• १३ साउन २०८१, आइतबार

नेपाल भित्रिए दुई अमेरिकी रियालिटी सो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ६  गते। अमेरिकामा सफल दुई रियालिटी सो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’ नेपाल भित्रिएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमका बीच यी दुई रियालिटी सो नेपाल आएको जानकारी गराइयो । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडालगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुति दिने छन् । दुवै कार्यक्रमको फाइनल भने अमेरिकामा हुनेछ ।

‘मेरो डान्स कप यूएसए’को निर्णायकमा कलाकार मिथिला शर्मा, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शङ्कर बीसी र नमन राई छन् । त्यस्तै ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जङ्गम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहेका छन् । दुवै कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रसारण हुने छन् ।

‘मेरो डान्स कप’लाई सुदीप सिग्देल र सुनिता गुरुङले सञ्चालन गर्ने छन् भने ‘मेरो भ्वाइस कप’को उद्घोषण गर्ने अभिभारा सन्दीप क्षेत्री र रीमा विश्वकर्माले पाएका छन् । दुवै रियालिटी सोको निर्देशन भने एलिन श्रेष्ठले गर्ने छन् ।  ‘भ्वाइस कप’का दुई निर्णायक सुरेश अधिकारी र शिव परियारले कला, संस्कृतिलाई बचाउने रियालिटी सोमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।