढाउनु । केही परे आउनु ।” मैले यति भनेपछि कमाल जुरुक्क उठ्यो र साहुको रिक्सा पु-याउन गयो ।

तुरुन्तै आएर नमस्ते गर्दै नयाँ रिक्सा लिएर अगाडि बढ्यो । मैले आँखाबाट ओझेल नहुन्जेल उसलाई हेरिरहेँ । मानिस बाँच्नका लागि भौतिक सुविधा मात्र पर्याप्त हुँदो रहेनछ । सफलता पैसाको जगमा मात्र ठडिँदो रहेनछ भनेर उसले जिन्दगीको ठूलो पाठ सिकाएर गयो । कति ठूलो उसको सोचाइ ! मान्छेको उमेरभन्दा ठूलो छ उसको विचार । 


Author

सूर्यप्रसाद लाकोजू