काठमाडौं, मङ्सिर २५ गते । नर्सिङको साझा हकहितका लागि काम गर्ने संस्था नेपाल नर्सिङ सङ्घको नयाँ कार्यसमितिका लागि यही मङ्सिर २८ गते निर्वाचन हुँदैछ । सङ्घको २० औँ कार्यसमिति साथै नेपाल नर्सिङ परिषद् सदस्यका लागि नर्सहरुले दुईवटा प्यानल र स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएका छन् ।
उक्त निर्वाचनका लागि संयुक्त नर्सिङ पेशागत समूह र संयुक्त प्रगतिशील समूह गरी दुई प्यानलले उम्मेवारी घोषण गरेका छन् । त्यस्तै स्वतन्त्रबाट अध्यक्ष पदमा प्रा.वसन्ती थापा, महासचिव पदमा सह प्रा.जानकी धामीले उम्मेदवारी दिनुभएको छ ।
संयुक्त प्रगतिशील समूहका तर्फबाट अध्यक्ष पदका लागि प्रा.डा.चन्द्रकला शर्माले उम्मेवारी दिनुभएको छ ।
यसैगरी, वरिष्ठ उपाध्यक्षका लागि प्रा.रमेश सुब्बा, महासचिवका लागि डा.देवकाकुमारी आचार्य, उपाध्यक्षका लागि बबिता घिमिरे, सचिवमा बेली पौडेल, कोषाध्यक्षले तुलसादेवी अधिकारीले उम्मेवारी घोषणा गर्नुभएको छ ।
त्यस्तै, सदस्य खुला पदका लागि मेनुका पोख्रेल, सदस्य जनजातिका लागि हरि कोजु, सदस्य आदिवासीका लागि कला बस्याल गुरुङ, सदस्य दलितका लागि कोपिला विश्वकर्मा, सदस्य मधेशी पासपति जयुवाल, सदस्य मुस्लिम सवेनाज वेगम, सदस्य अनमीका लागि जानुका मोक्तान, सदस्य अनमीका लागि शान्तिकुमारी विश्वकर्माले उम्मेवारी दिनुभएको छ ।
संयुक्त प्रगतिशील समूहका तर्फाबाट नेपाल नर्सिङ परिषद् सदस्यका लागि राधादेवी आचार्य, सुमिता पाठक, राजदेवी अधिकारीले उम्मेवारी दिनुभएको छ ।
संयुक्त नर्सिङ् पेशागत समूहका तर्फबाट अध्यक्ष पदका लागि गङ्गा थापाले उम्मेवारी दिनुभएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा कल्पना श्रेष्ठ जोशी, महासचिवमा मीनाकुमारी कार्की, उपाध्यक्षमा मनीषा कोइराला, सचिवमा जया मिश्रा, कोषाध्यक्षमा रमादेवी पहारी ज्ञवालीले उम्मेवारी घोषणा गर्नुभएको छ ।
त्यस्तैगरी, सदस्य खुला पदका लागि सानुकुमारी विष्ट, सदस्य जनजातिमा रती पक्वाङ्ग, सदस्य आदिवासीमा रुपादेवी थापा, सदस्य दलितमा निशा विक, सदस्य मधेशीमा अन्जु ठकुरी, सदस्य मुस्लिममा जाफ्रे आलम अंसारी, सदस्य अनमीमा सफला बुढाथोकी र सदस्य अनमीमा सीताकुमारी प्याकुरेलले उम्मेवारी दिनुभएको छ ।
नेपाल नर्सिङ परिषद् सदस्यका लागि ज्ञानु महर्जन, मित्रा देवकोटा, सदस्य सरला केसीले उम्मेवारी दिनुभएको छ ।
यस्ता छन् निवार्चनका एजेण्डा
प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहले २८ बुँदे एजेण्डा तय गरेका छन् । निजी स्वास्थ्य संस्था र शिक्षण संस्थामा कार्यरत नर्सहरुलाई नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधाको व्यवस्था गर्न पैरवी गर्ने योजना समावेश छन् ।
त्यसैगरी, रात्रिकालीन सेवाको एक दिनको तलब बराबर र सार्वजनिक बिदा तथा चाडपर्व बिदाको दिनमा सेवा गरे बापत यथोचित भत्ताको व्यवस्थाका लागि पहल गर्ने, स्कुल नर्स कार्यक्रमलाई सम्पूर्ण विद्यालयमा दरबन्दी विस्तार र विद्यालय नर्सको स्थायी व्यवस्था, क्षमता र वृत्ति विकासका लागि पहल गर्ने बुँदा छन् ।
सुत्केरी भएको दुई वर्षसम्म र ५० वर्ष नाघेका नर्सहरुलाई नाइट ड्युटी गर्न नलगाउने नीतिगत व्यवस्थाका लागि पहल गर्नेलगायतका २८ बुँदे योजना छन् ।
त्यस्तै, संयुक्त नर्सिङ पेशागत समूहले गङ्गाकुमारी थापा समूहले २५ बुँदे योजना सार्वजनिक गरेका छन् । नर्सको वृत्ति विकास गर्ने, अध्ययन बिदा, नर्स दरबन्दी बढाउने, छ महिना प्रसूति बिदा दिनुपर्ने एजेण्डा उठाएका छन् । अनुभवका आधारमा जिम्मेवारी दिनुपर्ने, विद्यालय नर्स कार्यक्रमको दरबन्दी कायम गर्नुपर्ने, प्रदेश तह कार्यसमिति गठन गर्ने, सङ्घका सम्पूर्ण कामलाई डिजिटलाइज गराउने, ७७ वटै जिल्लामा सङ्घको गठन नर्सिङको दरबन्दी थप्ने, मिडवाइफ र अनमिको सही व्यवस्थापन लगायत नर्सको हकहितका आवाज उठाउने, नर्सलाई नयाँ प्रविधि अनुसार चल्न सक्ने क्षमता विकास गर्नेलगायतका २५ बुँदे योजना छन् ।
स्वतन्त्रतर्फ उमेदवारी दिनुभएका प्रा.वसन्ती थापा र सह प्रा.जानकी धामीले १९ औँ समितिले थाती राखेका कार्यहरुलाई निरन्तरता दिँदै अघि बढ्ने, सरकारी र प्राइभेटमा नर्सिङ सेवा सुविधामा रहेको असमानताका लागि सरकारसँग पहल गर्ने, सरकारी संस्थामा कार्यरत नर्सको स्तरवृद्धिमा देखिएका समस्यालाई परिमार्जन गरी स्तरवृद्धिका लागि पहल गर्ने योजना छन् ।
प्राइभेटमा कार्यरत नर्सिङ कर्मचारीहरुको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम नभएमा मन्त्रालयमा सो संस्था नवीकरण गराउन हुँदैन भन्ने आवाज बुलन्द गर्ने, युवा नर्सलाई स्वदेशमै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्नेलगायतका ११ बुँदे योजना अघि सार्नुभएको छ ।
१४ सदस्यीय कार्यसमिति र तीन सदस्यीय नर्सिङ परिषद्का लागि देशभरिका २० स्थानमा १५ हजार ५२७ जना मतदाताले सहभागिता जनाउने निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईले जानकारी दिनुभयो ।